भर्खरै :

होजे मुजिका : गुरिल्लादेखि राष्ट्रपतिसम्म

  • जेष्ठ ५, २०८२
  • पाब्लो मेरिग्वेत
  • विचार
होजे मुजिका : गुरिल्लादेखि राष्ट्रपतिसम्म

प्रारम्भिक जीवन
उनी जन्मे सन् १९३५ मे २० को दिन । ल्याटिन अमेरिकी देश उरुग्वेको राजधानी सहर मोन्टेभिडियोमा । २० औँ शताब्दीमा युरोपबाट बसाइँ सर्नेहरूको लर्को लागेको थियो रियो दे ला प्लेतामा । उनका पुर्खा त्यो भन्दा अगाडि १९ औँ शताब्दीमै त्यहाँ पुगेका थिए । उनकी आमा उत्तर इटालीबाट बसाइँ सरेको परिवारकी छोरी थिइन् । उनी अर्थात् होजे ‘पेपे’ अल्बर्टो मुजिका कोर्दानो ।
मुजिका एउटा सरकारी पाठशालामा पढे । उनले हाइस्कूलको पढाइ पनि पूरा गर्न सकेनन् । त्यसैले विश्वविद्यालय जान सकेनन् । लगत्तै उनलाई राजनीतिक गतिविधिले तान्यो । सानै उमेरमा उनी ‘राष्ट्रिय पार्टी’ नामक दलमा सामेल भए । यो उरुग्वेको दक्षिणपन्थी दल थियो । लगत्तै उरुग्वेमा सन् १९५९ मा सम्पन्न क्युवाली क्रान्तिको हावा पस्यो । त्यससँग दाँज्दा मुजिकालाई आफ्नो दलको विचार प्रतिक्रियावादी लाग्यो । यसैकारण, सन् १९६२ मा उनले ‘राष्ट्रिय पार्टी’ परित्याग गरे र स्थापना गरे । एउटा समाजवादी पार्टी – ‘लोकप्रिय सङ्घ’ ।


सशस्त्र सङ्घर्ष
केही वर्षपछि ल्याटिन अमेरिकाभरि नै वामपन्थी सशस्त्र सङ्घर्षको लहर छायो । यही मेलोमा मुजिका ‘राष्ट्रिय मुक्ति आन्दोलन’ (तुपामारोस) मा संलग्न भए । यो सङ्गठनले सहरकेन्द्रित गुरिल्ला सङ्घर्ष चलाइरहेको थियो । राष्ट्रिय क्रान्ति नै यसको लक्ष्य थियो । मुजिका यस्तै गतिविधिहरूमा सक्रिय हुन थाले । पुलिसले उनलाई छापामार लडाकु करार गरेपछि उनी भूमिगत भए र गाउँले क्षेत्रमा चलाइरहेको गतिविधि बन्द गरे ।
त्यसबेला उरुग्वेमा पचेको आरेको सरकार थियो । त्यसले वामपन्थी समूहहरूमाथि ठुलो दमन गर्दै थियो । जहाँ दमन त्यहाँ प्रतिरोध भने झैँ तुपामारोसको गतिविधि झन् चर्किन थाल्यो । सरकारी सेनासँग भएका विभिन्न भिडन्तहरूमा मुजिकाले ६ पल्ट गोली खाए । विभिन्न गुरिल्ला अपरेसनमा संलग्न भएपछि पेपे मुजिकालाई ४ पल्ट सरकारले पक्राउ ग¥यो । २ पल्ट उनी जेल तोडेर भागेका थिए । जेल तोडेको त्यो कथा उरुग्वेमा मात्र होइन ल्याटिन अमेरिकाभरि चर्चित छ । जेल तोड्नका लागि गरिएको तयारी, चलाखी र सङ्गठन शैलीका कारण त्यो कथाले चर्चा कमायो ।
१३ वर्ष एकान्तबासको सजायफेरि पनि उनी पक्राउ परे । यसपालि उनलाई १३ वर्षसम्म कैद गरियो सन् १९७२ देखि १९८५ सम्म । कारागारमा उनलाई चरम यातना दिइयो, दुव्र्यवहार गरियो । ल्याटिन अमेरिकाका क्रान्तिकारीहरूले यस्तो सासना निधारमै लेखेर ल्याएका थिए । ‘राष्ट्रिय सरकार’ ले उनलाई ‘बन्धक’ घोषणा ग¥यो । गुरिल्ला सङ्घर्ष गरिरहेका क्रान्तिकारीहरूलाई सरकारले धम्की दियो† गतिविधि बन्द गर, नत्र तिमीहरूको नेतालाई मारिदिन्छौँ भन्यो ।

वर्षौँपछि त्यसबेलाको एकान्तिक जीवनलाई सम्झिँदै उनले भने, “एकान्तबास बिताएका ती वर्षहरूले मलाई सके सबैभन्दा महत्वपूर्ण पाठ सिकाए । मैले सबथोक नयाँ ढङ्गले सोच्नुपर्ने भयो । बौलाहटबाट बच्नका लागि मैले आफूभित्रै नियाल्न सिकेँ । कैदी छँदा झन्डै ७ वर्ष मैले किताबबिना गुजारेँ । योभन्दा पनि सानो कोठा थियो । तिनीहरूले मलाई एउटा छाउनीदेखि अर्को छाउनी लगिरहे । त्यसपछि अरुलाई दोष दिने, आफैसित भुत्भुताइरहने लत लाग्यो मलाई । यो एकप्रकारको आत्मरक्षाजस्तै थियो । अवस्थै त्यस्तो थियो । सुद्धिबुद्धि जोगाउने अनौठो काइदा थियो त्यो । तर, पछि त्यो मेरो स्वभाव बन्यो† बानी बन्यो ।”
रिहाइ र ‘आम मोर्चा’
देशमा प्रजातन्त्र पुनः स्थापना भयो । कैयन् राजनीतिक बन्दीहरू रिहा भए । मुजिका पनि रिहा भए सन् १९८५ मा । क्रान्तिकारी सङ्घर्ष चलाउने प्रयास गरिसकेका होजे मुजिकाले अब प्रजातान्त्रिक व्यवस्थाभित्र रहेर अघि बढ्ने निधो गरे । उनले नौलो राजनीतिक आन्दोलन चलाए । त्यसलाई ‘जनसहभागिता आन्दोलन’ (एमपीपी) भनियो । उनी त्यसको ‘आम मोर्चा’ मा सामेल भए । यो एउटा गठबन्धन थियो । यसमा वामप

न्थीका साथै राष्ट्रवादी पार्टी पनि सहभागी थिए । यिनीहरू एकै गठबन्धनमार्फत निर्वाचनमा भाग लिन्थे । सन् १९९४ मा मुजिका देशको संसद् पदमा विजयी भए । सन् १९९९ मा उनलाई सिनेटको अध्यक्ष नियुक्त गरियो । उरुग्वेका जनतासँग उनको घनिष्ट सम्बन्ध थियो । जनता उनलाई एक भरपर्दो राजनेता मान्थे किनभने उनी भ्रष्टाचारबाट टाढै बस्थे ।
सन् २००५ मा ‘आम मोर्चा’ राष्ट्रपतिको पदमा विजयी भयो । ताबारे भाजक्वेज त्यसका अगुवा थिए । त्यसबेलासम्म मुजिका पनि ‘आम मोर्चा’ का अत्यन्त महत्वपूर्ण नेता बनिसकेका थिए । भाजक्वेजले उनलाई कृषि, पशुपालन तथा मत्स्यपालन मन्त्रीमा नियुक्त गरे । यही अवधिमा जनतासँग प्रस्ट, सरल र गहकिलो संवाद गर्नसक्ने उनको खुबीले उरुग्वेको राजनीतिमा महत्व पायो । मुजिका असाध्यै आकर्षक राजनीतिज्ञ बने ।
उरुग्वेका शिष्ट राष्ट्रपति
अनेकथरी राजनीतिक खुबीले बिस्तारै मुजिकालाई राष्ट्रपतिको उम्मेदवार बनाउँदै लगे । खासगरी ‘आम मोर्चा’ भित्र र उरुग्वे–अर्जेन्टिना जस्ता सरकार–सरकारबिच हुने विवाद–बहसमा मध्यस्थता गर्न उनलाई यिनै खुबीले साथ दिइरहे । सन् २००९ नोभेम्बर २२ को निर्वाचनमा मुजिकाले पहिलो चरणमै प्रतिद्वन्द्वी लुइ अल्बर्टो लेसेलेलाई ५२ प्रतिशत मतान्तरले पराजित गरे । सन् २०१० को मार्च १ गते उनले उरुग्वेको नवनिर्वाचित राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरे । टुँडिखेलमा उनका समर्थक तथा शुभेच्छुकहरूको ताँती लागेको थियो त्यो दिन । उनी आफ्ना समर्थकहरूबिच शपथ खान चाहन्थे । भयो पनि त्यस्तै ।
लगत्तै मुजिका र उनकी जीवनसाथी लुसिया तोपोलान्स्कीको तस्बिर विश्वभरि फैलियो । (लुसिया आफै पनि चर्चित राजनीतिज्ञ थिइन् ।) उनीहरू दुवैले राष्ट्रपति निवासको विलासपूर्ण सेवा–सहुलियत लिन अस्वीकार गरे । उनीहरूले गाउँको आफ्नो साधारण घरमा गाईवस्तुसँगै जीवनयापन गर्ने निधो गरे । सरकार सञ्चालनको लागि उनीहरू पुरानो भोल्सवेगन गाडी चढेर राष्ट्रपति कार्यालय धाउँथे । धेरै पत्रकार र फिल्मकारहरूले उनको कथा र सदासयतामा चाख लिए । बिस्तारै तथाकथित ‘विश्वकै दरिद्र राष्ट्रपति’ बारे विभिन्न अन्तर्वार्ता र वृत्तचित्रहरू बन्न थाले ।
मुजिकाले जहिल्यै आफूलाई दरिद्र वा गरिब नभन्न कर गरिरहे । किनभने, दरिद्रता वा गरिबीलाई उनी अर्कै वस्तु ठान्थे । उनले भने, “विश्वको ध्यान केले खिच्छ ? म साधारण घरमा गुजारा चलाउँछु, म एउटा सानो थोत्रो कार चलाउँछु । के विशेष गुण यही हो ? त्यसो हो भने संसार बौलाह छ किनभने ऊ सामान्य कुरा देखेर चकित पर्छ । गरिब त्यही हो जो बढी चाहना गर्छ र केही किन्न सक्दैन । त्यस्ता मान्छे गरिब हुन् किनभने तिनीहरू कहिल्यै नटुङ्गिने दौडमा कुदिरहन्छन् । म राष्ट्रपति बनेपछि तिनीहरू यहाँ आए । तिनले यो सानो घरलाई हेरे । तिनीहरूले मेरो प्रशंसा गरे तर कहिल्यै मेरो जीवन अपनाएनन् ¤”
मुजिकाको सरकारले जनताका सेवासहुलियतमा सरकारी खर्च बढायो । गरिबी ह्वात्तै घट्यो । गरिबी दर १३ प्रतिशतबाट ७ प्रतिशतमा झ¥यो । कामदारहरूको न्यूनतम् ज्यालामा २५० प्रतिशत वृद्धि भयो । सामाजिक सेवाको क्षेत्रमा उनको सरकारले बेघर परिवारहरूलाई आवास दिलायो । यी यावत कामका लागि खर्च जुटाउन मुजिकाले आफ्नो तलबको ८७ प्रतिशत रकम सरकारी कोषमा दाखिला गरिरहे । देशका विभिन्न कम्पनीहरूले त्यसमा पैसा भरेर उनको काममा टेवा दिइरहे । सरकारी सम्पत्तिबाट पनि त्यसमा रकम थपियो ।
जनताको हकअधिकार बढाउने मामिलामा पनि उनले पाइला सारे । उनले प्रजननको अधिकार दिने, विवाहलाई जनताको लिङ्ग नहेरी नागरिक मिलनको रूपमा हेर्ने नीति अपनाए । रमाइलोका लागि गाजा उपयोग गर्न पाउने उनको प्रस्ताव भने विवादको घेरामा प¥यो ।
यो नीतिले लागुऔषध कारोबारीको शक्ति क्षीण हुने मुजिकाको तर्क थियो । उनले भने, “म लागुऔषधले भन्दा पनि लागुऔषध कारोबारबाट तर्सिन्छु । दमन गरे यो युद्ध हार्ने निश्चित छ । अहिल्यै सर्वत्र हारेको अवस्था छ ।”
उनले विगतमा राज्यले चलाउने गरेका थुनछेक, यातना र हत्यालाई मान्यता दिए । खासगरी सैन्य तानाशाहीको बेला (सन् १९७३–१९८५) दर्जनौँ वामपन्थी दलका नेता–कार्यकर्तामाथि यी ज्यादती गरिएको थियो । तिनीहरूमाथि न्याय हुनुपर्ने धेरै उरुग्वेलीहरूको माग थियो । यसरी मुजिकाले इतिहासको स्मृतिलाई बिउँताउने नीतिलाई समृद्ध र सबल बनाए । आज यो नीति उरुग्वे राज्यको एउटा महत्वपूर्ण विशेषता बन्न पुगेको छ ।
अन्तिम वर्षहरू
राष्ट्रपतिको कार्यकाल सकिएपछि मुजिका सिनेटरमा चुनिए । सो पदमा सन् २०१५–२० र सन् २०२०–२५ गरी दुईचोटि निर्वाचित भए । तर, सन् २०२० मा उनले कोभिड–१९ को महामारीका कारण सो पदबाट राजीनामा दिएका थिए । उनी पुनः सक्रिय राजनीतिमा आउने अनुमान चलिरहेको थियो । उनी पुनः कृषि तथा पशुपालन मन्त्री बन्ने हल्ला पनि चल्यो । तर, उनले त्यसमा रुचि देखाएनन् ।
सन् २०२४ मा उनले आफ्नो अन्न नलीमा क्यान्सर भएको बताए । सन् २०२५ मा उनले सङ्क्रमित कोषहरू शरीरको अन्य हिस्सामा पनि फैलेको बताए । त्यसैले उनले ‘टारेर नटर्ने (काल) लाई पर्खिरहेको’ बताए । यति हुदाहुँदै पनि उनले पछिल्लो निर्वाचनमा महत्वपूर्ण भूमिका खेले । त्यो निर्वाचनमा ‘आम मोर्चा’ ले पनि सरकार हत्यायो । लेसेले पौको दक्षिणपन्थी सरकारपछि यामान्दु ओर्सीको सरकार बन्यो । मुजिकाको लोकप्रियताकै कारण ओर्सीले निर्वाचन जितेका थिए । निर्वाचनको प्रचारप्रसारको क्रममा मुजिका ओर्सी र ‘आम मोर्चा’ को पक्षमा धेरै जुलुसहरूमा सहभागी भएका थिए ।
यही मे १३ को दिन मुजिका क्यान्सरका कारण बिते । इतिहासमा ‘आम मोर्चा’ का पहिचान बनेका उनले सारा समर्थकहरूलाई छोडेर गए । खासमा मुजिका उरुग्वेका नवउदारवादविरोधी राजनीतिक दलहरूको एकताका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतीक बनिरहे । उनका छोटा तर खस्रा भनाइलाई आज पनि प्राचीन ग्रन्थबाट निस्के जस्ता विवेक–वचन मान्ने चलन छ । उनका भनाइहरूमा उनको राजनीतिक निष्ठा र संवेदनशीलता झल्केको पाइन्छ ।
एउटा राजनीतिक जुलुसमा ‘आम मोर्चा’ का नेता–कार्यकर्तासामु उनले भनेका थिए, “म एउटा बुढो हुँ, डाँडापारि पुगिसकेको छु । तर, तपार्इँहरू यहाँ हुनुहुन्छ, यसैले खुसी छु किनभने मेरा पाखुराले बिदा लिएपछि तिनको ठाउँमा हजारौँ पाखुराले लाइमिली गर्नेछन् ।”
मुजिका उरुग्वेको इतिहासमा एक प्रतीक र किंवदन्ती बनेर बाँचिरहनेछन् । उनकै भनाइ अनुसार थोरैले मात्र अनुकरण गर्ने उदाहरण बन्नेछन् । यस अर्थमा मुजिकाले मर्नुभन्दा अगाडि नै एउटा विरोधाभाषपूर्ण सन्तोष व्यक्त गरे । संसारसामु एउटा अविश्वास प्रकट गरे । उनको सन्तोष र अविश्वास दुवै अबका दिनहरूमा थप जटिल बन्ने देखिन्छ । कुनै बेला छापामार लडाकु रहेका उनले टक्क अडिएर आफैलाई गहिराइमा गएर नियाल्न भने । उनले भनेका थिए, “तिमी बुढो हुनेछौ र तिम्रा छालाभरि चाउरी पर्नेछ । एक दिन तिमीले ऐना हेर्नेछौ । त्यो दिन तिमीले आफैलाई सोध्नुपर्नेछ – कतै तिमीले आफूभित्रको बच्चोलाई धोका त दिएनौ ?”
(स्रोत : एमआर अनलाइन । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *