सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
गत शुक्रबार फासीवादलाई परास्त गरेको ८० वर्ष पुग्यो । हाम्रो देश म्यासिडोनियामा भने अनौठो मौनता छाएको छ । हाम्रो सीमामा पहिले युगोस्लाभिया भनिने भूभाग छ । त्यहाँ पनि त्यस्तै मौनता छ । हाम्रो देशका शासकहरू वर्षौँदेखि पश्चिमाहरूको दबाबमा छन् । ‘मे ९ लाई फासीवादमाथिको विजयको दिन भनेर नजोड्नू’ – बाहिरिया आदेश यस्तै छ । वर्षैपिच्छे शिक्षा व्यवस्था र प्रचार माध्यमबाट जनताको दिमागमा मे ९ ‘युरोप दिवस’ हो भनी पेलिन्छ ।
पुरानो पुस्ता अझै पनि सम्झिन्छ । तर, नयाँ पुस्तालाई युगोस्लाभियाका धेरै मान्छेले बलिदान दिएको कुरा थाहा छैन । दुस्टहरूसँगको लडाइँमा सोभियत सङ्घपछि धेरै बलिदान दिने युगोस्लाभिया नै थियो । हामी बुढा पुराना विस्मृतिसँग जुध्दै छौँ । हामी हाम्रा बाबुबाजेले जुन आदर्शका लागि जीवन अर्पण गरेका थिए त्यसलाई नबिर्सने प्रण गरिसकेका छौँ । तर, युवा पुस्ताले त्यो समयबारे सुनेको छैन ।
यो विस्मृति युवा पुस्तामाथि कसरी थोपरिएको छ भने टीभी कार्यक्रममा तिनलाई साधारण प्रश्न सोध्दा पनि उत्तर दिन सक्दैनन् । जस्तो, ‘जोसेफ ब्रज टिटो को थियो ?’ भनी सोध्दा अनौठो मुख लगाउँछन् । म्यासिडोनियामा विद्यार्थीहरूलाई सन् १९४१ अक्टोबर ११ मा के भएको थियो भनी सोध्ने हो भने केही बनाउन सक्दैनन् । यस्तो विद्यार्थीको सङ्ख्या झन् भन्दा झन् बढ्दै छ । त्यो दिन म्यासिडोनियामा फासीवादविरूद्ध ठुलो विद्रोह भएको थियो । पछिल्लो पुस्ताका यी विद्यार्थीहरू युरोपको समग्र जानकारीमा एकदम अब्बल देखिन्छन् । तर, हाम्रो देशभक्तिका जरा र इतिहासका स्वर्णिम क्षणहरूबारे यिनीहरू अन्जान छन् । दोस्रो विश्वयुद्ध उति पुरानो घटना पनि होइन । तर, त्यो समय नयाँ पुस्ताले बिर्सेको मात्र होइन । सम्झिनेहरूमध्ये केहीले हानिकारक घटनाको रूपमा चित्रण गरेको पाइन्छ ।
‘युरोप’ शब्दवरिपरि एउटा धार्मिक वा मिथकीय भ्रमजाल रहेको पाइन्छ । ‘युरोप’ को अर्थ युरोपेली युनियन । युरोप भगवानले दिएको भूमि हो र यो खुला मनले स्वागत गर्न तयार छ भनेजस्तो प्रचार हुन्छ । यो प्रचार काकताली भने होइन । एउटा राज्यले जस्तो काम गर्ने युरोपेली युनियन इतिहासको पुनः लेखन गर्न उद्यत छ । आफू अनुकूलको त्यो इतिहास ऊ नयाँ पुस्ताको दिमागमा घुसाउन चाहन्छ । युरोपको अत्याचारपूर्ण उपनिवेशवादी युगलाई सकेसम्म मेटिन्छ । युरोपको साम्राज्यवादी महत्वाकाङ्क्षाका कारण दुइटा विश्वयुद्ध भएका थिए भन्ने तथ्यमाथि पर्दा हालिन्छ । दोस्रो विश्वयुद्धको वार्षिकोत्सव अहिले युरोपेली युनियनबाहिर बसेर चुपचाप मनाउनुपर्ने भएको छ । खासमा त्यो युद्ध पुँजीवादी विकासको उत्कर्ष थियो । त्यो बेला पुँजीवाद सढेर नाजीवाद र फासीवादमा परिणत भएको थियो । त्यो युद्ध खालि हिटलर वा मुसोलिनी जस्ता व्यक्तिका कारण भएको थियो । खासमा दोस्रो विश्वयुद्ध पहिलो विश्वयुद्धको गर्भमा झाङ्गिएको पुँजीवादी मन्दीका कारण भएको थियो ।
युरोपेली युनियन आफूलाई ‘युरोप’ को प्रतिमूर्तिको रूपमा प्रस्तुत गर्छ । उसको चित्रण फोस्रो हो । युक्रेनको विशेष सैन्य कारबाही हुनुभन्दा अगाडि पनि ऊ आफ्नो छविमा सुनपानी छर्किन हरसम्भव उपाय गर्दै थियो । उसले आफूलाई ‘सुधारकारी शक्ति’ को रूपमा उभ्याइरहेको थियो । आफ्नो नरम शक्तिबाट मान्छेको दिलदिमाग जित्दै थियो । विगतका प्रयासका कारण उसले नोबेल शान्ति पुरस्कारसमेत पाएको थियो । तर, उसको वर्तमान र भविष्य हेर्दा उसले दुष्टताको बीउ जगाइरहेको देखिन्छ । पछिल्लोपल्ट पुँजीवादी जगत आर्थिक मन्दीको गहिरो भुमरीमा फस्यो । यसकारण, उसले आफूलाई प्रजातान्त्रिक सिद्धान्तबाट अलग्याउँदै लग्यो । अहिले त युरोपेली युनियनले आफ्नो उग्र साम्राज्यवादी नियत लुकाउन पनि छोडेको छ । मनगढन्ते रुसी खतराविरूद्ध ‘आत्मरक्षा’ को नाउँमा ऊ हाकाहाकी सैन्यवादी बन्दै छ । सजिलो भाषामा ‘रुसोफ्रेनिया’ शब्द प्रयोग गरिन्छ । यसको अर्थ रुस धराशायी हुँदै छ र डुब्दो रुसले आफूसँगै सारा संसारलाई पनि डुबाउने छ । रुसबाट पश्चिमा जनमानसमा जति पनि धुलौमैलो भरिँदै छ, त्यसलाई एउटै शब्दमा ‘रुसोफ्रेनिया’ भन्न सकिन्छ । रुसोफ्रेनियाले युरोपलाई सैन्यकरण गर्न मद्दत गर्दै छ । यसको लागि पश्चिमा नागरिकहरूको सेवा–सहुलियतमा हुने सार्वजनिक खर्चबाट ठुलो रकम कटौती गरिँदै छ ।
युरोपेलीहरूको दिमागबाट फासीवादको स्मृति मेटाएर पुनः फासीवादलाई ब्युँताइयो । त्यसपछि युक्रेनमा सन् २०१४ मा भएको तथाकथित युरोपमुखी क्रान्ति अर्थात् युरोमैदान सत्ताविद्रोहको गौरवगान गाइयो । कथित पश्चिमा विश्वलाई अनौठो विस्मरणको रोगले छोपेको छ । मे ९ को दिनलाई अपहरण गरिएको छ । पाठ्यपुस्तक, प्रतीक र स्मृति सभाहरूमा यो दिनबाट यसको इतिहास बिस्तारै मेटिँदै छ । दोस्रो विश्वयुद्धमा भएको वास्तविक सैन्य विजयसँग यो दिनको नातालाई नामेट परिँदै छ । त्यो दिन सन् १९४५ मा लालसेना र सोभियत जनताले २ करोड ७० लाखको जीवन बलिदान गरेर फासीवादलाई परास्त गरेका थिए । (युद्धमा युगोस्लाभियाले मात्र १० लाखभन्दा बढी जनता गुमाएको थियो ।)
बर्लिनलाई मुक्त गराउने सोभियतहरू थिए । एकचोटि होइन, दुई–दुईपल्ट सोभियत सङ्घले बर्लिनलाई मुक्त गरेको थियो । दोस्रोपल्ट मिखाइल गोर्भाचोभले बर्लिनलाई मुक्त गरेका थिए । त्यो मुक्तिको मूल्य रूसले आजभोलि चुकाउँदै छ । राष्ट्रसङ्घका महासचिवले अहिले लालसेनाको नाम उच्चारण गर्न पनि आनाकानी गरे । जब कि विश्वका सबैभन्दा कुख्यात यातनागृहका कैदीहरूलाई मुक्त गर्ने सेना लालसेना नै थियो ।
जर्ज अर्वेलले भनेका थिए – विश्वभरि छलछामको राज भइरहेको बेला सत्य बोल्नु पनि क्रान्तिकारी काम बन्छ । मस्को र उसका मित्र देशहरू अहिले यसरी नै सत्य बोल्ने बिन्दुमा धकेलिएका छन् । रुसको लालचोकमा मे ९ को स्मरणमा परेड र हर्षोल्लास हुँदा त्यो सत्य उजागर भयो ।
कुनै बेला युगोस्लाभिया रहेको भूभागमा के हुँदै छ ? यी भूभागमा कुनै बेला नयाँ पुस्तालाई भाइचारा र एकताको पाठ पढाएर हुर्काइन्थ्यो । इतिहासको सही पक्षबाट छापामार योद्धाको रूपमा लड्न सिकाइन्थ्यो । सुरूमा यो भूभागको सार्वभौमिकता र आफै निर्णय गर्ने अधिकार खोस्दै लगियो । पछि नेटो र युरोपेली युनियनलाई नयाँ धर्मजस्तै स्थापना गरियो; एकमात्र विकल्प र सदाचारी प्रतिमूर्ति बनाइयो । यसपछि यो भूभागका सरकारहरू हाम्रो इतिहासबाट टाढिँदै गए । पुर्खाको प्राचीन गौरव वा भविष्य चहकिलो बनाउनेमा भन्दा पश्चिमाहरूसँग घाँटी जोड्नमा रूचि लिँदै गए ।
लाल कम्युनिस्ट बन्नुलाई, छापामार योद्धा बन्नुलाई वा फासीवादविरोधी बन्नुलाई क्रमशः शङ्कास्पद आँखाले हेर्न थालियो । शङ्काका आँखाले मात्र होइन खतरनाक समेत ठान्न थालियो । हाम्रो सरकारले अहिले आफूलाई पश्चिमाहरूको मित्रभन्दा छाती फुलाउँछन् । (अब त पश्चिमको भनेर मात्र भएन । कुन पश्चिमको ? अमेरिकाको वा युरोपको मित्र ?) यसो गर्दै हाम्रो सरकार कुनै बेला काँधमा काँध मिलाएर लडेका दाजुभाइबाट टाढिँदै छ । उहिलेका कब्जाकारीहरूलाई अहिले ‘प्रशासक’ भनिँदै छ । देशभक्त छापामार योद्धाहरूका मूर्तिमा धुलो जम्दै छ ।
फासीवादको विरोध गर्न अप्ठ्यारो हुँदै छ । किनभने, हाम्रा पश्चिमा मित्र देशहरू आफै फासीवादी बन्दै छन् । त्यसैले मौनताको रजाइँ छ । युरोप वा भनौँ युरोपेली युनियनले अझै पनि मे ९ को दिवस मनाउँछ । युरोपले आफूलाई पुनः सैन्यकरण गर्दै छ, मानवअधिकार र न्यूनतम् मूल्यमान्यताको घाँटी थिच्दै छ र जातिसंहार गरिरहेका देशहरूको खुलेर पक्ष लिँदै छ । त्यसैले लाजै नमानी उसले मे ९ को दिवस मनायो । मनाउन त मनायो तर केमा खुसियाली मनाउने, के सम्झिने, किन सम्झिने ? युरोपेली युनियन रनभुल्ल छ । किनभने, उसको शब्दकोषमा युद्ध नै शान्ति हो र शान्ति नै युद्ध हो ।
इतिहास सम्झिनु महत्वपूर्ण कुरा हो । तर, आँखा खुला राखेर सबथोक सम्झिनु पनि उत्तिकै महत्वको कुरा हो । सर्प हारे पनि सर्पको अण्डा बाँकी छ । त्यो अण्डाबाट फेरि अर्को सर्प निस्कन सक्छ । जुन सर्पलाई हराउन ८० वर्ष अगाडि विश्वका करोडौँ जनताले ज्यान दिएका थिए, त्यसको चल्ला फेरि निस्किने सम्भावना छ । साँचो कुरा त के हो भने सन् १९४५ को युद्धमैदानमा फासीवाद पूर्ण रूपमा हारेको थिएन । समाज वैज्ञानिकहरूलाई राम्ररी थाहा छ – फासीवादका जरालाई बन्दुकको नालले मात्र पराजित गर्न सकिन्न । नवफासीवादले नयाँ माहोलमा ढल्दै सुकिलो छाला ओढेर पुनः शिर उठाएको छ । केही देशमा त इतिहासलाई उल्टो पारिएको छ । ती देशमा स्वदेशी फासीवादी वा नाजी सेनाका सहयोगीहरूलाई नायकको रूपमा प्रचार गरिँदै छ ।
यसकारण, संयुक्त राष्ट्रसङ्घमा रूसले गरेको पहल महत्वपूर्ण छ । सन् २०२४ डिसेम्बर १७ को दिन राष्ट्रसङ्घको ७९ औँ महासभामा रुसले एउटा प्रस्ताव राख्यो, “समकालीन जातिवाद, जातीय विभेद, जातिसंहारजस्ता असहिष्णुतालाई मलजल गर्ने नाजीवाद, नवनाजीवाद जस्ता अभ्यासको गौरवगानविरूद्ध लडौँ ।” यो प्रस्ताव ल्याउन रुसलाई विश्वका ३९ देशले साथ दिएका थिए । अन्त्यमा, यो प्रस्तावको पक्षमा ११९ मत खस्यो भने ५३ देशले विपक्षमा मतदान गरे । दुःखको कुरा हाम्रो देश म्यासिडोनियाले पनि विपक्षमा मत दियो । जब कि हाम्रो देशको आफै निर्णय गर्ने अधिकार र युगोस्लाभियाभित्र एक राज्यको अधिकार फासीवादविरोधी सङ्घर्षबाट जन्मेको थियो । विश्वस्तरमा त्यो प्रस्तावको विरोध गर्ने देशहरूको जानकारी राख्नु महत्वपूर्ण हुन्छ । ती देश थिए – युक्रेन, बेलायत, जर्मनी, इटली, बेल्जियम, नर्वे, नेदरल्यान्ड, फिनल्यान्ड, स्वीडेन, जापान, क्यानडा … । विश्वको नयाँ भूराजनीतिक नक्सा पल्टाऔँ । यी देश किन त्यो प्रस्तावको विरोधमा उत्रिए ? नक्सा हेरे स्पष्ट हुन्छ ।
दोस्रो विश्वयुद्धमा लालसेनाको कमान सम्हाल्ने सोभियत मार्शल ज्योर्जी झुकोभले भन्नुभएको थियो, “हामीले युरोपलाई फासीवादबाट मुक्त ग¥यौँ । तर, यसको लागि तिनीहरूले हामीलाई कहिल्यै माफ गर्ने छैनन् ।”
हो, तिनले आज पनि माफ गरेका छैनन् । आज यो कुरा छर्लङ्ग भएको छ ।
(लेखिका भोनकोभ्स्का राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धकी प्राध्यापक हुन् । उनी मेडोडियस विश्वविद्यालयमा प्राध्यापन गर्छिन् । उनी म्यासिडोनियाकी सबैभन्दा प्रभावशाली बौद्धिक हुन् ।)
स्रोत : लेखिकाको सबस्टाक । सम्यक
Leave a Reply