विदेश अध्ययनबाट फर्केर नेपालको सेवा गर्ने भावना सबैसँग हुनु आवश्यक
- जेष्ठ ८, २०८३
पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमणसँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग स·ठन (सार्क)को प्रभावकारी सञ्चालनको विषय फेरि उत्थान भएको छ । सन् २०१६ को नोभेम्बर १५ र १६ मा पाकिस्तानको इस्लामावादमा हुने भनिएको उन्नाइसौं सार्क सम्मेलन भारतले युरी हमलाको बहानामा बहिष्कार गरेपछि स्थगित भएको थियो । त्यसयता सार्क गतिविधि लगभग ठप्प छ । पाकिस्तान आयोजक राष्ट्र र नेपाल हाल सार्कको अध्यक्ष देश भएको नाताले सोसम्बन्धी आवश्यक पहलको लागि पाकिस्तानी प्रधानमन्त्री नेपाल आएका हुन् । हरेक वर्ष हुनुपर्ने सार्क सम्मेलन झण्डै दुई वर्ष नहुँदा क्षेत्रीय स्तरमा हुनुपर्ने सहायताका काम लगभग शिथिल रह्यो ।
सार्कको शिथिलताको लागि मुख्य चुनौती भनेको भारतीय शासक वर्गको वडाराष्ट्र अहङ्कारवादी सोच नै हो । दक्षिण एसियाली देशहरूलाई आफ्नो ‘आँगन’ मान्ने भारतको ‘मुनरो चिन्तन’का कारण सार्कको संस्थागत विकास हुन नसकिरहेको खुला गोप्यता हो । ल्याटिन अमेरिकालाई आफ्नो आँगन मान्ने संरा अमेरिकाका तात्कालिक राष्ट्रपति मुनरोको दृष्टिकोणलाई ‘मुनरो चिन्तन’ भनिन्छ । मुनरो चिन्तन खासमा क्षेत्रीय प्रभुत्ववादी चिन्तन हो । भारत दक्षिण एसियाली देशहरूमा आफ्नो हालीमुहाली चलाउन चाहन्छ । त्यसकारण कुनै पनि अरु देशले दक्षिण एसियामा प्रभाव पार्न खोजे उसको सङ्कीर्ण फणा उठ्ने गरेको छ ।
पाकिस्तान, नेपाल र बङ्गलादेशको प्रस्तावमा सन् २००५ देखि चीन सार्कमा पर्यवेक्षक बनेको भारतलाई पटक्कै मन परेको थिएन । सार्कलाई चीनको प्रभावबाट टाढा राख्ने भारतीय प्रयास असफल भएपछि भारतीय शासक वर्ग सार्कलाई निष्क्रिय बनाउन उद्यत्त रहँदै आएको छ । सार्कलाई आफ्नो मातहतको संगठनको रुपमा अघि बढाउने उसको प्रयास चीनको उपस्थितिले सफल बनाउने थिएन । त्यसकारण सार्कलाई मौनतामा मारेर त्यसको स्थान आफैले लिने चालबाजीमा भारत लागेको छ । त्यसकारण आज सार्क लगभग कोमा अवस्थामा पुगेको छ ।
भौगोलिक रुपमा साना–ठूला, राजनीतिक रुपमा भिन्न बन्दोबस्त, आर्थिक रुपमा धनी–गरीब जेजस्ता भए पनि सार्कमा हरेक सदस्यको समान हैसियत छ । सार्कको मञ्चलाई आपसी हितको लागि सदस्य देशहरूले उपयोग गर्नसक्छन् । त्यहाँ कुनै पनि आधारमा हुने भेदभाव आफैमा सार्कको भावनाविपरीत हो । तर भारतलाई यो कुरा पाच्य भइरहेको छैन । विश्व रङ्गमञ्चमा भारतले सार्कलाई आफ्नो निरपेक्ष पक्षधर बनाउन खोजिरहेको छ । यो कदापि पनि अरु सार्क देशहरूका लागि पाच्य हुनसक्ने कुरा भएन । यो जटिल अवस्थामा भारत कुनै पनि बहानामा सार्कलाई शिथिल बनाउन लागिरहेको छ । सार्क कुनै पनि एउटा देश र विचारधाराको उत्पादन थिएन ।
सार्क स्थापनाको ऐतिहासिक पृष्ठभूमि र महत्व छ । आजको एकध्रुवीय विश्वमा सार्कजस्तो विकासशील देशहरूको क्षेत्रीय संगठनको महत्व अद्यापि छ । तर त्यो बहुराष्ट्रिय मञ्च कुनै एक देशको पेवा हुनुहुँदैन । सार्कलाई वास्तवमै दक्षिण एसियाली देशहरूको आपसी हितको मञ्चको रुपमा अघि बढाउनुपर्दछ । त्यसको निम्ति सबभन्दा पहिले भारतले आफ्नो प्रभुत्ववादी चिन्तन त्याग्नुपर्दछ र दक्षिण एसियाका सबै देशहरूलाई आफू समान व्यवहार गर्न जरुरी छ ।
पाकिस्तानी प्रधानमन्त्री अब्बासीको ‘प्रोएक्टिभ’ नेपाल भ्रमणका अरु धेरै आयाम होलान्, तर त्यसको एउटा विशेष महत्व भने सार्कलाई कुनै देशको प्रभुत्ववादी र एकाधिकारवादी चिन्तनबाट मुक्त गरी क्षेत्रीय एकताको प्रतीकको रुपमा प्रभावकारी परिचालन गर्ने पहलकदमी नै हो । सार्कलाई अघि बढाउने बाटोमा भारत साँढेको रुपमा गजधम्म परेर बस्नु कालान्तरमा भारतकै लागि नोक्सानी हुनसक्छ । भारतको कूटनीतिक वृत्तले यो विषयमा गम्भीरतापूर्वक विचार गर्न जरुरी छ ।
Leave a Reply