भर्खरै :

ख्वप शैक्षिक संस्थाहरू नेमकिपाको राजनीतिक प्रतिबद्धताको फल

ख्वप शैक्षिक संस्थाहरू नेमकिपाको राजनीतिक प्रतिबद्धताको फल

भक्तपुर, ९ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ‘इन्भारोमेन्टल सोसियल एन्ड गभर्नान्स रिनोभेसन’ विषयक दुईदिने चौथो राष्ट्रिय सम्मेलन शुक्रबार सम्पन्न भयो ।
समापन समारोहका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव, कलेजका संस्थापक अध्यक्ष एवं सङ्घीय सांसद प्रेम सुवालले सम्मेलनको निचोड र निष्कर्ष नयाँ पुस्ताका विद्यार्थीहरूलाई उपयोगी र देशलाई मार्गनिर्देश हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीको राजनीतिक प्रतिबद्धताको फल ख्वप शैक्षिक संंस्थाहरू हुन् । यो शैक्षिक संस्थामा ७७ जिल्लाका ४४ हजार बढी विद्यार्थीहरूले फल चाख्न पाएका छन् ।”
भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालन गराउन नेपालको संविधान २०७२ अनुसार विधेयक संसद्मा दर्ता भई सांसदहरूलाई वितरण भइसकेको थियो । सरकार परिवर्तनसँगै सो विधेयक स्थगनमा छ । अहिले सरकारमा गएकाहरू संविधानमा स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गराउने प्रावधान नभएको बखेडा गर्दै छ । ग्रीस र रोममा नगर राज्यहरूले विश्वविद्यालय सुरु गरेका हुन् । प्रम र मन्त्रीहरू यो यथार्थ बुझ पचाउँदै ख्वप विश्वविद्यालय रोक्दै छन्, सांसद सुवालले भन्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, “अहिले राजतन्त्र पुनः स्थापना गर्नुपर्ने भनी केहीले सडक आन्दोलन गर्दै छन् । यो विषय विश्वविद्यालयका प्राध्यापकहरूको बहसको विषय हुनुपर्ने हो । समाज अगाडि बढ्छ । वर्तमान पुँजीवादी गणतन्त्रमा सङ्कट पार नलाग्ने हुँदा पार लगाउन समाजवादी गणतन्त्रतर्फ अगाडि बढ्ने हो । यो यथार्थबाट प्राध्यापकहरूको लेख प्रकाशन भइरहेको छैन ।”
काठमाडौँको वातावरण विश्वमा प्रदूषित भएको बरोबर सार्वजनिक भइरहेको छ । पुँजीवादले वातावरण, समाज, शासनलाई बिगार्छ । चुरे दोहन, नदीजन्य पदार्थको उत्खनन्, हरियो वन तस्करको धन केही उदाहरणमात्र हुन् । नाफा पाउने भए पुँजीपतिहरू झुन्डिन पनि तयार हुने पुरानो अनुभव हो, सांसद सुवालले भन्नुभयो ।
नेपालको झापादेखि कञ्चनपुर र काठमाडौँ उपत्यका तथा सुर्खेत उपत्यकासम्म डुब्ने प्वाल भएको र जमिन भासिने खतरा भएको भूगर्भशास्त्रीहरूको मत सार्वजनिक भएको चर्चा गर्दै सांसद सुवालले भन्नुभयो, “यी ठाउँमा भारी संरचनाहरू घर, भवन, सडक, पुल कुनै पनि बेला भासिने खतरा देखिएकोले देशको सन्तुलित विकास जरुरी छ । एउटा बस्ती वरिपरि कृषि र वातावरणको लागि पर्याप्त जङ्ल हुनु आवश्यक छ ।”
सांसद सुवालले भन्नुभयो, “ख्वप विश्वविद्यालय सञ्चालन भए यस्तो सम्मेलन हप्ता हप्तामा भइरहनेछ । यसको लागि विद्यार्थी र प्राध्यापक तयार भएर बस्नु जरूरी छ । विद्यालय र कलेजले सबै विद्यार्थीलाई समान अवसर दिएर शिक्षित र सचेत बनाउनु उपयुक्त हुनेछ ।
कार्यक्रमका सभापति, भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सम्मेलनबाट निस्केका महत्वपूर्ण निष्कर्षलाई सम्बन्धित निकायसम्म पु¥याउन पहल गरिने बताउँंदै भक्तपुर नगरपालिकाले संविधान र कानुनको परिधिभित्र रही भक्तपुरको विकास निर्माण कार्यलाई अगाडि बढाइरहेको बताउनुभयो ।
उहाँले सङ्घीयता कार्यान्वयनमा ८ वर्ष बितिसक्दा पनि नेपालमा सङ्घीयताको कार्यान्वयन सन्तोषजनक नभएको बताउँदै स्थानीय तहलाई दिइनुपर्ने बजेट अनुदानलाई सरकारले घटाउँदै लगेकोमा आपत्ति जनाउनुभयो ।
प्रमुख प्रजापतिले देशमा बहुदलीय व्यवस्था भए पनि दुईदलीय तानाशाही हाबी भइरहेको स्पष्ट पार्दै उहाँले शासन सत्ता चलाउनेहरूले इमानदारीपूर्वक काम नगर्दा जनतामा राजनीतिप्रति वितृष्णा जागेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका सदस्य सृजना सैंजूले ख्वप कलेजले देश सुहाउँदो विषयमा राष्ट्रिय सम्मेलन गरेको बताउँदै सम्मेलनको निष्कर्ष र उपलब्धिले राज्यलाई मार्गनिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेशसभा सदस्य सैंजूले भन्नुभयो, “सामाजिक न्याय, सुशासन र मानव प्रकृतिबिचको सुमधुर सम्बन्ध कायम गर्नको लागि समाजमा वर्गसङ्घर्ष अवश्यम्भावी छ । अनवीकरणीय ऊर्जाको विकल्प नवीकरणीय ऊर्जा हो, चीनले नवीकरणीय ऊर्जालाई राम्रोसँग उपयोग गरिरहेको छ ।”
“गाउँको उत्पादन सहरलाई वितरण गर्ने र सहरले गाउँलाई सेवा दिने नीतिअनुसार चीनले गरिरहेको कार्य अनुकरणीय छ”, उहाँले भन्नुभयो ।
प्रदेश सदस्य सैजूले भन्नुभयो, “नीति निर्माण गर्ने क्षेत्रमा भ्रष्ट व्यक्ति, बजेट निर्माणमा ठेकेदारहरुको बिगबिगी, मौद्रिक नीति बनाउने ठाउँमा भागबन्डा हुनु नै देश असफलताको कारक हो, समस्या नीति निर्माणमै देखिन्छ । सुशासनको निम्ति ‘थिङ्क ट्याङ्क’ निर्माण गर्ने कामको अगुवाइ ख्वप सर्कलका कलेजहरूले गर्नु जरुरी छ ।”
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले दुईदिने सम्मेलनमा विद्यार्थी, शिक्षकलगायत सबैको उत्साहजनक सहभागिता रहेको बताउँदै सम्मेलनमा अनुसन्धाताहरूबाट महत्वपूर्ण कार्यपत्रहरू प्रस्तुत भएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सुवालले सम्मेलनमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । चौथो राष्ट्रिय सम्मेलन संयोजक डा. राजकुमार प्रधानले धन्यवादज्ञापन मन्तव्य दिनुभयो । सम्मेलनमा प्रस्तुत ६१ वटा कार्यपत्रमध्ये अनुसन्धानकर्ता श्रेणा श्रेष्ठले प्रस्तुत गर्नुभएको कार्यपत्रलाई उत्कृष्ट कार्यपत्रको रूपमा सम्मानित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *