भर्खरै :

भनपा ७ मा योजना छनोटको लागि रायसुझाव सङ्कलन

भनपा ७ मा योजना छनोटको लागि रायसुझाव सङ्कलन

भक्तपुर, १० जेठ । भनपा ७ वडा कार्यालयको आयोजनामा आर्थिक वर्ष २०८२÷०८३ को लागि वडा तथा नगरस्तरीय योजना छनोटको लागि वडावासीहरूको राय सुझाव सङ्कलन गर्न स्थानीयहरूको भेला गरियो ।
उक्त भेलामा भनपा ७ का वडाध्यक्ष उकेश कवांले भेलाबाट प्राप्त राय सुझावलाई प्राथमिकतामा राखी आगामी आर्थिक वर्षको बजेट निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । प्राप्त राय सुझावले नगरको सन्तुलित विकासमा टेवा पुग्ने विचार व्यक्त गर्दै उहाँले जनमुखी कार्यक्रम अगाडि सारिरहेको बताउनुभयो ।
भनपा ७ का पूर्ववडाध्यक्ष कृष्णगोविन्द खाइजुले नेमकिपाको घोषणापत्रअनुसार शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, कृषि, खेलकुद, विकास निर्माण र सरसफाइका साथै जनसरोकारको विषयमा सन्तोषजनक कार्य भइरहेको बताउनुभयो ।
भक्तपुरलाई आत्मनिर्भर बनाउने सोचका साथ नगरपालिका अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
भनपा ७ वडा सदस्य हरिरत्न गोर्खालीले आर्थिक वर्ष २०८१/०८२ को भनपा ७ को प्रगति विवरण प्रस्तुत गर्नुभयो भने वडा सदस्य रन्जना त्वाती र वडा सदस्य हेरा ख्याजुले पनि बोल्नुभयो ।
उक्त कार्यक्रममा लक्ष्मीभक्त कवां, विश्वराम कवां, रामेश्वर प्रजापति, बद्रीराम छुस्याबाग, विश्वराम दुमरुलगायतले आ–आफ्नो सुझाव दिनुभयो ।
उहाँहरूले उपचार पोखरी यथाशीघ्र सञ्चालन गर्नुपर्ने, खोला सुधार गर्नुपर्ने, खेल मैदानलाई स्तरोन्नति गर्नुपर्ने, टीम, क्लव, पुस्तकालय व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्ने, सार्वजनिक शौचालय व्यवस्थित गर्नुपर्ने, जिमखानामा सामग्री थप वा मर्मत गर्नुपर्ने सुझाव दिनुभएको थियो ।
त्यस्तै खोला करिडोर बनाउनुपर्ने, युवाहरूलाई विकृतिबाट टाढा गर्न खेलकुदमा ध्यान दिनुपर्ने, हनुमानघाटलाई पवित्र तीर्थस्थल, पर्यटकीय स्थल बनाउनुपर्ने, सुधारिएको शवदाह गृहमा नगरवासीलाई निःशुल्करूपमा प्रयोग गराउनुपर्ने, पर्यटकहरूको लागि होमस्टेको अवधारणा ल्याउनुपर्ने, छरपरस्त तारहरू व्यवस्थित गर्नुपर्ने, वधशाला व्यवस्थित गर्नुपर्ने, झौरबहीमा म्युजियम खोल्नुपर्ने र सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने आदि सुझाव दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *