भर्खरै :

भक्तपुरमा शिक्षासँगै सीप अभियान

भक्तपुरमा शिक्षासँगै सीप अभियान

भक्तपुर, ५ जेठ । अहिलेको शिक्षाले ज्ञानमात्र दियो, सीप दिएन, बेरोजगारमात्र बनायो, जागिरेमात्र बनायो, आत्मनिर्भर बनाएन भन्ने गुनासो छ । चियाचौतारी, सडकदेखि सदनसम्म यही विषयले प्राथमिकता पाएको छ ।
अहिलेको शिक्षाप्रति बढ्दो गुनासोलाई सम्बोधन गर्न भक्तपुरमा शिक्षासँगै सीप अभियान सुरु भएको छ । शिक्षा विकास तथा समन्वय एकाइले भक्तपुरका चारवटै नगरपालिकामा यो अभियान सुरु गरेको जनाएको छ ।
एकाइ प्रमुख कमला ज्ञवालीले विद्यालय र शिक्षालय बेरोजगार उत्पादन केन्द्रमा बदलिएको भन्दै त्यसलाई मेट्नको लागि शिक्षासँगै सीप अभियानको थालनी गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग जोड्ने, श्रमलाई उत्पादनसँग जोड्ने, उत्पादनलाई बजारसँग जोड्ने र बजारलाई रोजगारीसँग जोड्ने अभियान हो ।” भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकासँग समन्वय गरी शिक्षामा सीप अभियानलाई जोडेको उहाँले बताउनुभयो ।
चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयले यस वर्षदेखि शिक्षामा सीप अभियानअन्तर्गत कपाल काट्ने तालिम सञ्चालन गर्न लागेको छ ।
आठ कक्षा पास गरेका कम्तीमा २० जना बच्चालाई ३९० घण्टाको सीटीईभीटीको तालिम कोर्समा आधारित तालिम दिने र विद्यालयमा एउटा ल्याब अर्थात् कपाल काट्ने सैलुन स्थापना गर्ने एकाइ प्रमुखको भनाइ छ ।
विद्यालयले कुनै निश्चित दिन तोकेर विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकसमेतले विद्यालयमै कपाल काट्ने प्रबन्ध गर्न सक्यौँ भने यसले सफलता पाउँछ ।
स्थानीय सरकार, सबैभन्दा नजिकको सरकार, कार्यान्वयन गर्न सक्ने सरकार, बजेट बन्दोबस्त गर्न सक्ने सरकार, स्थानीय सरकारमार्फत नै एक विद्यालय एक उद्यम कार्यक्रम गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *