भर्खरै :

लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण सम्पदाको मौलिकता संरक्षणको एक अर्को उदाहरण

लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण सम्पदाको मौलिकता संरक्षणको एक अर्को उदाहरण

भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै छ । स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग गरी मौलिक शैलीमै सम्पदा पुनःनिर्माण र जीर्णोेद्धार गर्नेमा भक्तपुर नगरपालिका अग्रपङ्क्तिमा छ । २०७२ सालको भूकम्पबाट तहसनहस भएका सयौँ सम्पदाहरू विदेशीको सहयोगविना आफ्नै बलबुत्तामा पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको छ । हरेक सम्पदाको मौलिकता संरक्षण गर्न सक्नु भक्तपुर नगरपालिकाको विशेषता बनेको छ । यस्तै महत्वपूर्ण सम्पदामध्ये एक हो— लक्ष्मीनरसिंह मन्दिर ।
पुनः निर्माण सम्पन्न लक्ष्मीनरसिंह मन्दिरको उद्घाटन जेठ ६ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) बाट हुँदै छ । २०७८ मङ्सिर २७ गते शिलान्यास भएको उक्त मन्दिरको पुनःनिर्माणपश्चात् भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको तीन वर्ष पूरा भएको दिनको अवसर पारी एक भव्य कार्यक्रमबिच उक्त मन्दिर उद्घाटन हुने भक्तपुर नगरपालिकाले जनाएको छ ।
२०७९ सालको स्थानीय निर्वाचनपश्चात् भक्तपुर नगरपालिकामा जेठ ६ गते निर्वाचित जनप्रतिनिधिहरूले सपथग्रहण गर्नुभएको थियो । उक्त दिनलाई हरेक वर्ष नगरपालिकाले महत्वपूर्ण दिनको रूपमा लिई विभिन्न कार्यक्रमहरू सम्पन्न गर्दै आएको छ । निर्वाचन घोषणापत्रमा उल्लेखित कार्यहरू एक–एक गरी पूरा गर्दै नगरपालिकाले हरेक वर्ष एक एक वटा महत्वपूर्ण कार्य सम्पन्न गरेको सार्वजनिक गर्र्दै आएको छ । पहिलो वर्ष २०८० सालमा ख्वप अस्पतालको नयाँ भवन उद्घाटन र दोस्रो वर्ष २०८१ सालमा भाज्या पुखु उद्घाटन सम्पन्न ग¥यो भने २०८२ सालमा लक्ष्मीनरसिंह मन्दिर उद्घाटन गर्ने भएको छ ।
२०७२ सालको भूकम्पपूर्वको भन्दा निकै फरक मल्लकालीन मौलिक स्वरूपमै लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण गरिएको छ । स्थानीय जनताबिचबाट गठित उपभोक्ता समितिबाट लागत इस्टमेटभन्दा निकै कम खर्चमा उक्त मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ । मन्दिर पुनःनिर्माण सुरु भएदेखि स्वेच्छाले सहयोग गर्न चाहने महानुभावहरूबाट आर्थिक, जिन्सी वा श्रमदानको लागि पनि सार्वजनिक आह्वान गरिएको थियो । उपभोक्ता समितिका अनुसार मन्दिर पुनःनिर्माणको लागि कुल खर्च रु. ४ करोड ८३ लाख भएकोमा स्थानीय जनताबाट २२ लाख ६६ हजारभन्दा बढी नगद सहयोगस्वरूप प्राप्त भएको, ७५० जनाभन्दा बढीले श्रमदान गरेको र लाखौँ रुपैयाँ बराबरको जिन्सी सहयोग प्राप्त भएको छ । मन्दिरको कुल लागत इस्टमेट भने रु. ७ करोड ७७ लाख रहेको छ ।
सम्पदाको मौलिक स्वरूप बचाइराख्नु र सम्पदाप्रति जनताको अपनत्व कायम राख्नु नगरपालिकाको चुनौति थियो । स्थानीय स्रोत, साधन र सीपको अधिकत्तम प्रयोग गरी जनसहभागितामा सम्पदाको मौलिक शैलीको संरक्षण गर्न भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत हरेक सम्पदा पुनःनिर्माण र जीर्णोद्धार गर्दै आएको हो ।
भक्तपुर कला र संस्कृतिले भरिएको एक सांस्कृतिक नगर हो । यहाँका मूर्त र अमूर्त सम्पदाहरू स्वदेशमा मात्र होइन विदेशमा पनि उत्तिकै प्रख्यात छन् । भक्तपुर नगरपालिका ती मूर्त र अमूर्त सम्पदाहरू प्राचीन शैलीमा बचाइराख्न सचेततापूर्वक
काम गर्दै छ । विश्व सम्पदामा समेत सूचिकृत दरबार क्षेत्र र टौमढी क्षेत्रका सम्पदामा कुनै किसिमको समस्या नहोस् भनी भक्तपुर नपाले भवन निर्माण मापदण्डलाई कडाइका साथ लागु गर्दै आएको छ । लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण सम्पन्न भएकोले आन्तरिक र बाह्य पर्यटनका लागि टौमढी र गःहिटी क्षेत्रको आकर्षण थप बढ्नेछ ।
भक्तपुर पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै छ । नेपाल प्रवेश गर्ने विदेशी पर्यटकहरूमध्ये २५ प्रतिशतभन्दा बढीले भक्तपुर भ्रमण गर्ने गरेका छन् । पर्यटकहरूको थप आकर्षणका लागि भक्तपुर नगरपालिकाले पर्यटन क्षेत्रको सुधारका विभिन्न कार्यहरू गर्दै आएको छ । स्थानीय जनताको रोजगारीको अत्यन्त सम्भावना भएको क्षेत्र पनि हुँदा भक्तपुर नपाले त्यस क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै छ ।
लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माणलाई सम्पदा संरक्षण र पर्यटन क्षेत्रको विकासको लागि एक महत्वपूर्ण कदमको रूपमा पनि लिन सकिन्छ । उक्त मन्दिरको उद्घाटन कार्यमा सम्पूर्ण जनताको सहभागिताको लागि नगरपालिकाले जनतामा आह्वान पनि गरिसकेको छ ।
उद्घाटनपूर्व स्थानीय जनता भक्तपुर दरबार क्षेत्रमा भेला भई त्यहाँबाट ¥यालीसहित क्वाछेँ, टौमढी हुँदै लक्ष्मीनरसिंह मन्दिरको उद्घाटन हुनेछ । सोही अवसरमा उक्त मन्दिरको सम्पूर्ण विवरण समेटिएको ‘लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण — २०८२’ पुस्तकको विमोचन पनि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँबाट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *