भर्खरै :

भक्तपुर बचतमा संशोधित सहकारी ऐन, २०७४ सम्बन्धी अभिमुखीकरण सम्पन्न

भक्तपुर बचतमा संशोधित सहकारी ऐन, २०७४ सम्बन्धी अभिमुखीकरण सम्पन्न

भक्तपुर, ७ जेठ । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको आयोजनामा संशोधित सहकारी ऐन, २०७४ तथा नेपाल राष्ट्र बैङ्कको सहकारी मापदण्ड तथा निर्देशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम मङ्लबार सम्पन्न भयो ।
कार्यक्रममा वाग्मती प्रदेश बचत तथा ऋण सहकारी सङ्घ (प्रोप्स्कून)का व्यवस्थापक केशवप्रसाद दाहालले उक्त विषयमा आफ्नो प्रस्तुतीकरण राख्नुभएको थियो । उहाँले संशोधित दफाको बारेमा स्पष्ट धारणा राख्दै नेपाल राष्ट्र बैङ्क र नियामक निकायबाट गरेका नीति, नियम, ऐन, कानुनलाई अक्षरसः पालना गर्नुपर्ने अन्यथा तोकिएको जरिवाना र नवीकरणमा असर पुग्ने बताउनुभयो । उहाँले यो ऐनअनुसार आफ्नो सीमाभित्र नबस्ने सहकारीहरू सकिने र सीमाभित्र बस्ने मात्र बाँकी रहने स्पष्ट पार्नुभयो । ऐन संशोधनका मुख्य व्यवस्थाहरूबारे आफ्नो विचार राख्दै सहकारीलाई कडाइ गर्ने नगर्ने कुरा प्राधिकरणमा रहेका पदाधिकारीहरूमा भरपर्ने उहाँले बताउनुभयो ।
उहाँले राष्ट्र बैङ्क र नियामक निकायहरूबाट आएका नीति नियम, ऐन, कानुनलाई पालना गर्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।
प्रस्तुतीकरणपश्चात् संशोधित ऐनको अन्तरक्रियामा आफ्नो विचार राख्दै संस्थाका सल्लाहकार रत्नप्रसाद प्रजापतिले बहुसङ्ख्यक जनताको छरिएर रहेका साना पुँजीलाई सङ्कलन गरी बनेका सहकारीहरू बन्द गरी बैङ्कलाई पोस्ने काम भएका बताउनुभयो । उहाँले बैङ्कमा कारोबार गर्न नजान्ने निरक्षर जनताका लागि सहकारी सहज र सरल रहेको स्पष्ट पार्दै राज्यले केही ठग सहकारीका कारण देशैभरका सबै सहकारीलाई मर्का पर्ने काम गर्न नहुने बताउनुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले आ.व. २०८२/०८३ को बजेट यसै संशोधित ऐनका आधारमा बनाउनुपर्ने भएकोले यो कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । प्रस्तुतीकरणमाथि टिप्पणी गर्दै उहाँले संशोधित ऐनले सहकारीलाई बन्ध्याकरण गर्न खोजेको बताउनुभयो । उहाँले यसअनुसार जाने हो भने अब लोकतन्त्र व्यवस्थाभित्र सहकारी सदस्यहरूको स्वायत्तता गुम्ने निश्चित भएको बताउनुभयो । सहकारीलाई सहज र कम नोक्सानी हुने गरी नियामक निकायले हेर्नुपर्नेमा नियन्त्रणमुखी बढी देखिएको उहाँको तर्क छ ।
संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद कुसी, सचिव जगनाथ प्रजापति, सहसचिव तारादेवी धन्छा, सदस्य विष्णुकुमार प्रजापति, व्यवस्थापक सत्यनारायण साँयजूलगायतले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *