भर्खरै :

व्यापार समस्या समाधानका लागि बङ्लादेशले भारतसँग छलफल गर्ने

व्यापार समस्या समाधानका लागि बङ्लादेशले भारतसँग छलफल गर्ने

ढाका, १९ मई (एएनआई) । भारतले स्थल बन्दरगाहमार्फत बङ्लादेशी निर्यातमा प्रतिबन्ध लगाएपछि देशको अन्तरिम सरकारले भारतसँगको सबै व्यापारिक समस्याहरू समाधान गर्न चाहेको बताएको छ ।
नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको बङ्लादेशको अन्तरिम सरकारका सल्लाहकारले बङ्लादेश भारतसँग सबै विषयमा छलफल गर्न चाहेको बताए ।
हालै भारतले बङ्लादेशबाट सडकमार्फत तयारी पोसाक (रेडीमेड गार्मेन्ट, आरएमजी) फलफूल÷फलफूलको स्वाद र कार्बोनेटेड पेय पदार्थ, बेक गरिएका सामान, स्न्याक्स, चिप्स र कन्फेक्सनरी, कपास र कपासको धागोको अवशेष, प्लास्टिक र पीभीसी तयारी सामान र काठको फर्निचरको आयातमा प्रतिबन्ध लगाएको थियो ।
यसअघि बङ्लादेशले भारतबाट स्थलमार्गबाट धागो आयात गर्न प्रतिबन्ध लगाएको थियो । भारतले बङ्लादेशबाट तेस्रो देशहरूमा सामान निर्यात गर्ने ट्रान्स–सिपमेन्ट सुविधा पनि रद्द गरेको थियो । यसरी दुई छिमेकी देशबिच पारस्परिक व्यापार प्रतिबन्धहरू लगाइँदै छ ।
भारतले लगाएको पछिल्लो प्रतिबन्धबारे बङ्लादेश अन्तरिम सरकारका वाणिज्य सल्लाहकार शेख बशिरुद्दीनले पत्रकारहरूलाई भन्नुभयो, “हामीलाई भारतको कदमबारे औपचारिकरूपमा केही थाहा छैन । हामीलाई औपचारिकरूपमा थाहा भएपछि मात्र हामी कारबाही गर्न सक्नेछौँ । कुनै समस्या उत्पन्न भएमा दुवै पक्षले छलफल गरेर समाधान गर्ने प्रयास गर्नेछन् । हामीले सामाजिक सञ्जाल र समाचारबाट थाहा पाएका छौँ कि उनीहरू (भारत) ले स्थल बन्दरगाहहरू, विशेषगरी अखौरा र दावकी बन्दरगाहहरू र केही सीमा क्षेत्रका सम्बन्धमा केही निर्णय लिएका छन् । हाम्रो मुख्य लक्ष्य प्रतिस्पर्धात्मकता हासिल गर्नु हो । यो दुवै देशका लागि लाभदायक विषय हो ।”
नयाँ निर्देशिकाअनुसार बङ्लादेशबाट सबै प्रकारका तयारी पोशाक अब नव सेवा र कोलकाता समुद्री बन्दरगाहहरूमार्फत मात्र आयात गर्न सकिन्छ । स्थल बन्दरगाहहरूमार्फत प्रवेश अब अनुमति छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *