भर्खरै :

होडबाजी र लोभ होइन मान्छेको ‘प्रकृति’

होडबाजी र लोभ होइन मान्छेको ‘प्रकृति’

सर्वसाधारण जनताबारे मैले थरीथरी व्यक्तिसँग छलफल गरेको छु । कहिले दक्षिणपन्थीहरू गरेको छु त कहिले वामपन्थी खेमाका सनकी व्यक्तिहरूसँग पनि गरेको छु । धेरैको जवाफ एकै प्रकृतिको हुने गर्छ – “अझ प्रजातान्त्रिक, दिगो वा शान्तिपूर्ण समाजको निर्माण गर्ने प्रयासमा समय खेर नफाल । यस्तो प्रयासको कुनै अर्थ छैन किनभने मान्छे जन्मजात स्वार्थी, लोभी र होडबाजी गर्ने स्वभावको हुन्छ ।” मूलधारको अर्थशास्त्रमा पनि यही डार्विनवादी दृष्टिकोणको प्रतिध्वनि सुन्न पाइन्छ । चल्तीको अर्थशास्त्र भन्छ – मान्छे स्वतन्त्र र आफैमा भुल्ने प्राणी हो तर अरबौँको सङ्ख्यामा रहेका यिनैका मामुली र स्वार्थी क्रियाकलापले समय बित्दै जाँदा वास्तवमा सबैभन्दा उब्जाउ अर्थतन्त्र र सम्पन्न समाज बनाउँछन् ।
मैले कबुल गर्नैपर्छ, यस तर्कमा म आंशिकरूपमा सहमत थिएँ । मलाई थाहा छ, बालबच्चालाई एक ठाउँ राखेर खेलौना दिए उनीहरू आपसमा खोसाखोस गर्छन् । ठुलाबडाले नसिकाएसम्म उनीहरूको यो बानी जान्न । तर, मलाई के पनि थाहा छ भने मानिस क्रमशः सामाजिक प्राणीमा विकसित भएको हो । यसकारण, ऊ आफ्नो जमातभित्र अमन–चयन कायम गर्न आपसमा हातेमालो गर्न सक्छ । अनिकाल, सुनामी र अन्य मानवीय विपद्मा पीडितले गुहार्दा लाखौँ करोडौँ मानिसले सहयोगी हात बढाएको मैले देखेको छु । समानुभूति र दयालुपन पनि सर्वत्र पाइन्छ ।

अघिअघिका उँच–नीचयुक्त (हाइरार्किकल) बस्तीहरू
(मान्छेले शिकार गर्ने र फलाहार सङ्कलन गर्ने बेलाको) फिरन्ते समाजका पारिवारिक बथानमा म त्यो हातेमालो, उँचनीचको अभाव र तुलनात्मक समानता देख्न सक्छु । पुरातात्विक अनुसन्धानमा पाइने प्रमाण अनि बचेखुचेका केही फिरन्ते समाजलाई अवलोकन गर्दा म यो विचारमा पुगेको हुँ । तर, मलाई लाग्छ, ‘स्वर्गको बगैँचा’ बाट खेतीपाती र ठुला बस्तीसम्मको सङ्क्रमणले सबथोक फेरिदियो । म प्राचीन समाज हेरी औधि मुग्ध हुन्छु । धेरै वर्षदेखि मैले ती समाजबारे अध्ययन गर्दै आएको छु । अध्ययनबाट मैले बुझेको सार कुरा यहाँ लेख्दै छु ।
अघिअघिका नगर राज्य प्राचीन मेसोपोटामियामा बन्न थालेका हुन् । यिनलाई टिग्रिस र युफ्रेटस नदीबिचको उब्जाउ भूमिमा गरिने खेतीपातीबाट पोसिन्थ्यो । (भावी उपयोगका लागि) अन्नलाई ठुलठुला भकारीमा भण्डार गरिन्थ्यो । पहिलोपल्ट अतिरिक्त उत्पादन त्यही भयो । त्यो उब्रेको अन्नलाई लडाकुवर्गले थुपाथ्र्यो र आफ्नो खटनमा राख्थ्यो । यो वर्ग माफिया जस्तो शासक खलकले बनेको थियो । यसलाई आवश्यक चीजको लेखाजोखा राख्ने पुजारीहरूले सघाउँथे । कुलिनहरूलाई ईश्वरले नै शासन गर्ने परमादेश दिएको भनी यी पुजारीले शासकहरूको रजाइँलाई वैधता दिलाउँथे । त्यो बेलादेखि मानव इतिहासमा तानाशाही, साम्राज्य र उपनिवेशवादका कथा जोडिएका हुन्; जसमा निर्णायक शक्ति सबैभन्दा क्रूर र महत्वाकाङ्क्षी स्वभावका मुठ्ठीभर मानिसको हातमा आयो ।
किसानहरूले आ–आफ्ना अन्न भण्डार गर्न ल्याउँदा तिनलाई रसिद दिइन्थ्यो । यी रसिद माटोका ढेक्का हुन्थे । हामीले अहिलेसम्म थाहा पाएमध्येका सबैभन्दा पुराना लेखोट यिनै हुन् । यिनलाई मुद्राको रूपमा बाँडिन्थ्यो । (अन्नभन्दा पनि) यी ढेक्का छिट्टै शक्तिशाली मानिसहरूको हातमा जम्मा भयो । तिनीहरूले ती ढेक्कालाई ब्याजमा लगाउन थाले । यसले गर्दा समाजको ठुलो हिस्सा ऋणको फन्दामा दास बन्नुप¥यो । उनीहरूको दासत्वका कारण शासकवर्गको सम्पत्ति र शक्ति झन्झन् चुलिँदै गयो । उत्पादनका साधनमाथि भन्दा पनि विनिमयको साधनमाथिको नियन्त्रणले शासकहरूको शक्ति बढाएको थियो ।

This is the 2,00 year old Batad Rice Terraces in Banaue, Ifugao, Philippines. Declared a UNESCO World Heritage in 1995, along with four (4) other rice terraces clusters in the Cordillera Region of the Philippines. Batad Rice Terraces is known for its symmetry and amphitheater-like form; and is reputed to be the most beautiful rice terraces cluster in the world.

शक्तिरूपी पैसा
यो मूल रीति त्यसपछिका सबै साम्राज्यमा दोहोरिरह्यो । पछि ग्रिसका शासकहरूले आफ्नो शिरको आकृति कुँदेर टक छाप्न लगाए । यी टक तिनीहरूले सेवाबापत सैनिकहरूलाई दिन थाले । नगरका बासिन्दालाई यिनै टकको रूपमा कर तिर्नुपर्छ भनियो । टक लिनका लागि उनीहरूले तिनका सैनिकलाई आफूसित भएको चीज उपलब्ध गराउनपर्ने भयो । खाना, हतियार, लुगाफाटो, कवच, घोडा, वेश्या, रक्सी आदि दिनुपर्ने भयो । (अथवा टक पाउन शासकहरूका पानीजहाज र महलको निर्माण आदिमा सिधैँ काम गर्नुपर्ने भयो ।) यसरी सैनिकले थप जमिन कब्जा गर्न सके । युद्धमा बन्दी बनाइएका दासहरूलाई चाँदीका खानीमा लगेर काम गराइयो । उनीहरूलाई थप टक टङ्कन गर्न लगाइयो । यस्तै हुँदै गयो । फेरि पनि सत्ता कायम गर्ने महत्वपूर्ण तत्व विनिमयका साधनमाथिको नियन्त्रण नै रह्यो ।
ऋण–दासत्व–सेनाको यो चक्रले त्यसयता कुलिनहरूको हातमा शक्ति र सम्पत्ति जम्मा गर्दै आएको छ । मान्छेमा अन्तरनिहीत लोभ र शक्तिको भोकका कारण यस्तो हुनबाट रोक्न सकिन्थेन सायद । यसैले गर्दा बेलायती दार्शनिक हब्सले ‘लेभाइथन’ नामक कृति लेखे । पुस्तकमा उनले सबैभन्दामाथि शक्तिशाली राजा रहने गरी कठोर उँचनीचयुक्त समाजको वकालत गरे । यस्तो राजाले बर्बर स्वभावका हामीलाई आपसमा काटमार गर्नबाट रोक्ने हब्सको विचार थियो ।
सुमेरुका प्राचीन नगर राज्यहरूभन्दा अघि पनि मानव बस्तीहरू थिए भन्ने कुरा मलाई हेक्का थियो । तर, मैले तिनलाई पछि देखापरेका साम्राज्यहरूको युगभन्दा अगाडिका सानातिना रूप वा अभ्यास मानेको थिएँ । तर, पछिल्ला केही वर्षमा यो कथा सत्य होइन भनी छनक दिने नयाँ सूचना आएका छन् ।

अझ अघिका उँच–नीचविहीन (नन–हाइरार्किकल) बस्तीहरू
सन् २०२१ मा डेभिड्स ग्राएबर र वेनग्रोको कृति ‘सबथोकको मुहान’ (द डन अफ एभ्रिथिङ) आयो । पुस्तकमा कृषि क्रान्तिपछि पनि कम्तीमा ४ हजार वर्ष बितेपछि मात्र पहिलो उँच–नीचयुक्त सहरिया समाज देखापरेको थियो । यस अवधिमा अघिका कृषि समुदायले प्रविधिमा विकास गरे । (धातुकर्म, फुकेका रोटी, आधारभूत गणित, जहाजी कर्म, कुम्हालेको चक्र यसका उदाहरण हुन् ।) तर, ती समाजमा राजा–रजौटा, केन्द्रीकृत नियन्त्रण, उँच–नीच वा कर्मचारीतन्त्र थिएन । आजभोलिको कुर्दिस्तान र मध्य टर्कीमा भेटिएका पुरातात्विक प्रमाणहरूले केन्द्रबिनाका ठुला बस्तीहरू भएको देखाउँछन् । ती बस्तीमा भेटिएका सबै घर लगभग एकै आकार र उम्दा गुणस्तरका छन् । धुमधाम धन गाडिएका कुनै विशिष्ट चिहान भेटिएनन् ।
यसै किसिमका स्थान चीन र पेरुमा भेटिए । उदाहरणको लागि इन्का सभ्यताभन्दा ४ हजार वर्षअघि पेरुमा ठुला, उँचनीचविहीन बस्तीहरू थिए । त्यस्तै, सिन्धु उपत्यका र युक्रेनका सुरुसुरुका सहरमा कुनै राजा वा शासक रहेको प्रमाण पाइन्न ।
यही सन्देश बेलायती समाचार संस्था बीबीसीले ‘महिलाको लवज’ नामक कार्यक्रममा दोहो¥यायो । कार्यक्रमको पहिलो शृङ्खलामा मध्य टर्कीमा पर्ने चटलहायुक नाउँको बस्ती देखाइएको छ । झन्डै साढे ९ हजार वर्षअघि त्यहाँ ५ देखि ८ हजार मानिस बस्ने बस्ती थियो । उत्खनन्बाट त्यहाँ लैङ्गिक असमानता नरहेको पत्ता लागेको छ । त्यतिमात्र होइन, त्यहाँ कुनै किसिमको असमानता थिएन । जानकारहरूले त्यसलाई ‘उद्याम समानता’ भनेका छन् । त्यहाँ कसैलाई पनि अरूमाथि ठालु पल्टिने छुट थिएन । सबै घरको आकार बराबरजस्तै थियो । मृतकलाई आ–आफ्नै घरभित्र गाडिन्थ्यो । रोचक त के छ भने डीएनए परीक्षणबाट ‘पारिवारिक’ चिहानमा भेटिएका लासहरू प्रायः रगतको नाता नपर्ने पाइएको छ । यसको अर्थ त्यहाँका बासिन्दाले आपसमा बालबच्चा बाँडेको देखिन्छ ! आफूलाई जन्म दिनेलाई मात्र आमाबाबु मान्नुपर्थेन । सारा समाज नै ‘परिवार’ थियो ।

के स्वार्थीपना जन्मजात पाइन्छ ? के उँच–नीच अनिवार्य छ ?
सके यो ४ हजार वर्ष उति उल्लेखनीय नहुन सक्छ । पछि आउनैपर्ने उँच–नीचयुक्त समाजको ढोका खुल्नुअघिको फगत अन्तराल हुनसक्छ । अथवा, यो उँच–नीचयुक्त समाज अनिवार्य नहुन सक्छ । हामीले शक्ति र सम्पत्तिको केन्द्रीकरण रोक्ने चाँजो मिलाएको भए सके मानव जातिको इतिहासले अर्कै बाटो लिनसक्थ्यो । उँच–नीचयुक्त समाज अनिवार्य नै थियो भने सत्ता कब्जा गर्ने सुरुआती प्रयास सफल हुनु नै थियो । यसबाट के साबित हुन्छ भने मानिसहरू उँच–नीचबिना ठुलो बस्तीमा सँगै मिलेर बस्न सक्छन् । यसकारण, स्वार्थीपन, लोभ र होडबाजी गर्ने स्वभाव जति जन्मजात गुण हो, त्यति नै जन्मजात गुण हुन् समानुभूति, आत्मसन्तुष्टि र आपसी सरसहयोग ।
अर्थतन्त्र, सुशासन तथा समाजका दृष्टिले साझा संसार निर्माण गर्ने प्रयासमा यो एउटा भव्य पाठ हो । ती उँच–नीचविहीन समाजहरूमा निर्णय लिने, आवश्यक चीजबिच उत्पादन गर्ने र तिनलाई अर्थपूर्ण ढङ्गले उचित वितरण गर्ने पद्धति थिएनन् । त्यस्तो हुँदैनथ्यो भने समाजमा भाँडभैलो मच्चिने थियो । ती तौरतरिकाबारे हामी यकिनसाथ भन्न सक्दैनौँ । तर, ती कुरालाई व्यवहारमा उतार्न आज हामीसित प्रचुर विचार र प्रविधि छ ।
हालै मात्र चिम्पान्जीको समाजबारे बनेको वृत्तचित्र हेरेँ; उँच–नीच हाम्रो प्रकृतिको हिस्सा हुन पनि सक्छ । तर, हामी चिम्पान्जी होइनौँ । हामी मानव हौँ । एक–दुई लाख वर्षअघि सहकार्यको गुण प्रयोग गरी हाम्रा पुर्खाले गोत्र परिवार र कबिला बनाएका थिए । त्यसैबाट हाम्रो पुर्खाको प्रकृतिमा एक महत्वपूर्ण पाटोको रूपमा आपसमा सरसहयोग गर्ने स्वभाव पनि विकसित भएको हुुनुपर्छ । उँच–नीचको पाटोलाई हाबी हुन दिनुपर्ने कुनै कारण देखिन्न । तैपनि म के सोच्छु भने उँच–नीचपूर्ण व्यवस्था कायम गर्न साहुकार, जमिनदार, सेयरधनी र राजनीतिक नेता सामुन्ने नदेखिए पनि हुन्छ; तर आपसमा सहकार्य गर्न मान्छेलाई सशरीर नै भेट्नुपर्छ । यहीनिर सर्वसाधारण आउँछन् । गाउँ–सहर जताततै फैलेका मानिस आउँछन् ।
यी यावत चर्चाबाट मैले बुझेको के भने जब कसैले हामीलाई मान्छे जन्मजात स्वार्थी र होडबाजी गर्ने स्वभावको हुन्छ भन्छ, उसले साझा/सहकार्यमूलक/अन्योन्याश्रित समाजको निर्माण गर्ने जस्तोसुकै प्रयास पनि विफल हुने निश्चित छ भन्न खोजेको हो । यसमा हामी निर्धक्क जवाफ दिन सक्छौँ; ‘तिम्रो भनाइ सत्य होइन’ भन्न सक्छौँ । स्वार्थीपना र होडबाजी आज मात्र हाबी भएका हुन् किनभने हामी यस्तो व्यवस्थामा बाँचिरहेका छौँ जहाँ यी गुणको फल पाइन्छ । शान्ति, प्रजातन्त्र र सबैलाई पुगिसरी हुने गरी कसरी मिलेर बाँच्ने भनी बन्दोबस्ती मिलाउनुपरेका खण्डमा मान्छे अत्यन्त साधनसम्पन्न र कल्पनाशील ठहरिँदै आएको छ र ठहरिनेछ । जनतासँग यी कुरा साकार पार्ने अनेक उपाय हुन्छन् भन्नेमा म विश्वस्त छु ।

– ‘एमआर अनलाइन’ बाट
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *