भर्खरै :

रुखमूनिको टेबुलदेखि ख्यातिको शिखरसम्म

चिनियाँ कवयत्री स्युह्वाको कथा
–किकि चाओ
चीनमा आजभोलि सर्वाधिक पढिने कवयत्री हुन्–यु स्युह्वा । उनलाई कतिपय उनका पाठकहरुले अङ्ग्रेजी भाषाका कवयत्री इम्ली डिकिन्सनसँग समेत तुलना गर्न थालेका छन् ।
यु आफ्ना अधिकांश दिन हिलो–मैलो साँघुरो गोरेटोमा खोच्याउँदै आफू बस्ने पुरानो ईट्टाको घर नजिक रहेको पोखरीमा पालिएका माछालाई दाना खुवाउँदै शुरु गर्थिन् । सधैं आफूले भनेको नमान्ने हँसिया समातेर उनी आफै खरायोहरुलाई खुवाउन घाँस काट्थिन् । उनले आफ्नो ४१ वर्ष उमेरका अधिकांश समय वरपर रुख र गहुँ खेतले घेरिएको त्यो सानो गाउँले घरमा बताएकी थिइन् ।
घर नजिकैको रुखमूनि एउटा होचो टेबुल छ । त्यही टेबुलमा बसेर उनी कविता कोर्ने गर्थिन् । मस्तिष्क अंगघातका कारण उनको शरीर हल्लिरहन्छ । चीनको मध्य प्रान्त हुपेमा ४१ वर्षअघि उनी जन्मँदैदेखि मस्तिष्कसम्बन्धि रोगबाट पिरोलिएकी थिइन् ।
तर सन् २०१४ मा अचानक उनको जीवनमा उनले र उनका कोही पनि आफन्तले नसोचेजस्तै परिवर्तन आयो ।
 
‘चीनभरि सबै थोक भइरहेका छन्ः
ज्वालामुखी विस्फोट भइरहेका छन्,
नदीहरु सुकिरहेका छन्,
कैदी र प्रवासी त्यत्तिकै छोडिएका छन्,
कस्तुरी र राता टाउके सारसहरु आगोमा पोलिएका छन् ।
म गोलीको वर्षाबीच सुत्ने साहस गर्दैछु ।
असङ्ख्य काला रातहरुलाई निचोरेर
एउटा बिहान बनाएर म सुत्ने खोजिरहेकी छु ।’
 
त्यो वर्ष ‘तिमीसँग सुत्न आधाभन्दा बढी चीन नाँघ्दैछु’ ( ‘क्रसिङ मोर ड्यान हाफ अफ चाइना टु स्लीप विथ यु’) शीर्षकको आफ्नो कविताका यी पङ्क्तिलाई आफ्नो ब्लगमा प्रकाशन गरिन् र एउटा अनुभूति सृजना गरिन् । ती पङ्क्तिले चीनको प्रमुख साहित्यिक पत्रिका ‘पोएट्री’ का सम्पादक ल्यु नियानको ध्यानाकर्षण भयो । ल्युले युका बारेमा लेखे र उनका केही कृति पुनःप्रकाशन पनि गरे । सन् २०१५ को फेब्रुअरीसम्ममा उनका दुई वटा कविता सङ्ग्रहहरु–चकित पार्ने संसारमा’ (‘इन सच अ स्टागरिङ वल्र्ड’) र ‘मेरो बाँया हातमा खसेको जुनको किरण’ ( ‘मुनलाइट ड्रम्प्स अन माइ लाइफ ह्याण्ड’) प्रकाशनमा आए । ती दुवै कृति चीनको पछिल्ला तीस वर्षमा सबभन्दा बढी विक्री भएका काव्यकृति बने ।
त्यसपश्चात युको जीवन हिजो जस्तो रहेन । भावनात्मक एकान्तभावलाई अचम्भित पार्ने प्रष्टताका साथ लेख्ने तिनी शारीरिक रुपमा अपाङ्ग एक जना किसान महिलालाई आफ्नै आँखाले हेर्न उनको गाउँले घरमा पत्रकारहरुको घुँइचो लाग्यो । उनी आफू बस्ने गाउँको नजिकैको शहर झोङस्याङको साहित्य र कला गोष्ठीका उपाध्यक्षमा मनोनित भइन् । ल्युले उनलाई बेइजिङको रेनमिन विश्वविद्यालयमा कविता वाचन गर्न आमन्त्रण गरे । त्यहाँ उनीसँग पिपुल्स डेली, सीसीटीभी र अरु राष्ट्रियस्तरका सञ्चारमाध्यमहरुले अन्तर्वार्ता लिए ।
सन् २०१६ मा चलचित्र निर्माता फान च्याङले युको विषयमा बनाएको वृत्तचित्र ‘अझै भोलि’ ( ‘स्टिल टुमरो’) सार्वजनिक भयो । साथै उनको अर्को कविता सङ्ग्रह ‘हामीले एकअर्कोलाई प्रेम गरेको कुरा भुल्यौं ( ‘वी फर्गट ड्याट वी लभ्ड’) पनि प्रकाशित भयो । सन् २०१७ मा युले आफ्नो जीवनमा पहिलो पटक विदेशी भूमि टेकिन् । संरा अमेरिकाको स्टान्फोर्ड विश्वविद्यालय र अरु विश्वविद्यालयहरुमा आयोजित चलचित्र प्रदर्शनी र सेमिनारहरुमा सहभागी बन्न उनी चीनबाट संरा अमेरिका पुगेकी थिइन् ।
‘मेरो विचारमा यु स्युह्वा चीनकी इम्ली डिकेन्सन हुन्ः विलक्षण कल्पनशीलता र सशक्त भाषा ।’ चिनियाँ भाषा र महिलावादमा विशेषज्ञ अध्ययन गरिरहेकी अट्लान्टास्थित मोरहाउस कलेजका प्राध्यापक शेन ¥युले भनिन् । ¥युले युको कविता सङ्ग्रह ‘मुनलाइट ड्रम्प्स अन माइ लेफ्ट ह्याण्ड’ मा भूमिका लेखेकी छिन् ।
तर युले भने आफूलाई डिकेन्सनसँग तुलना गरेको मनपराएकी छैनन् । उनले डिकेन्सनका कुनै पनि कृति पढेकी छैनन् । युले हेङतियनस्थित आफ्नो घरमा हालैको एक साँझ आफूलाई विश्व साहित्यबारे कमै मात्र जानकारी भएको बताइन् ।
२५ वर्ष उमेर कटिसके पछि मात्र युले कविता लेख्न थालेकी हुन् । ‘त्यसअघि म बिरलै मात्र साहित्य पढ्थें । मैले सन् २००६ पछि मात्र आफ्नो मोबाइलमा केही प्रसिद्ध साहित्य पढ्न थालेकी हुँ । तर पढ्न थाल्नुअघि नै कसरी लेख्ने भन्ने ज्ञान भने मसँग थियो ।’
‘म कविता कोर्न मन पराउँछु किनभने मलाई कविताहरु सरल लाग्छन् र त्यसमा धेरै शब्द हुने गर्दैन ।’, अलि मुख बङ्ग्याउँदै उनले भनिन्,‘अनि मलाई त्यो विधा सुहाउँछ किनभने म अल्छी छु ।’
आजभोलि उनी आफ्नो पितासँगै हालसालै मात्र बनेको उनीहरुको नयाँ दुई तल्ले घरमा बसाई सरेका छन् । पुरानो गाउँले घरभन्दा नयाँ घर पुग्न केही बेर हिड्नु पर्छ । गाउँ पुनःनिर्माण कार्यक्रमअन्तर्गत युको गाउँका अधिकांश घरहरु आजभोलि भत्काइएका छन् र त्यहाँ बस्दै आएका गाउँलेहरुलाई अन्यत्र बसाई बसालिएको छ । तर युको घरलाई भने स्रष्टाप्रतिको सम्मानस्वरुप संरक्षण गरिएको छ ।
युबारे लेख्नेहरुले उनका नाम अघि अनेकन बिल्ला झुण्ड्याउने गरेका छन्–महिला, किसान, अपाङ्ग आदि आदि । तर युलाई भने यस्ता कुनै बिल्ला पटक्कै मनपरेको छैन । उनी आफू पाठकले देखाउने प्रक्रियाप्रति निरपेक्ष रहने बताउँछिन् ।
‘कविता लेख्नु भनेको सबभन्दा पहिले आफैले आफैलाई सामना गर्नु हो । अरुको सामना गर्नु होइन ।’,उनले भनिन्,‘म आफूलाई अभिव्यक्त गर्न कविता लेख्छु । मेरो कविताप्रति कसले कस्तो प्रतिक्रिया दिने भन्ने कुरा अरुको विषय हो । त्यसमा मेरो केही भन्नु छैन ।’
पाठकहरुले पनि उनका कवितामाथि प्रतिक्रिया दिने गरेका छन् । ‘मसँग सुत्न आधाभन्दा बढी चीन नाँघ्दैछु’ कवितामा उनले लेखेका छन्,
 
‘म तिमीसँग सुत्नु र तिमी मसँग सुत्नुमा थोरै भिन्नता छ ।
दुई शरीरबीचको एकताभन्दा त्यो केही होइन
जसले एउटा शक्ति सृजना गर्दछ
जहाँबाट सुन्दर पुष्प फुल्छन् ।’
 
यो पङ्क्तिको विषयमा अनलाइनमा व्यापक छलफल भयो । केहीले यसलाई कामुक भनी खेदो खने भने अरुले यसलाई अरुसँग ‘सुत्न’ पहल गर्ने एक जना महिलाको महिलावादी आवाजको रुपमा विश्लेषण लिए ।
‘समकालीन चिनियाँ कविताहरुबीच उनका कविताहरु सम्मानित महिलाहरुको हुलमा एक जना हत्यारालाई राख्नु जस्तै हो ।’, ‘पोएट्री’ पत्रिकाका सम्पादक ल्युले भने ।,‘सबैजना राम्रा लुगा लगाउँछन्, श्रृंगार गर्छन्, अत्तर छर्कन्छन् र तिनमा पाठकले एक बँुद पनि पसिना देख्दैनन् । तर युका कविताहरु भने पुरै धुँवा–धुलोले भरिएका हुन्छन् । उनका कवितामा हिलो र पहिरो भेटाइँछ । उनका शब्दहरुमा रगतका टाटा छन् ।’

सन् १९७६ मा हेङतियनमा जन्मेकी युले माध्यामिक तहको पढाई कहिल्यै पुरा गरिनन् । १९ वर्षको उमेरमा उनको एक जना निर्माण मजदुरसँग विवाह भयो । उनको पति उनी भन्दा १२ वर्षले जेठो थिए । युका आमाबुवाले त्यो विवाह मिलाएका थिए । आमाबुवालाई युले आफ्नो हेरचाह आफैले गर्न सक्दिनन् भन्ने निकै चिन्ता थियो । २७ वर्षको उमेरमा उनले कविता कोर्न थालिन् ।
‘मेरो मनोबल उँचो राख्न मैले केही न केही त गर्नै पथ्र्यो ।’, युले भनिन्,‘हरेक दिन म एक वा दुई वटा कविता लेख्ने गर्थें र कविता लेखिसकेपछि मलाई आफूले केही गरेजस्तो भान हुन्थ्यो ।’
उनका अधिकांश लेखन उनको गाउँको जीवनमा आधारित छन् । आफ्नो पिताले हुर्काएको गहुँको विषयमा लेखिएको एउटा कवितामा यु लेख्छिन्ः ‘तिम्रो खुशी गहुँको खैरो बोक्रा हो भने तिम्रो पीडा गहँुको सेतो भित्री तत्व हो ।’
उनी प्रेम र त्यसका घुम्तीहरुबारे पनि कविताहरु लेखिरहन्छिन् । ‘म एक्लो छैन’ (‘आइ एम नट एलोन’) कवितामा उनले लेखेकी छिन्ः
‘मलाई विश्वास छ, ऊसँग अरुप्रति जे छ, त्यो प्रेम हो ।
मेरो लागि मात्र हो, ऊसँग प्रेम नभएको ।’
चलचित्र निर्माता फानले भने,‘उनका कवितामा तपाई उनले आफ्नो चाहना दबाएर बसेको महसुस गर्नु हुन्छ । उनीसँग चाहना छन् तर उनी डराउँछिन् । उनले वास्तविक प्रेम कहिल्यै महसुस गर्न पाइनन् ।’
युले आफ्नो विवाह असफल भएको स्वीकारेकी छिन् । ‘म निकै सानी थिएँ र मैले त्यसलाई बुझेकी पनि थिइनँ ।’,उनले भनिन्,‘मैले उनलाई माया गरिनँ । उनले मलाई माया गरेनन् । हाम्रो स्वभाव निकै अमिल्दो थियो ।’
वर्षौसम्म उनले सम्बन्धविच्छेद गर्न चाहिन् । तर उनका श्रीमान मानेनन् । उनका श्रीमान अधिकांश समय घरभन्दा बाहिर एक जना आप्रवासी मजदुरको रुपमा काम गर्थे । उनी प्रायशः घर फर्कदैनथे ।
गएको साल युले आफ्नो किताबको रोयल्टीवापत झण्डै ९० हजार अमेरिकी डलर पाइन् । त्यस पछि उनले आफ्नो निम्ति एउटा घर किनिन् र आफ्नो श्रीमानसँग सम्बन्धविच्छेद गरिन् । उनीहरुका छोरा हुपे प्रान्तको राजधानी उहानको एउटा विश्वविद्यालयमा पढिरहेका छन् ।
‘शुरुमा मेरी आमा खुशी थिइनन् तर पछि सबै कुरा ठीक भयो किनभने उनले मलाई खुशी देखिन् ।’,युले भनिन् । उनीहरुको सम्बन्धविच्छेद भएको केही समय पछि उनकी आमाको निधन भयो ।
सम्बन्धविच्छेद पछिको जीवनबारे युले भनिन्,‘यो वास्तवमा मेरो सबभन्दा खुशीको समय हो । मलाई निकै राम्रो लागिरहेको छ ।’ तर उनी आफूप्रति आलोचनात्मक टिप्पणी पनि गर्छिन् ।
‘म वास्तवमै नराम्ररी छु ।’, उनले भनिन्,‘त्यसकारण मैले कोही पे्रमी भेटाइनँ सायद ।’
तर उनले भेटाइनँ–कविता ।
‘कविता के हो?’
‘मुनलाइट’ कविता सङ्ग्रहको उपसंहारमा उनले लेखेकी छिन्ः
‘मलाई थाहा छैन र मलाई भन्न आउँदैन । जब मेरो हृदय गर्जिन्छ, कविता एउटा नयाँ बच्चा जस्तै जन्मन्छ । कविता एक जना लङ्गडो जस्तै हो जो यो असन्तुलित संसारमा असन्तुलित पाराले हिंड्दछ । कविता लेख्दा मात्र म आफूलाई पूर्ण भएको महसुस गर्छु, शान्ति पाएको र सन्तुष्ट भएको भान गर्छु ।’
स्रोतः न्युयोर्क टाइम्स(२०१७ अगस्ट १८)
अनुवादः नीरज
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *