भर्खरै :

संरा अमेरिकाको आँखा हिन्द–चीनमा

संरा अमेरिकाको आँखा हिन्द–चीनमा

काठमाडौँ, ७ जेठ । रुसविरुद्ध थप आर्थिक प्रतिबन्ध लगाउन युरोपेली सङ्घ र बेलायतले गरेको जोडबललाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेका छन् । उनले युक्रेनमा सैन्य सहायता बढाउने युरोपेली नेतृत्वको कदमप्रति विमति जनाएका छन् ।
गत सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग लामो फोनवार्ता गरेपछि ट्रम्पले पत्रकारहरूसँग वासिङटनले मस्कोविरुद्ध थप प्रतिबन्ध लगाउन नचाहेको बताए । युक्रेन द्वन्द्वको समाधान गर्ने दिशामा प्रगति हुनसक्ने ‘सम्भावना हुनाले’ प्रतिबन्ध नथप्ने उनले स्पष्ट पारे ।
यस सन्दर्भमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति ट्रम्पको विदेश नीति तथा प्राथमिकताको प्रतिरक्षा गरे । मङ्गलबार अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिमा तीन घण्टा लामो मन्तव्य राख्दै रुबियोले ट्रम्पको बचाउ गरेका हुन् । समितिको बैठकमा सिनेट सदस्यहरूले उनलाई विभिन्न प्रश्न गरेका थिए ।
डेलावर राज्यका डेमोक्र्याट सिनेटर क्रिस कुन्सले भने, “युक्रेनमा जे हुन्छ, त्यसले हिन्द–प्रशान्तमा हुने घटनाको पृष्ठभूमि तयार गर्नेछ ।” रुसी विजयले चीनको साहस बढ्ने र थप दबाबपूर्ण कदम चाल्ने उनले औँल्याए ।
जवाफमा विदेशमन्त्री रुबियोले भने, “युरोपको यस द्वन्द्वमा हामीले खर्च गर्ने प्रत्येक मिनेट र प्रत्येक डलरले हाम्रो
ध्यान र स्रोतसाधनलाई हिन्द–प्रशान्त क्षेत्रमा हुने त्यो भन्दा गम्भीर र प्रलयकारी टकरावबाट भड्काउँदै छ ।”
उनले भने, “यो द्वन्द्व सैन्य उपायले जित्न सकिन्न । यसमा हामीले खर्चिने प्रत्येक मिनेट, प्रत्येक स्रोतसाधन भनेको विश्वस्तरमा हिन्द–प्रशान्त क्षेत्रमा अझ गम्भीर टकराव रोक्नका लागि खर्च नगरिएको पैसा र समय हो ।”
ट्रम्पले दोस्रो कार्यकाल सम्हाले यता चीन–अमेरिकाबिच द्वन्द्व चर्केको छ । दुवै देशले आफ्नो सैन्य र आर्थिक प्रभाव बढाउँदै छन् ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले यो वर्ष फेब्रुअरीमा नै चीन अमेरिकाको सबैभन्दा ठुलो रक्षा प्राथमिकता हो भनी घोषणा गरेका थिए ।
यसअघि वासिङटनले आफ्नो सामरिक ध्यान एसियातर्फ मोड्ने योजनाको थोरै सङ्केत गरेको थियो । यसको लागि ट्रम्पले युरोपेली सङघलाई आफ्नो रक्षाको जिम्मा आफै लिन र किभलाई भावी सुरक्षा ग्यारेन्टी पनि आफै दिन भन्दै आएका छन् ।
पुटिन–ट्रम्प फोनवार्तालाई दुवै नेताले उत्पादक भने । ट्रम्पले द्वन्द्व टुङ्ग्याउन पुटिन इच्छुक रहेको विश्वास लिएको र थप आर्थिक दबाबले अमेरिकी मध्यस्थता बिथोल्न सक्ने पनि बताए । यसबिच मस्कोलाई दबाबमा राख्न र किभलाई सघाउन युरोपेली सङ्घ र बेलायतले रुसविरुद्ध आर्थिक प्रतिबन्ध थप चर्काएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *