भर्खरै :

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा पदक प्राप्त सफल खेलाडी, रेफ्रि तथा निर्णायकहरू सम्मानित

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा पदक प्राप्त सफल खेलाडी, रेफ्रि तथा निर्णायकहरू सम्मानित

भक्तपुर, १५ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा २०८१ सालमा भक्तपुर जिल्लाबाट विभिन्न खेल तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्न सफल खेलाडी, रेफ्रि तथा निर्णायकहरूलाई बिहीबार सम्मान कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा खेलाडी, रेफ्रि र निर्णायक गरी ६१ जनालाई सम्मान गरियो ।
कार्यक्रममा पार्टी अध्यक्ष बिजुक्छेँले पुँजीवादी व्यवस्थामा स्वस्थ प्रतिस्पर्धा नहुने हुँदा राम्रा र योग्य खेलाडीहरूलाई नियोजितरूपमै षड्यन्त्रको सिकार हुनसक्नेतर्फ खेलाडीहरू सचेत हुनुपर्ने बताउनुभयो ।
शासक दलहरूको अकर्मण्यताको कारण देशको गणतन्त्र ओझेलमा परिरहेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले गणतन्त्रको विकल्प राजतन्त्र नभई समाजवादी गणतन्त्र हो भन्नुभयो ।
राजनीतिक दलले इमानदारीपूर्वक देश र जनताको हितमा काम गर्न नसक्दा काठमाडौँमा स्वतन्त्र उम्मेदवारले जित्नु भनेको शासक दलप्रति जनताको असन्तुष्टि भएको उहाँले स्पष्ट पार्नुभयो ।
सङ्घ, प्रदेश र स्थानीय तहले खेलकुदलाई लगानीको रूपमा नभई नागरिकप्रतिको कर्तव्य र जिम्मेवारीको रूपमा लिई खेलकुद गतिविधिलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले खेलाडीहरूले पनि खेलकुदसँगै देशको समसामयिक विषयमा जानकारी हासिल गरी अगाडि बढ्नुपर्छ भन्नुभयो ।
खेलाडीहरू स्वस्थ र तन्दुरूस्त हुने हुँदा साधारण नागरिकको भन्दा बढी जिम्मेवारी खेलाडीहरूले बहन गर्नुपर्ने हुन्छ, उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नागरिकलाई स्वस्थ र अनुशासित बनाई खेलको माध्यमबाट राष्ट्रिय–अन्तर्राष्ट्रिय जगतमा ख्याती कमाउने अवसर प्रदान गर्न भक्तपुर नपाले खेलकुदलाई प्राथमिकता दिइरहेको बताउनुभयो ।
नेपालमा गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भए पनि पटक पटक सरकारमा पुगेका शासकहरूले जनताको हितमा काम गर्न नसक्दा जनतामा राजनीतिक दलप्रति वितृष्णा देखिएको बताउनुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले खेलकुदमार्फत भनपाले छुट्टै पहिचान स्थापित गर्न खोजिरहेको चर्चा गर्दै भनपाले आयोजना गरेका खेल गतिविधिले खेलाडीहरूको मनोबल बढेको छ भन्नुभयो ।
भनपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले खेलाडीहरूले उत्कृष्ट प्रदर्शन र सफलतालाई दिगो बनाउन निरन्तर खेलकुदमा सक्रिय हुनुपर्ने धारणा राख्दै निराशाको बिच आशाको किरण छर्न नेपालका खेलाडीहरू सफल छन् भन्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण रायले उत्कृष्ट खेलाडीहरूको घोषणा गर्नुभएको थियो भने भनपा वडा नं. ४ का वडा सदस्य उपेन्द्र सुवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *