भर्खरै :

काँक्राबारीमा अवैध प्लटिङ : ‘के न्याय मरेकै हो ?’

  • जेष्ठ ८, २०८२
  • वसन्त खत्री
  • विचार

सूर्यविनायक नगरपालिका वडा नं ९, काँक्राबारीस्थित घिसिङ डाँडामा ‘निक भुजिकीक हाउजिङ कम्पनी’ ले दैनिक २५ देखि २७ वटासम्म डोजर चलाएर सामुदायिक भित्री वनको क्षेत्रसमेत अतिक्रमण गरी निजी प्लटिङ गर्दै छ । वन क्षेत्रमा रहेको स्थानीय जनताले प्रयोग गर्दै आएको खानेपानीको मूलसमेत बिगारेर प्लटिङ सुरू गरिएको महिनौँ भयो । स्थानीय जनताको सहमतिबिना गरिएको प्लटिङबाट व्यक्तिको जग्गासमेत जबरजस्ती खनेर बसोबास रहेको घरसमेत स्थानान्तरण गर्न बाध्य पारियो ।
उक्त हाउजिङ कम्पनीले डोजर चलाउँदा परम्परादेखि रहँदै आएको खोल्साखोल्सी पुरिनुका साथै पानीको निकाससमेत थुनिएर वर्षामा आउने भेलले स्थानीयको घरबारी बगाउने खतरा बढ्दो छ । घिसिङ टोलमा आयोजना सञ्चालन गर्दा घिसिङ टोलमुनि रहेको लामाटोल अति जोखिममा परेको छ ।
आयोजना सञ्चालन गर्न कम्पनीले काठमाडौँ उपत्यका विकास प्राधिकरण अनामनगर र स्थानीय तहबाट स्वीकृति लिनुपर्ने हुन्छ । तर, कम्पनीले कसैको स्वीकृति नलिई अवैध ढङ्गले आयोजना सञ्चालन ग¥यो । सम्बन्धित निकायले टेबुलमुनिबाट ‘घुस’ खाएको जनताको अनुमान छ ।
स्थानीय जनताको स्पष्ट माग पर्ती जग्गा मिच्न नपाइने, वनक्षेत्र अतिक्रमण गर्न नहुने र खानेपानीको मूल बिगार्न नहुने हो । वनक्षेत्र र पर्ती जग्गा मिचेर अवैध प्लटिङ आयोजना सञ्चालन गरिएपछि उक्त कदमविरूद्ध लड्न स्थानीय जनताले सङ्घर्ष समिति गठन गरे । सङ्घर्ष समितिले अवैध आयोजना तत्काल रोक्का गरी वन–जङ्ल र प्राकृतिक पर्यावरण बिगार्ने काममा संलग्न हाउजिङ कम्पनीका सञ्चालकहरूलाई कारबाही गर्न स्थानीयवासीको हस्ताक्षरसहित २०८१ चैत २१ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई निवेदन दियो । सो को बोधार्थ सूर्यविनायक नगरपालिका, सूर्यविनायक नगरपालिका ९ नं वडा कार्यालय र डिभिजन वन कार्यालय भक्तपुरलाई दिइयो । तर, लामो समयसम्म सम्बन्धित निकायहरूले समस्या समाधान गर्नेतर्फ चासो देखाएनन् । पत्रपत्रिका, सामाजिक सञ्जाललगायतमा व्यापक प्रचार तथा विरोध भएपछि बल्ल जिल्ला प्रशासन कार्यालय भक्तपुरको ध्यानाकर्षण भयो ।
सङ्घर्ष समितिले निवेदन दिएको एक महिनापछि २०८२ वैशाख २१ गते प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरू तथा सम्बन्धित विषयगत निकायका जिल्लास्थित कार्यालय प्रमुखको टोलीले अवैध प्लटिङ क्षेत्रमा
स्थलगत अनुगमन ग¥यो । स्थलगत अनुगमनमा सार्वजनिक पर्ती जग्गा मिचिएको देखिएपछि २०८२ वैशाख २४ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरले नापी कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय, काठमाडौँ उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय र सूर्यविनायक नगरपालिका, डिभिजन वन कार्यालयलाई विनास्वीकृति जग्गा प्लटिङ गरेको तथा वन तथा सार्वजनिक जग्गा अतिक्रमण गरेको विषयमा ७ दिनभित्र तथ्यगत विवरण उपलब्ध गराउन पत्राचार ग¥यो । नापी कार्यालय र डिभिजन वन कार्यालयले कुलो, पर्ती, बाटोसमेतका ६–७–०–० रोपनी सरकारी एवम् सार्वजनिक प्रकृतिको जग्गा र २२–५–०–० रोपनी क्षेत्रफल सामुदायिक वन अतिक्रमण गरी डोजर लगाएको प्रतिवेदन तयार गरे ।
यस्तो प्रतिवेदन प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयले तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने थियो । तर, २०८२ जेठ ५ गते सोमबार सर्वदलीय बैठकको नाममा सो अवैध आयोजना सञ्चालन गर्ने कम्पनीलाई उन्मुक्ति दिइएको स्थानीय जनताबिच चर्चा छ । निर्णयमा जग्गा प्लटिङको तल्लोपट्टि रहको बस्तीमा जोखिम न्यूनीकरणका उपाय अपनाएर स्थानीय बासिन्दालाई आश्वस्त पार्न सुझाइयो । सोको अनुगमन गर्न अवैध प्लटिङ भएको सदर गर्ने सूर्यविनायक नगरपालिकाका प्रशासकीय अधिकृत, वडा नं ९ का वडाध्यक्ष, जिल्ला आयुक्तको कार्यालय, डिभिजन वन कार्यालय, काँक्राबारी भित्री वन उपभोक्ता समूह र अवैध प्लटिङकै पक्षमा रहेका स्थानीयवासीलाई जिम्मा दिइयो । यसमा सङ्घर्ष समिति र पीडित स्थानीयवासी विश्वस्त छैनन् ।
उक्त निर्णयपछि कम्पनीले जेठ ५ गतेदेखि पुनः डोजर चलाएर काम सुरू गरेको छ । कम्पनीले केही स्थानीयलाई पैसा दिएर रेखदेखको जिम्मा दिएको छ भने केहीलाई मौन बस्न पैसा खुवाएको आशङ्का गरिएको छ । यसरी कम्पनीले अवैध प्लटिङ सुरू गर्न मोटो रकम खर्च गरी स्थानीय तहदेखि सबै निकायमा सेटिङ मिलाएको स्थानीयको गुनासो छ । स्थानीय जनताले शासक दलका प्रभावशाली नेताहरू नै काँक्राबारीको अवैध प्लटिङमा संलग्न भएको हुँदा कारबाहीको प्रक्रिया अगाडि बढ्न नसकेको आशङ्का व्यक्त गरेका छन् ।
‘निक भुजिकीक हाउजिङ कम्पनी’ ले आयोजनाको विरोध गर्ने स्थानीयविरूद्ध केही गुन्डा पनि परिचालन गरेको जनताको गुनासो छ । आयोजनाको विरोध सुरू भएपछि सङ्घर्ष समितिका पदाधिकारीहरूलाई लोभ देखाउने र धम्काउनेसमेत काम भइरहेको बताइन्छ । केही दिनअगाडि अवैध प्लटिङ आयोजनाका एक व्यक्तिले सङ्घर्ष समितिका प्रेमबहादुर तामाङ, बुद्ध लामा, शङ्कर लामालगायतलाई ‘घरमै आएर खुकुरी हान्ने’ समेतको धम्की दिए । सर्वसाधारणको ज्यानको समेत खतरा बढ्यो । जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकाय निरिहजस्तै देखिए । जनता भन्दै छन्, ‘के न्याय मरेकै हो ?’
२०८२ जेठ ७ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *