भर्खरै :

सांसद सुवालको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग प्रश्न

सरकारले नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिकहरूलाई के कस्तो अध्ययन अनुसन्धानमा संलग्न गराएको छ ? नेपालमा पाइने संसारकै उत्कृष्ट फलफूल कुन कुन हुन् ? वर्षको के कति फलफूलको नर्सरी उत्पादन र किसानलाई त्यसको बिरुवा वितरण भइरहेको छ ? यो वितरण कुन कुन जिल्लामा भइरहेको छ ? नेपालमा बर्सेनि के कति फलफूल कुन कुन देशबाट आयात भइरहेको छ ?
कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारीको जवाफ :
राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान तथा राष्ट्रिय पशुविज्ञान अनुसन्धान प्रतिष्ठानमातहत काठमाडौँमा १७ वटा राष्ट्रिय विषयगत अनुसन्धान केन्द्र नेसनल डिसिप्लिनरी रिसर्च सेन्टरहरू कृषि विज्ञानको क्षेत्रमा विद्यमान ज्ञान तथा सिद्धान्तहरूको परीक्षण तथा अनुसन्धान गर्छन् ।
नेपालमा पाइने संसारकै उत्कृष्ट फलफूलहरूमा ओखर, स्याउ, सुन्तला, अमला, नासपाती, आलुबखडा, स्थानीय माल्पु केरा, आँपलगायत हुन् । (नेपालमा पाइने २२ जातको सुन्तला पनि संसारमा उत्कृष्ट फलफूल हो भने लप्सी नेपालको रैथाने फल हो । यो विषय मन्त्रीको जवाफमा आएन ।)
चालु आवको अन्त्यसम्ममा तरकारी तथा फलफूलका ५ लाख बेर्ना, बिरुवा नर्सरी तथा स्रोतकेन्द्रहरूलाई उपलब्ध गराउने लक्ष्य रहेकोमा चैत मसान्तसम्ममा १५ लाख ६९२ बेर्ना, बिरुवा बिक्री वितरण गरिसकिएको र बाँकी जेठ–असारसम्ममा वितरण हुनेछ ।
नेपालमा स्याउ, ओखर, मेवा, अङ्गुर, नरिवल, अनारजस्ता फलफूल बालीहरू भारत, चीनलगायतका तेस्रो मुलुकहरूबाट आउने गर्दछन् ।
पुरक प्रश्न : नेपालका कृषि वैज्ञानिकहरू के कति छन् ? सरकारले कृषि वैज्ञानिकहरूलाई नेपालमा सेवा नगराई विदेश पठाइरहेको सत्य हो कि होइन ?
कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारीको जवाफ : नेपाल कृषि अनुसन्धान परिषद्मा रहनुभएका वैज्ञानिकहरू केही अध्ययनको सिलसिलामा बाहिर जानुभएको छ । १०–१२ जना वैज्ञानिकहरू बाहिर नै हुनुहुन्छ । लामो समय भयो फर्कनुभएको छैन । अरू सङ्ख्या अहिले यकिन भन्न सक्ने तथ्याङ्क छैन ।
कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारीसँग प्रश्न :
धान, चामल, गहुँ, मकै, स्याउ, लसुन, आलुमा नेपाल आत्मनिर्भर भएको हो कि होइन ? चालु आवमा कृषि वस्तुको आयात–निर्यातको अवस्था के कस्तो छ ? कुन–कुन कृषि उत्पादनमा नेपाल आत्मनिर्भर छ ? स्वदेशमा पर्याप्त उत्पादन हुनसक्ने कृषि वस्तु कुन–कुन हुन् ? कास्कीको हेम्जाको आलुबाली लगाइने जमिनमा कङ्क्रिटको जङ्ल ठड्याएर कृषि उत्पादन नबढ्ने जनगुनासो छ नि ? हरेक पालिकामा खेतीपाती कम हुने क्षेत्रमा मात्रै जनताको लागि सरकारले आवासको विकास गरेको भए कृषि भूमि कङ्क्रिटको जङ्लमा परिणत नहुने र देशको सन्तुलित विकास पनि हुने जनताको सुझाव छ, यसबारे मन्त्रीको भनाइ के छ ?
कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारीसँग प्रश्न : हालसम्म प्रश्नमा उल्लेख भएका बालीनालीमा आत्मनिर्भरता हासिल भएको छैन । खाद्यवस्तुमा आयात–निर्यात भई नै रहन्छ । नेपाल सरकारले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने नीति अवलम्बन गरेको छ ।
कुखुराको मासु, अण्डा, दूधमा नेपाल आत्मनिर्भर रहेको छ । नेपालमा पर्याप्त मात्रामा उत्पादन हुनसक्ने बाली वस्तुमा माछा, मासु, दूध, अण्डा, धान, गहुँ, मकै, दलहन, तरकारी र फलफूल बाली आदि पर्दछन् ।
आव २०८०/८१ मा खाद्यान्न बालीको क्षेत्रफल ३,२९२ हजार हेक्टरमा ११,९२४ हजार मेट्रिक टन दलहन बाली २५८ हजार हेक्टरमा २७७ हजार मेट्रिक टन, फलफूल १,३९,००० हेक्टरमा १,५९,००० मेट्रिक टन तथा तरकारी बालीमा ३,१२,००० हेक्टरमा ४४,४०० मेट्रिकटन उत्पादन छ ।
खाद्यान्न बालीमा व्यापारघाटा ४७.७ अर्ब छ । तरकारी बाली ३१.५२ अर्बको आयात भएको छ भने निर्यात ४०.८२ करोड देखिन्छ । फलफूल बालीको आयात १८.२ अर्ब र निर्यात १.७ करोड देखिन्छ ।
पुरक प्रश्न : दुग्ध किसानले नेपालका डेरीहरूबाट ५ अर्बभन्दा बढी भुक्तानी नपाएको सत्य हो कि होइन ? सरकारी डेरीले पनि दुग्ध किसानको भुक्तानी किन रोकेको होला ? नेपालका डेरीहरूसँग के कति दुग्ध मौज्दात रहेको छ ? ती दुग्ध उत्पादन उपभोगको लागि जनताको बीचमा पठाउनेतर्फ मन्त्रीले डेरीहरूलाई निर्देशन दिनुभएको छ कि छैन ?
जवाफ : हामीले किसानसँग उधारोमा दूध लिएर पैसा तिर्न बाँकी रहेको सत्य हो ।
(नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले २०८२ जेठ ५ गते प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग सोध्नुभएको प्रश्न र मन्त्री अधिकारीको जवाफको सार–सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *