भर्खरै :

माक्र्सवाद पुरानो भयो भन्नेहरूलाई एक उत्तर– २

माक्र्सवाद पुरानो भयो भन्नेहरूलाई एक उत्तर– २

तर, रुसी क्रान्तिको अध्ययनले के थाहा हुन्छ भने रुसी अक्टोबर क्रान्ति सर्वहारा क्रान्ति नै थियो । त्यस क्रान्तिको नेतृत्व सर्वहारावर्गको पार्टीले गरेको थियो । सचेत सर्वहाराहरू क्रान्तिको निम्ति वर्षाैँदेखि सक्रिय थिए । तिनीहरू नै क्रान्तिको मोहडामा थिए । तिनीहरूले नै सिपाही र किसानहरूलाई क्रान्तिको निम्ति तयार गरेका थिए र एक गरेका थिए । त्यो समझदारी रुसी सर्वहारावर्गलाई सन् १९०५ को क्रान्तिमै भइसकेको थियो । तिनीहरू समाजवादका निम्ति लडेका थिए । माक्र्सवादलाई नै तिनीहरूले क्रान्तिको दिशानिर्देशक मानेका थिए । यसकारण, रुसी अक्टोबर क्रान्ति सर्वहारा क्रान्ति थियो । तर, आलोचकहरूले सर्वहारावर्ग र सर्वहारा क्रान्तिलाई शाब्दिकरूपमा मात्रै लिएर त्यसको भावना, ऐतिहासिक तथ्य र भविष्यको व्यापकतालाई लिएनन् । त्यसो त सबैजसो पुँजीवादी क्रान्तिमा भाग लिनेहरूमध्ये सङ्ख्याको हिसाबले पुँजीपतिवर्ग अति अल्पमतमा थिए । बेलायत, फ्रान्स, अमेरिका र जर्मनीका पुँजीवादी क्रान्तिमा लड्ने र मर्नेहरूको अत्यन्त ठुलो भाग मजदुर किसान र स–साना साहु महाजनहरू नै थिए । नेतृत्व र उद्देश्यको दृष्टिले भने ती क्रान्तिहरू पुँजीवादी क्रान्ति नै थिए ।
चिनियाँ क्रान्तिको बेला चीनमा औद्योगिक मजदुरहरूको सङ्ख्या सा¥है थोरै थियो । पार्टी नेतृत्वमा समेत मध्यमवर्ग, स–साना पुँजीपति र किसानवर्गबाट आएका नेताहरू अत्यधिक थिए । यसकारण आलोचकहरू भन्छन्, “चिनियाँ क्रान्ति औद्योगिकरूपले पिछडिएको देशमा भएको किसान क्रान्ति हो । त्यो क्रान्ति माक्र्सवादअनुरूप सर्वहारावर्गबाट नभई मध्यमवर्गबाट आएका व्यक्तिहरूको इच्छाशक्तिबाट भएको हो । अन्य तेस्रो विश्वका क्रान्तिहरू पनि यस्तै हुन् ।”
सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना हुनुभन्दा पहिले नै चीनमा सर्वहारा क्रान्ति र समाजवादको प्रचार भइसकेको थियो । पेरिस कम्युन, समाजवादी विचारहरू र माक्र्सवाद चिनियाँ बुद्धिजीवी समुदायमा प्रचार कार्य सुरु भइसकेको थियो । सन् १९१७ को रुसको सर्वहारा क्रान्तिको बन्दुकको आवाजले चिनियाँ कामदार जनतालाई ब्युँझाइदिएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनापछि व्यवस्थितरूपले खानी र यातायातका मजदुरहरूको ठुल–ठुला आन्दोलनहरू सुरु भए । शाङ्घाई र अन्य औद्योगिक क्षेत्रहरूका पनि मजदुरवर्ग सङ्गठित थिए । चिनियाँ किसानहरूको जीवनस्तर युरोपेली मजदुरहरूको जीवनस्तरभन्दा सा¥है तल र शोषित थियो । त्यस्तै, युरोपका मजदुरवर्गजस्तै चिनियाँ किसानहरूको पनि लडाकु परम्परा थियो । मध्यमवर्गबाट आएका कम्युनिस्ट नेताहरूको इच्छाशक्ति माक्र्सवाद र लेनिनवाद थियो । तिनीहरूका प्रेरणाका स्रोतहरू युरोपका मजदुर आन्दोलनहरू, सर्वहारा क्रान्ति र संसारका क्रान्तिहरू थिए । चीनको क्रान्तिलाई किसान क्रान्ति भनिए पनि त्यसको प्रेरणा स्रोत र उद्देश्य माक्र्सवाद र समाजवाद नै थियो । यसकारण, चिनियाँ क्रान्तिलाई रुसी सर्वहारा अक्टोबर क्रान्तिकै सिलसिला भनिएको हो । माक्र्स, एङ्गेल्स र लेनिनको वर्ग स्रोतसमेत सर्वहारावर्ग नभई मध्यम र पुँजीपतिवर्ग हो । तर, उहाँहरूको उद्देश्य र सम्पूर्ण गतिविधि सर्वहारावर्गको मुक्तिको निम्ति समर्पित थियो । त्यस्तै चिनियाँ कम्युनिस्ट नेताहरू मध्यमवर्गका भए पनि तिनीहरू देश र जनताको मुक्ति र समाजवादप्रति समर्पित थिए । चिनियाँ नेताहरूले माक्र्सवादलाई कोरा सिद्धान्तको रूपमा नलिई त्यसलाई आफ्नो देशको परिस्थितिमा लागु गर्ने दिशा निर्देशनको रूपमा लिए । कोरिया, भियतनाम र क्युवाजस्तो तेस्रो विश्वको देशहरूको क्रान्तिबारे पनि यही कुरा लागु हुन्छ ।
सालाखाला १० वर्षको एकचोटि आउने आर्थिक सङ्कटले पुँजीवादलाई समाप्त पार्छ भन्ने माक्र्सको ठम्याइबारे आलोचकहरू सन् १९२९–१९३९ को आर्थिक सङ्कटले पुँजीवाद समाप्त नभएको हुँदा माक्र्सवाद असफल भयो भन्ने तर्क अगाडि सार्छन् । पुँजीवादको १० वर्षे आर्थिक सङ्कट माक्र्सको आफ्नै आविष्कार नभई पुँजीवादका अनेक आर्थिक जटिलताबाट आउने परिणामलाई माक्र्सले पुँजीवादको कमजोरीको रूपमा देखाइदिनुभएको थियो । माक्र्सकै समयमा पनि बरोबर आर्थिक सङ्कटले पुँजीवादलाई हल्लाउने गथ्र्यो । तर, पुँजीवाद आफै पतन भएन । यदि माक्र्सको भनाइ त्यस्तो हुँदो हो त माक्र्सले सर्वहारा क्रान्तिबारे लेख्नैपर्ने थिएन । तर, पुँजीवादका आफ्नै कमजोरीहरू छन् । त्यसमध्ये आर्थिक सङ्कट र युद्ध पनि हो । पहिलो विश्व युद्ध पुँजीवादको एक कमजोर पक्ष रह्यो । युद्धले आर्थिक सङ्कट ल्याउँछ वा आर्थिक सङ्कटबाट पार पाउन युद्धलाई निम्त्याउँछ । यातायातको व्यापकताले पुँजीवाद विश्व बजारसँग गाँसिएको हुँदा एक ठाउँको हारजित विश्व पुँजीवादकै हारजितमा लिइन्छ । पहिलो विश्वयुद्धले उसको कमजोरी देखायो र उसको कमजोर ठाउँ रुसमा सर्वहारा क्रान्ति भयो ।
त्यस्तै आर्थिक सङ्कटलाई जोगाउन पुँजीवादले विश्व बजारलाई भागबन्डा गर्नु आवश्यक देख्यो । बजार कब्जा गर्ने त्यस हान–थापले दोस्रो विश्व युद्ध भड्कायो । विश्व पुँजीवादको कमजोर ठाउँ पूर्वी युरोपेली देशहरू, चीन, कोरिया र भियतनाम पुँजीवादी दाम्लोबाट मुक्त भए । क्युवाको क्रान्तिले पुँजीवाद अब सानो आर्थिक सङ्कट र ‘स्थानीय युद्ध’ बाट पनि तर्सन थाल्यो । त्यसको परिणाम ऊ भियतनाममा फस्यो, डलरको अवमूल्यन भयो । पुँजीवादी देशहरू मुद्राको मूल्यबारे एक आपसमा लुछाचुँडी गर्न थाले । कारखानाहरू बन्द हुन थाले । मजदुरहरू बेकार भए । व्यापार र बजेटमा घाटा हुन थाल्यो । पुँजीवादी संसारमा त्यो पनि एक सानो आर्थिक मन्दी थियो । त्यसबाट जोगिन सं.रा. अमेरिका अर्थात् पुँजीवाद भियतनाम छोडेर भाग्नु प¥यो अथवा पुँजीवादको एक कमजोर ठाउँमा ऊ पतन भयो ।
सैद्धान्तिकरूपले हेर्ने हो भने हरेक राजनैतिक सङ्घर्ष आर्थिक कारणबाटै हुन्छ । साथै विकसित अर्थतन्त्रले पिछडिएको अर्थतन्त्रलाई पछार्छ । पुरानो अर्थतन्त्रको खस्दै गएको दास समाजलाई तुलनात्मकरूपले विकास गर्दै गएको सामन्तवादले पराजित गर्यो । बन्द व्यापार र उद्योगधन्धा विकास गर्दै गएको पुँजीवादी अर्थतन्त्रले ¥हासोन्मुख सामन्ती अर्थतन्त्रलाई जित्यो । बलियो अर्थतन्त्रले बलियो राजसत्ता र सैन्य शक्तिको निर्माण गर्छ । ¥हासोन्मुख अर्थतन्त्रले सैन्य शक्तिलाई पनि कमजोर पार्छ । तेस्रो विश्वमा बढ्दै जाने उद्योग र प्राविधिक ज्ञानको विकासले मुक्तियुद्ध र विभिन्न देशका समाजवादी क्रान्तिहरूले अन्ततः पुँजीवादमा विविध ढङ्गका आर्थिक सङ्कट ल्याउनेछन् । जसले राजनैतिक र युद्धका सङ्कटहरू ल्याउनेछ । यसप्रकार घुमाइफिराइ पुँजीवाद नष्ट हुनेछ । त्यसको मुख्य कारण आर्थिक सङ्कटको दृष्टिले पनि माक्र्सवाद पुरानो भइसकेको छैन । हुन त पुँजीवादले आफ्नो आर्थिक स्थितिलाई यथावत् राख्न ऋण, ‘सहायता’, दान वा हतियारको बेचबिखनजस्ता अनेक जटिल आर्थिक उपायहरू प्रयोगमा ल्याई आफ्नो आयु लम्ब्याउनेछ । तर, हरेक वस्तुको सीमा हुन्छ र हरेक वस्तुको विपरीत सम्भावना पनि हुने भएकोले अन्ततः माक्र्सले भन्नुभएजस्तै पुँजीवाद आफैले खनेको चिहानमा गाडिने छ ।
समाजवादी समाजमा उत्पादनका सबै साधनहरूमा व्यक्तिगत स्वामित्व समाप्त भई समाजवादी स्वामित्व स्थापना हुन्छ । उत्पादनका साधनहरूमा सामूहिक वा सबै जनताको स्वामित्व कायम भएपछि समाजमा वर्गभेद रहनेछैन । समाज वर्गविहीन हुँदा अथवा दबाउन पर्ने वर्ग नै नरहने हुँदा साम्यवादी समाजमा राजसत्ता ओइलाउँछ । तर, माक्र्सवादका आलोचकहरू ‘चीन र अन्य समाजवादी देशहरूमा राजसत्ता ओइलाउनुभन्दा झन् निरङ्कुश र अधिनायकवादी भयो’ भनी माक्र्सको भविष्यवाणी गलत भएको सिद्ध गर्न खोज्दै छन् ।
पुँजीवादले एकपछि अर्को हार खाँदै गए पनि त्यसले पूर्णतः आत्मसमर्पण नगरिसकेको, पुँजीवादका पुनःस्थापनाका सम्भावनाहरू पनि निर्मूल भइनसकेको, साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप, थिचोमिचो र सैन्यशक्तिको विकासले समाजवादी देशहरूलाई आफ्नो सैन्यशक्ति घटाउने तथा आफ्नो रक्षात्मक स्थिति र चनाखोपनालाई खुकुलो पार्दै लाने कुरो छैन । शत्रुको सम्भावित हस्तक्षेप, थिचोमिचो र आक्रमणसँग जुझ्ने शक्तिलाई सुकाउने वा ओइलिन दिने होइन बरु त्यसलाई हरियो र केन्द्रीकृत गर्नुपर्ने हुन्छ । यसकारण, माक्र्सले भन्नुभएजस्तै विजयी सर्वहारावर्गले समाजवादको रक्षा गर्न आफ्नो हुकुमलाई बलियो बनाउँछ । लेनिन, स्तालिन र माओ त्सेतुङले यसबारे धेरै कुरा बताइसक्नुभएको छ ।
पोल्यान्डको सोलिड्यारिटी र मजदुर आन्दोलनबारे आलोचकहरू भन्छन् – सर्वहारावर्गको हुकुम होइन, सर्वहारावर्गमाथि हुकुम चलाइन्छ । त्यसकारण, पोल्यान्डका युवकहरू कम्युनिस्ट पार्टीमा लाग्दैनन् । एकचोटि माओ त्सेतुङले समाजवाद र पुँजीवादको माझको सङ्घर्षमा कुनले विजय पाउनेछ, त्यसको अन्तिम टुङ्गो लागी नसकेको कुरा बताउनुभएको थियो । यो कुरो चीनको लागि मात्र होइन अन्य देशको निम्ति पनि लागु हुन्छ । पुँजीवादी राजसत्ताको अन्त र समाजवादको स्थापनाको अर्थ भित्री बेमेल र समस्याहरूको पूर्ण उन्मूलन होइन । कुनै पनि देशको युवा वर्गमा परिस्थितिको छाप पर्नु स्वाभाविक हो । सामन्तवाद र पुँजीवादी शोषणले थिचिएका युवावर्ग र अर्कै परिस्थितिमा हुर्केका युवावर्गको चरित्रमा फरक हुनु अस्वाभाविक होइन । उपनिवेशवादविरोधी सङ्घर्षमा लागेको देशका युवा वर्ग र पुँजीवादी शोषणको विरोधमा सङ्घर्ष गरिरहेका युवा वर्गको उद्देश्य र सोचाइमा भेद हुन्छ । त्यस्तै चीन र अन्य समाजवादी देशका युवावर्ग र नेपाली युवावर्गको इच्छा र आकाङ्क्षामा भेद हुनु स्वाभाविक छ । युवावर्ग पनि आर्थिक, राजनैतिक र सांस्कृतिक परिवेशबाट मुक्त हुँदैन ।
सर्वहारा हुकुमबारे माक्र्सले ठाउँ ठाउँमा भन्नुभएको छ– सर्वहारावर्गको हुकुमको अर्थ हो– “शोषकवर्गमाथि थिचोमिचो ।” माक्र्सले स्वतन्त्रता शब्दलाई कहिले पनि गौणरूपमा प्रयोग गर्नुभएको देखिँदैन । स्वतन्त्रता शब्द सधैँ वर्ग र समयसापेक्ष हुन्छ । कुनै पनि पुँजीवादी देशमा अस्तित्वमा रहेको व्यवस्थालाई सशस्त्र ढङ्गले उल्टाउने स्वतन्त्रता दिएको हुँदैन । बेलायतका मजदुरवर्गको मागपत्रको आन्दोलन, फ्रान्समा पेरिस कम्युन र सं.रा. अमेरिकामा १ मेको मजदुर आन्दोलनलाई विकास गर्न पुँजीपतिवर्गले ‘स्वतन्त्रता’ दिएको थिएन । त्यस्तै विजयी सर्वहारावर्गले पनि ‘स्वतन्त्रता’ को नाममा समाजवादलाई उल्टाउने गतिविधि गर्न दिने छैन । यसकारण, आलोचकहरू ‘माक्र्स स्वतन्त्रताका पक्षापाति थिए । तर, समाजवादी देशमा स्वतन्त्रता छैन’ भनेर माक्र्सलाई ‘निरपेक्ष स्वतन्त्रता’ का पक्षपातीको रूपमा अगाडि सार्छन् । त्यो गलत प्रस्तुतीकरण हो ।
केही आलोचकहरू भन्छन्, “पुँजीवादी देशमा मजदुरहरूले जीउन लायकको मात्रै ज्याला पाउँछन् । आर्थिक सङ्कटबाट पार पाउन साम्राज्यवादी बाटो लिनेछ र अन्त्य हुनेछ ।” ज्याला बढाउन सक्नेछैन भनेर कम्युनिस्टहरू भन्छन् । तर, त्यसको उल्टो पुँजीवादी देशहरूमा ‘ज्याला बढेको छ ।’
मजदुरहरूलाई जीउनको लागि मात्रै ज्याला दिने एक पुँजीवादी सिद्धान्त नै हो । पुँजीपतिवर्गका विभिन्न किसिमका ज्यालाको सिद्धान्तले मजदुरहरू नै चुसिने हुन्छन् । आर्थिक सङ्कट र साम्राज्यवादी बाटो र त्यसको अन्त एक दीर्घकालीन र रणनीतिक सच्चाइ हो । आर्थिक स्रोतहरूको पूर्ण सञ्चालन, प्राविधिक उपलब्धि र विकासशील देशहरूको शोषणबाटै पुँजीवादी देशका मजदुरहरूको ज्यालामा वृद्धि भएको हो । तर, ती देशहरूमा सेवा र उपभोगको सामानको चर्को मूल्य र मजदुरहरूमा बरोबर भइरहने बेरोजगारीको खतराले पुँजीवादी देशका मजदुरहरू पनि त्यस स्थितिबाट सन्तुष्ट छैनन् र तिनीहरूको ज्याला पुँजीपतिवर्गको नाफा र सम्पत्तिको तुलनामा कुनै पनि रूपले बढी होइन ।
केही आलोचकहरू भन्छन्, “नैतिकता र संस्कृतिलाई आर्थिक आधारमा मात्रै बन्ने र शोषणलाई अनैतिक सम्झनेहरू सत्ताको निम्ति सिद्धान्तहीन सङ्घर्ष गर्न थाले ।”
कुनै पनि समाजको नैतिकता र संस्कृति निश्चय पनि आर्थिक आधारमै विकास हुने गर्छ । तर, एकचोटि स्वीकारिसकेको नैतिकता र संस्कृतिलाई आर्थिक आधारमा हेरफेर आइसकेर पनि समाजले त्यसलाई चटक्क छोड्दैन । श्रमको शोषण ‘मानवीय’ दृष्टिले नै अनैतिक छ । राजनीतिमा सत्ताको सङ्घर्ष नौलो होइन । राज्यसत्ता समाजलाई बदल्ने एक माध्यम हो । समाजवादलाई कार्यान्वयन गर्ने भिन्नभिन्न दृष्टिकोणहरू छन् । मजदुर र किसान, गाउँ र सहरको भेद हटाउनु समाजवादको आजु हो । तर, त्यसलाई पूरा गर्ने उपायहरूमा कम्युनिस्टहरूको बिचमा मतभेद रहनु स्वाभाविक हो । समाजवादलाई लागु गर्ने उपायहरूमा कम्युनिस्टहरूको सदा भिन्नभिन्न मत रहेको छ । अराजकतावाद, काल्पनिक समाजवाद र निम्न पुँजीवादी समाजवाद यसका उदाहरणहरू हुन् । त्यस्तै अहिले पनि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा समाजवादलाई अगाडि बढाउनेबारे विभिन्न पक्षमा विभिन्न मतहरू देखापर्नु स्वाभाविक हो । सत्तामा पुगेको पार्टीमा पनि विभिन्न पक्षहरू हुन्छन् । तिनीहरूले पनि आ–आफ्नो समझदारीअनुसारको नीतिमार्फत समाजवादलाई बलियो पार्ने र अगाडि बढाउन राज्यसत्ता र अन्य सबै साधनहरूलाई उपयोग गर्न खोज्नु आश्चर्यको कुरा होइन । समाजवादी देशमा मात्र राज्यसत्ता फूलदानको गुलाफ हुने कुरा होइन ।

स्रोत : समाजवाद र सान्दर्भिक विषयवस्तु

Leave a Reply

Your email address will not be published. Required fields are marked *