भर्खरै :

लोकेश्वर साकोसमा छलफल तथा धन्यवाद कार्यक्रम

लोकेश्वर साकोसमा छलफल तथा धन्यवाद कार्यक्रम

भक्तपुर, १० जेठ । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सहकारी ऐन, नियमावली तथा राष्ट्र बैङ्कको निर्देशन र मापदण्डसम्बन्धी छलफल नगरस्तरीय उत्कृष्ट व्यवसाय पुरस्कार तथा ६८ औँ सहकारी दिवसको प्रभातफेरी ¥यालीमा उत्कृष्ट सहभागिता पुरस्कारबाट सम्मानित भएको अवसरमा शनिबार धन्यवाद ज्ञापन कार्यक्रम गरियो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले सहकारी संस्था समाजको अभिन्न अङ्को रूपमा विकास भइरहेकोले सहकारीबाट सुव्यवस्थित एवं समुन्नत समाज निर्माणमा अहम् भूमिका खेल्नुपर्ने बताउनुभयो ।
भक्तपुरका विभिन्न आन्दोलनमध्ये सहकारी आन्दोलनको छुट्टै महत्व रहेको चर्चा गर्दै नेतृत्व तहमा महिला पुग्नुपर्ने उहाँले औँल्याउनुभयो ।
उहाँले समाजवादी देशमा सहकारी आन्दोलनको अन्तर्राष्ट्रिय घटनाक्रमहरूको चर्चा गर्दै लेनिन र माओ त्सेतुङबाट ती देशमा नेतृत्व तहले गरेका सङ्घर्षबाट हामीले सिक्नुपर्ने बताउनुभयो ।
उहाँले सहकारी र बैङ्कको भिन्नताबारे औँल्याउँदै बैङ्क पुँजीपतिवर्गको हितको लागि र सहकारी गरिब तथा शोषित पीडितवर्गको हितको लागि सञ्चालन हुनुपर्ने बताउनुभयो । समाजवादी राष्ट्र निर्माणको साथै समाजको व्यापक हितको लागि सहकारी संस्था सञ्चालन हुनुपर्ने कुरा पनि उहाँले स्पष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिका २ वडाका वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाबाट सञ्चालित विभिन्न विकास निर्माण एवं समुदाय हितका लागि भइरहेका गतिविधिहरूको बारेमा बताउनुभयो । उहाँले भक्तपुर नपा सबै क्षेत्रमा नमुना हुँदै आएकोले सहकारीलाई पनि नमुनाको रूपमा विकास गर्न सम्पूर्ण सहकारीकर्मीहरूमा अपिल गर्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी क्षेत्रमा आएका वर्तमान समस्या र संशोधित सहकारी ऐन, नियमावली तथा राष्ट्र बैङ्कबाट जारी निर्देशिका र मापडण्दसम्बन्धी जानकारी दिनुभएको थियो ।
भनपा वडा नं. २ का वडा सदस्य एवं संस्थाका संस्थापक अध्यक्ष श्यामसुन्दर मातांले नगरमा सहकारी क्षेत्रको सुधारका लागि पालिकाबाट नियमितरूपमा संस्थाहरूको अनुगमन गर्दै आएको र अनुगमनको क्रममा देखिएका चुनौती एवं सहकारी समस्याहरूको बारेमा जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष एवम् कार्यक्रमका सभापति राजन जतिले संस्थाले स्थापनाकालदेखि नै सदस्य केन्द्रित विभिन्न सीपमूलक तालिम, प्रशिक्षण कार्यक्रम तथा गोष्ठी, अध्ययन अवलोकन भ्रमण र सांस्कृतिक बाजागाजा तथा नृत्यको प्रशिक्षण, समुदाय लक्षित सचेतनामूलक विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले सरकार र राष्ट्र बैङ्कबाट जारी निर्देशन समुदायमा आधारित सहकारीको हितविपरीत रहेको औँल्याउँदै ऐन नियमावली संशोधनको माग गर्नुभयोे । संस्थाले विभिन्न सहकारीहरूमा देखिएको समस्याको मिहीन विश्लेषण गर्दै सदस्यहरूले सहकारी चिनेर समुदायमा आधारित सहकारीमा मात्र आफ्नो बचत जम्मा गर्नुपर्ने उहाँले बताउनुभयो ।
उक्त कार्यक्रममा संस्थाका सचिव राजु छुकां र प्रबन्धक प्रशान्त मानन्धरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *