भर्खरै :

कूटनीतिज्ञहरूतर्फ गोली हानेकोमा इजरायलको निन्दा

कूटनीतिज्ञहरूतर्फ गोली हानेकोमा इजरायलको निन्दा

काठमाडौँ, मे २२ । प्यालेस्टिनको पश्चिम किनारास्थित जेनिन शरणार्थी शिविरनजिकै भ्रमणमा गएको कूटनीतिज्ञहरूको टोलीतर्फ इजरायली सेनाले गोली हानेपछि विश्वका दर्जनौँ सरकारहरूले इजरायलको निन्दा गरेका छन् । कूटनीतिज्ञहरूको टोलीमा युरोपेली सङ्घ, बेलायत, रुस, चीनलगायत विभिन्न देशका प्रतिनिधिहरू थिए ।
इजरायली सेनाले त्यसलाई विदेशी कूटनीतिहरू तय भएको मार्गबाट अन्यत्र मोडिएपछि ‘चेतावनी स्वरूप गोली हानिएको’ बताएको छ ।
इजरायली विदेश मन्त्रालयले भन्यो, “(इजरायली) सिपाहीहरूले उहाँहरूलाई पर राख्नका लागि चेतावनी स्वरूप गोली हानेका हुन् ।”
घटनामा कोही घाइते भएन । यद्यपि, संसारभरिबाट सो घटनामा खेद प्रकट गरिएको छ ।
जोर्डनका विदेश मन्त्रालयले सो घटनालाई ‘अन्तर्राष्ट्रिय कानुन तथा मानव अधिकार कानुनको स्पष्ट उल्लङ्घन’ भन्दै सम्पूर्ण कूटनीतिक आचारसंहिताविरुद्ध ‘अपराध’ भनेको छ । मन्त्रालयका प्रवक्ताले घटनालाई ‘सन् १९६१ को कूटनीतिकसम्बन्धी अभियतना अभिसन्धिको ठाडो उल्लङ्घन’ भने ।
कतारी मन्त्रालयले कूटनीतिक प्रमण्डलविरुद्ध गोली चलाएकोमा ‘इजरायली कब्जाकारी सेनाको कडा निन्दा’ गरेको छ ।
त्यस्तै, टर्कीको विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै ‘कडा शब्दमा भत्र्सना’ गरको छ । यो घटनालाई टर्कीले इजरायलका अघिल्ला कार्यकै सिलसिलाको रूपमा अथ्र्याएको छ ।
इजिप्टको विदेश मन्त्रालयले ‘इजरायली पक्षले सम्पूर्ण कूटनीतिक मर्यादा उल्लङ्घन गरेको हुँदा आवश्यक स्पस्टीकरण दिनुपर्नेमा जोड’ दिएको छ ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नेले भने, “इजरायली राजदूतलाई बोलाएर विदेश मामिला मन्त्रीसँग भेट्न र घटनाको विवरण दिन भनिएको छ । घटनाको पूर्ण छानबिन हुनेछ र तत्कालै उचित विवरण आउनेछ भन्ने हाम्रो अपेक्षा छ । यो एकदम अस्वीकार्य छ । सो क्षेत्रमा भइरहेका धेरै अस्वीकार्य घटनामध्ये यो एउटा हो ।”
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने, “यस्ता घटना पुनः नदोहोरिऊन् भनी यसबारे पूर्ण छानबिन सुरु होस् भन्ने हाम्रो माग छ ।”
त्यसैगरी, बेलायती संसद्का उपसचिव हामिस फाकोनरले भने, “जेनिनमा आज जे भयो त्यो अस्वीकार्य छ । म त्यो घटनामा प्रभावित भएका हाम्रा कूटनीतिज्ञहरूसँग कुराकानी गर्नेछु । सर्वसाधारणको सदैव रक्षा गर्नुपर्छ र कूटनीतिज्ञहरूलाई तिनको काम गर्न दिनुपर्छ । घटनाको पूर्ण छानबिन हुनुपर्छ र दोषीहरूलाई जवाफदेही बनाउनुपर्छ ।”
आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनले भने, “इजरायली सेनाले जेनिन सहरमा कूटनीतिज्ञहरूको समूहमाथि गरेको गोली प्रहारबाट म अत्यन्त आत्तिएको र त्रसित छु । धन्न कोही मारिएन, कोही घाइते भएन ।
म यो आक्रामक, धम्कीपूर्ण र हिंसात्मक कार्यको कडा निन्दा गर्छु । यो सामान्यतया व्यवहार गर्ने तरिका होइन र हुनु हुँदैन ।”
इटालीका विदेशमन्त्री एन्टोनियो नाजानीले भने, “हामी इजरायल सरकारसँग तत्कालै घटनाबारे प्रस्ट्याउन माग गर्छौँ । कूटनीतिज्ञहरूविरुद्ध डरधम्की प्रयोग गर्नु अस्वीकार्य छ ।”
यसबाहेक नेदरल्यान्ड, फ्रान्स, फिनल्यान्ड, डेनमार्क, बेल्जियम, नर्वे, पोर्चुगल, जर्मनी, स्लोभानिया, पोर्चुगल, जर्मनी, उरुग्वे र मेक्सिकोले पनि घटनाको भत्र्सना गर्दै तत्काल छानबिनको माग गरेका छन् । यीमध्ये कतिपय देशले आआफ्ना देशमा रहेका इजरायली राजदूतलाई बोलाएर सोधपुछ गरेका छन् भने कतिपय देशले वक्तव्य जारी गर्दै इजरायल सरकारविरुद्ध खेद प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *