भर्खरै :

“अर्काको प्राकृतिक स्रोत लुट्न संरा अमेरिकाले ‘अनन्त युद्ध’ चलाउँछ”

“अर्काको प्राकृतिक स्रोत लुट्न संरा अमेरिकाले ‘अनन्त युद्ध’ चलाउँछ”

तेहरान, मे १९ (सिन्ह्वा) । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले आइतबार यो भनाइ राख्नुभएको इरानको सरकारी समाचार संस्था ‘इरना’ ले जनाएको छ । अन्य देशको प्राकृतिक स्रोतसाधनका साथै मानव जनशक्तिमा लुटपाट मच्चाउन संरा अमेरिकाले विश्वभरि नै ‘अनन्त युद्ध’ सुरू गरेको उहाँले चर्चा गर्नुभयो ।
तेहरान संवाद फोरमको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पेजेस्कियानले पश्चिमा देशहरूले मध्यपूर्वमा द्वन्द्व भड्काएर आफूले तोकेको मूल्यमा यस भेगका देशहरूका स्रोतसाधन हत्याउन खोजेको बताउनुभयो । दुईदिने तेहरान संवाद फोरममा विश्वका विभिन्न देशका २०० प्रतिनिधिहरू सहभागी छन् । सहभागीमध्ये अधिकांशतः वरिष्ठ सरकारी अधिकारी तथा प्रतिष्ठित अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधि छन् । फोरममा मध्यपूर्व क्षेत्र तथा विश्वले सामना गरिरहेका चुनौतीहरूको चर्चा हुँदै छ ।
उद्घाटन समारोहमा विचार राख्दै राष्ट्रपति पेजेस्कियानले इरानसँग लुकाउनुपर्ने केही पनि नभएको र कुनै पनि हालतमा आफ्नो ‘शान्तिपूर्ण आणविक कार्यक्रम’ स्थगित नगर्ने बताउनुभयो ।
समारोहमा इरानी विदेशमन्त्री सइद अब्बास अराग्चीले इरान–अमेरिकाबिच चलिरहेको परोक्ष वार्ताबारे बोल्नुभयो । इरानले ‘अप्रसार सन्धिको परिधिभित्र रहेर पारदर्शी र सन्तुलित सम्झौता गर्न चाहेको र यो इरानको आणविक अधिकारप्रति पूर्ण सम्मानमा आधारित हुनुका साथै व्यवहारमै आर्थिक प्रतिबन्ध पूर्णतः हटाउने ग्यारेन्टी चाहेको’ विदेशमन्त्री अराग्चीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “इरान कूटनीतिक माध्यममा प्रतिबद्ध छ र हाम्रा जनतालाई सिधा तोकेर लगाइएको क्रूर र एकतर्फी प्रतिबन्ध वास्तवमै र मूर्त रूपमै हटाइने अपेक्षा गर्छ ।”
युरोपले इरानप्रति स्वतन्त्र दृष्टिकोण अपनाउँछ र सच्चा अठोट बनाउँछ भने इरान युरोपसँग नयाँ सिराबाट सम्बन्ध स्थापित गर्न सदा तयार रहेकोमा विदेशमन्त्री अराग्चीले जोड दिनुभयो ।
इरानी र अमेरिकी प्रतिनिधिहरूले ओमनको राजधानी मस्काट र इटलीको राजधानी रोममा तेहरानको आणविक कार्यक्रम तथा अमेरिकी प्रतिबन्ध फुकुवा गर्ने विषयमा चार चरणको परोक्ष वार्ता गरिसकेका छन् ।
यसबिच इरान र युरोपका इ–३ भनिने देश फ्रान्स, जर्मनी र बेलायतबिच टर्कीको राजधानी इस्ताबुलमा गत शुक्रबार उच्चस्तरीय वार्ता भएको थियो । सो बैठक इरान–अमेरिका परोक्ष वार्तामै केन्द्रित थियो । सन् २०२४ सेप्टेम्बर यता इरान र ई–३ बिच यसप्रकारको ६ चरण वार्ता भइसकेको छ । छलफलका विभिन्न विषयमध्ये तेहरानको आणविक कार्यक्रम तथा आर्थिक प्रतिबन्ध हटाउने मुद्दा पनि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *