भर्खरै :

भक्तपुरमा बुद्धिचाल प्रतियोगिता सुरू बुद्धिचाल प्रतियोगितामा ८ वर्षदेखि ६८ वर्ष उमेर समूहको सहभागिता

भक्तपुरमा बुद्धिचाल प्रतियोगिता सुरू बुद्धिचाल प्रतियोगितामा ८ वर्षदेखि ६८ वर्ष उमेर समूहको सहभागिता

भक्तपुर, ९ जेठ । भक्तपुर युवा टीम गोल्मढीको आयोजनामा दुईदिने कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ बुद्धिचाल प्रतियोगिता शुक्रबारबाट महेश्वरी बैङ्क्वेट थुसाचामा सुरू भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्घाटनमा अन्तर्राष्ट्रिय आर्विटर तथा नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय सदस्य निरञ्जन प्रजापतिलाई चेस बोर्ड र गोटी हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा सांसद प्रेम सुवालले खेलकुद जीवनमा हार–जित अस्थायी भए पनि खेलकुदबाट प्राप्त हुने मित्रता सदाको लागि हुने बताउनुभयो ।
बुद्धिचाल खेल एक सङ्घर्षको प्रतीक भएको धारणा राख्दै सांसद सुवालले भन्नुभयो, “एक देशको अर्को देशसँग लडाइँको प्रतीकको रूपमा यो खेल विकास गरिएको हुनुपर्छ । लडाइँमा जसको गुप्तचरी बलियो हुन्छ, उसको जीत हुन्छ ।”
उहाँले भन्नुभयो, “यो पुँजीवादी समाजमा शोषक र शोषितवर्गको सङ्घर्ष भइरहेको छ । सङ्ख्यामा थोरै रहेका शोषकवर्गले धेरै सङ्ख्या भएका शोषितवर्गलाई शोषण गर्न छोडेको छैन । शोषितवर्ग राजनीतिक रूपले सचेत र सङ्ठित भएपछि शोषकवर्गको हार हुने हो ।”
“अहिले नयाँ बजेटको सञ्चार हुँदै छ । यतिबेला विदेशबाट विद्युतीय गाडीको आयात बढ्दो छ । नयाँ बजेटमा सवारी आयातको भन्सार कर बढ्ने स्वतः सिद्धजस्तै हो । पुँजीवादको निको नहुने रोग यही हो”, सांसद सुवालले भन्नुभयो ।
पुँजीवादको वर्तमान सङ्कटबाट निराश जनतालाई राजतन्त्र पुनःस्थापना भए सङ्कटबाट मुक्त हुने झूटा आश्वासन बाँडिँदै गरेको चर्चा गर्दै सांसद सुवालले भन्नुभयो, “राजतन्त्र पुनःस्थापना भएर वर्तमान सङ्कट समाधान हुँदैन† उत्पादनका मुख्य मुख्य साधन र सेवा राज्यको भएमात्र पुँजीवादी सङ्कट समाधान हुने हो ।”
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा २५ जिल्लाबाट पाँच महिलासहित १२७ जनाको सहभागिता रहेको थियो । भारतबाट ४ र इङ्ग्ल्यान्डबाट १ जना खेलाडी सहभागी रहेका छन् । बुद्धिचाल प्रतियोगितामा ८ वर्षदेखि ६८ वर्ष उमेर समूहको सहभागिता थियो ।
नेपालको पहिलो अन्तर्राष्ट्रिय आरविटर ज्ञानेन्द्र खाइजुले प्रतियोगिता शुक्रबार ५ राउन्ड हुने र बाँकी ४ राउन्ड शनिबार हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर युवा टीमले वर्षैपिच्छे खेलाडीहरूलाई ध्यानमा राखेर विभिन्न प्रतियोगिता गर्दै आएको जानकारी गराउँदै
प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिनुभएको थियो ।
भक्तपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष उपेन्द्र सुवालले नगरपालिकाद्वारा विभिन्न खेल प्रशिक्षण हुँदै आएको जानकारी गराउनुभएको थियो ।
भक्तपुर युवा टीमका अध्यक्ष केशव त्वानाबासुले सहभागी खेलाडीलाई शुभकामना दिँदै भविष्यमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई विजयी भएको हासिल गरेको हेर्न र सुन्न पाउने आशा लिएको बताउनुभयो ।
प्रतियोगिताको शनिबार समापन हुनेछ । समापनको प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाई हुनुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *