सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
हालै एउटा तस्बिरले विश्व नै काम्यो । विद्यालयको कक्षा कोठामा आगोको लप्काबिच भागिरहेकी एक बालिकाको भिडियो संसारले हे¥यो ।
गाजा सहरमा रहेको यो विद्यालय खासमा अहिले धेरै मानिसको आश्रयस्थल थियो । इजरायलले त्यहाँ बमबारी ग¥यो । लगत्तै विद्यालय आगोको लप्काभित्र हरायो । मानिसहरू भागाभाग गर्न थाले । ती बालिका पनि भाग्न थालिन् ।
यो भिडियो ‘टेलिग्राम’ ले साझा गरेको हो । जम्मा ११ सेकेन्डको छ । भिडियोमा एक बच्ची दनदनी बलिरहेको कक्षाकोठाबाट भाग्न खोजिरहेको देख्न सकिन्छ । फाहमी अल–जार्गावी कन्या पाठशालामाथि इजरायलले घातक बमबारी गरेपछि यो दृश्य देखिएको थियो ।
स्वास्थ्य अधिकारीहरूले त्यहाँबाट ३१ मानिसका डढेका शरीरहरू निकालेको जनाएको छ । मध्यरातमा आक्रमण हुँदा मानिसहरू जिउँदै जेले । मर्नेहरूमा बालबच्चाहरू पनि छन् ।
यस घटनाका अन्य भिडियो फुटेज पनि बाहिर आएका छन् । भिडियोमा विद्यालयका रक्तरञ्जित भित्ता र भुइँमा डढेका म्याट देखिन्छन् । उद्दार टोलीहरू, आत्तिएका अभिभावकले बाँचेका पीडितहरूको खोजतलास गरेको देखिन्छ ।
रगतले भिजेको सर्टमा थिए अहमद सामी । उनी विस्थापित प्यालेस्टिनी हुन् । उनको परिवारले पनि सोही विद्यालयमा शरण लिएको थियो । इजरायली बमबारीमा घाइते भएको दर्जनौँ मानिसमा उनकी छोरी पनि परिन् ।
लुगा देखाउँदै उनले भनिन्, “यो मेरी सानी छोरीको रगत हो । उसलाई बोक्दा लागेको हो ।”
उनले भने, “तीन वर्षकी छे । टाउको थोरै फुटेको छ । हामी सामान्य असहाय नागरिक हौँ ।”
बशरा राजब विस्थापित प्यालेस्टिनी हुन् । उनी पनि त्यो आक्रमणमा बाँचिन् । मध्यरातमा अचानक मानिसहरू अत्ताल्लिएर रुन–चिच्याउन थालेपछि उनी जागेकी थिइन् ।
उनले भनिन्, “ठुलो विस्फोट भएपछि हामी जाग्यौँ । धेरै मान्छे मरिए । धेरै घाइते भए । केही मेरा नातेदार पनि छन् । तिनलाई ईश्वरले रक्षा गरून् ।”
इजरायली सेनाले पुरानै रटान दोहो¥याएको छ । जसलाई पुष्टि गर्ने कुनै प्रमाण छैन । उसले त्यो विद्यालय हमास र प्यालेस्टिनी इस्लामी जिहाद आन्दोलनको ‘मुख्यालय र निर्देशनालय’ थियो भन्यो ।
इजरायलको सुरक्षा निकाय शिन बेतले संयुक्त वक्तव्य जारी गरेको छ । वक्तव्यमा लेखिएको छ, “त्यो स्कूललाई आतङ्ककारीहरूले इजरायली सर्वसाधारण तथा सैनिक दस्ताविरुद्ध आतङ्ककारी आक्रमण गर्नको लागि गुप्तचरी रिपोर्ट जम्मा गर्न र योजना तय गर्न प्रयोग गर्दै थिए ।”
धेरै मानिस मारिएको भए पनि वक्तव्यमा इजरायलले ‘सर्वसाधारणलाई हानि नहोस् भनी जोखिम न्यूनीकरण’ का अनेक उपाय गरेको जनाइएको छ ।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी कानुनले नागरिक पूर्वाधारमाथि आक्रमण गर्न मनाही गरेको छ । विद्यालय पनि नागरिक पूर्वाधारमा पर्छ । तर, इजरायलले गाजाविरुद्ध आफ्नो १९ महिने युद्धमा लगातार विद्यालयहरूमा बमबारी गरेको छ । विस्थापित प्यालेस्टिनीहरूले यस्तै विद्यालयमा आश्रय लिँदै आएका छन् ।
“कुनै ठाउँ सुरक्षित छैन”
प्यालेस्टिनी शरणार्थीका निम्ति राष्ट्रसङ्घीय निकाय ‘उन्रा’ को वर्णन यस्तो छ – बमबारी लगत्तै आश्रय लिइरहेका मानिसहरू ‘सुरक्षाको खोजीमा भौतारिन थाले’ तर ‘कुनै पनि ठाउँ, कुनै इलाका आक्रमणबाट अछुतो छैन’ ।
‘उन्रा’ ले भन्यो, “धेरै परिवारले परित्यक्त, निर्माणाधीन वा क्षतविक्षत भवनहरूमा आश्रय लिएका छन् । बालबालिका तथा गर्भवती महिलालगायत बाँकी कतिपय मानिस खुला स्थानमा सुतिरहेका छन् ।”
सरसफाइको अवस्था पनि ‘नाजुक’ छ । सयौँ मानिसहरूले ‘एउटै चर्पी प्रयोग गर्ने हुनाले’ खतरा निम्तिन सक्ने ‘उन्रा’ ले चेतावनी दिएको छ ।
युद्ध सुरु भए यता इजरायली सेनाले कम्तीमा ५३ हजार प्यालेस्टिनीको हत्या गरेको छ । यसमा २८ हजार त महिला र बालिका मात्र छन् ।
साथै, कम्तीमा १४ सय स्वास्थ्यकर्मी मारिएका छन् भने राष्ट्रसङ्घका २८० जना कर्मचारी पनि मारिएका छन् । मारिने कर्मचारीका दृष्टिले राष्ट्रसङ्घको इतिहासमै यो सबैभन्दा ठुलो मृतक सङ्ख्या हो । यसका साथै कम्तीमा १८० जना पत्रकार मारिएका छन् । मारिने पत्रकारका दृष्टिले यो सन् १९९२ यताकै सबैभन्दा ठुलो मृतक सङ्ख्या हो । पत्रकार रक्षा समिति (सीपीजे) को निष्कर्ष हो यो ।
गत जनवरीमा प्रतिष्ठित मेडिकल जर्नल ‘ल्यान्सेट’ ले एउटा तथ्याङ्क दिएको थियो । मारिएकामध्ये झन्डै ४१ प्रतिशतको गणना नभएको ‘ल्यान्सेट’ ले जनाएको थियो ।
एक अध्ययनले इजरायलले हत्या गरेकामध्ये ५९.१ प्रतिशत महिला, बालबालिका र ६५ वर्ष माथिका मानिस छन् । मारिनेमध्ये के–कति प्यालेस्टिनी लडाकुहरू हुन् भन्ने कुनै हिसाब देखाइएको छैन ।
युद्धअघि गाजामा जति मानिस थिए, त्यसमध्ये २.९ प्रतिशत मानिस मारिएका छन् । यसको अर्थ ‘झन्डै ३५ जनामा १ जना’ गाजाबासी मारिएको अध्ययनको निष्कर्ष छ ।
स्रोत : मिडल इस्ट आइ
अनुवाद : सम्यक
Leave a Reply