भर्खरै :

मुख्य कुरा श्रमिक वर्गका महिला

-सृजना सैंजू
मार्च ८ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । विश्वका सम्पूर्ण काम गरी खाने महिलाहरूको हक–हित संरक्षणको निम्ति आवाज बुलन्द गर्ने दिन ।  हामी भक्तपुरमा छौं । यहाँ नेमकिपाका अग्रजहरूको अगुवाइले गर्दा छात्राहरू पनि हरेक क्षेत्रमा अगाडि छन् । महिला पनि शैक्षिक, आर्थिक, राजनीतिक, समाजिक हिसाबले अगाडि बढिरहेका छन् । विद्यालयमा राम्रो पढ्ने छात्रहरूको सङ्ख्या बढ्दै छ । यो एक  किसिमको परिवर्तन हो । यो परिवर्तनको लागि नेमकिपाले खेलेको भूमिका हामी सबैले स्मरण गर्नु जरुरी छ ।  अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको १०८ वर्ष हुँदैछ । यद्यपि महिलाहरूमाथिको थिचोमिचो, अन्याय अत्याचार उस्तै छ । कुरीति, अन्धविश्वास कुसंस्कार विद्यमान छ । यो पूँजीवादको उपज हो ।
महिलाभित्र पनि दुई वर्ग हुन्छ ः एउटा शोषक वर्ग र अर्को शोसित वर्ग । चुसिएका वर्गको हक, अधिकारको सुनिश्चतता हुन सकेको छैन । हामी पत्रपत्रिकाहरूमा पढिरहेका छौं । छाउपडी प्रथा अझै हटेन, बोक्सी प्रथाजस्तो अन्धविश्वास कायमै छ, छोरीहरू बलात्कृत हुँदैछन् । भर्खरै एक जना १० वर्षीय बालिका बलात्कृत भएकी छिन्, शारीरिक र मानसिक रुपमा विछिप्त परेकी छिन्, चेलीबेटी बेचबिखन रोकिएको छैन, अझ राजनीतिक संरक्षण पाइरहेका छन् । दाइजो प्रथाको कारण छोरी जन्मेपछि वा नजन्मदै मार्ने गलत प्रवृत्ति बढेको छ । यो सम्पूर्ण पक्षको जिम्मेवारी आजसम्म सरकारमा गएका शासक दलहरूले लिनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । एनजीओ, आइएनजीओको पैसामा मोजमस्ती गर्ने शोषक महिलाहरू नारीवादको  नाममा नारीवादको खोल ओढेर पूँजीवादकै मलजल गरिरहेका छन् । तारे होटेलको बारमा बसेर नेपाली श्रमिक महिलाहरू, गरिब काम गरी खाने महिलाहरूको विषयमा कार्यपत्र तयार गरिरहेका छन् ।
महिलालाई शिक्षा, स्वास्थ्य रोजगारी दिनुको सट्टा सुन्दरी प्रतियोगिता, पश्चिमा नृत्य प्रतियोगिता गराउन उद्यत छन् । महिलाहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमै पछाडि धकेल्ने कुकृत्य गरिरहेका छन् । उनीहरू नै चिच्याइरहेका छन् कि महिलाहरूलाई लाभका पदमा राखी दिनुप¥यो । कोटा पुगेन । प्रतिशत पुगेन । महिलाहरूको राजनीतिक अधिकार सुनिश्चित भएन । राजनीतिक क्षेत्रमा महिलाहरूको सहभागिता मुख्य कुरा होइन । त्यो ठाउँमा श्रमिक वर्गका महिला पुगे कि पुगेनन् भन्ने महत्वपूर्ण हो । हामीले देख्यौं । नेपालमा राष्ट्रपति, सभामुख, मन्त्री, उपमेयर, जनप्रतिनिधिहरू महिला भए । आजसम्म ती शासक दलका महिलाहरूले देश र जनताको निम्ति कुनै कानुन बनाएनन् । श्रमिक महिलाहरूको जनजीवनमा कुनै परिवर्तन हुन सकेको छैन । त्यसकारण महिलाहरूमा वर्गीय चेतना दिन जरुरी छ । शिक्षा, रोजगार दिनुपर्छ, स्वावलम्बी र आत्मनिर्भर बनाउनुपर्छ । क्षमता अभिवृद्धि गरी देशको लागि सक्षम जनशक्ति निर्माण गर्नुपर्छ । यसको अभ्यास भक्तपुरमा भइरहेकोमा हामी गौरवान्वित छौं ।
त्यसैगरी महिला साक्षरता, शिक्षा, रोजगारीको तालिम र आफ्नै गाउँ, सहर र जिल्लामा महिलाहरूलाई रोजगारीको सुनिश्चितता नै महिला अधिकारको जग हुनेछ । जबरजस्ती विवाह र घरेलु हिंसाको विरोधमा सचेतता कार्यक्रम गर्नु आवश्यक छ । महिला हिंसाविरोधी कानुनलाई व्यवहारमा लागू गर्न सङ्घर्ष गर्नु आवश्यक छ । बोक्सी, छाउपडी, दाइजोलाई गैरकानुनी घोषणा गरी त्यसमा संलग्न मानिसहरूलाई कडाभन्दा कडा दण्ड दिनुपर्छ । बलात्कारीलाई फाँसी दिनुपर्छ । हरेक गाउँ, वडा र नगरमा शिशुशाला र बालोद्यानको बन्दोबस्त गर्दा लाखौं महिलाहरूले रोजगारी पाउने छन् ।
पूँजीवादी व्यवस्थाविरुद्ध श्रमिक महिलालाई सङ्गठित बनाउनुपर्छ । मार्च ८ मनाउनुको अर्थ इतिहासमा हाम्रा अग्रज क्रान्तिकारी महिलाहरूले नारी मुक्तिको लागि गर्नुभएको योगदान र समर्पणलाई मात्र सम्झनु नभई उहाँहरूले महिला समानताको बन्दोबस्त समाजवादी व्यवस्था स्थापनाको लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गर्नुभएको सङ्घर्षलाई अझ बढी शक्तिशाली र सङ्गठित पार्दै अघि बढ्ने प्रतिज्ञा गर्न हो । यस विद्यालयमा पनि शिक्षिकाहरूबीच, विद्यार्थीहरूबीच अन्तर्राष्ट्रिय महिला आन्दोलनहरू, महिला योद्धाहरू, जेनी माक्र्स, क्लारा जेटकिन्, क्रुप्स्काया, रोजा लग्जेम्वर्ग, याङ्काइ हुइ, किम जोङ सुकलगायतका जीवन र सङ्घर्षबारे छलफल कार्यक्रमहरू गर्ने अपेक्षा गर्दछु । अन्तमाः विद्यालयको ५५ औं र कलेजको ९ औं वार्षिक उत्सवको अवसरमा सम्पूर्णमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दै बिदा हुन्छु ।
(बुधबार बासु माविको ५५ औं र बासु कलेजको ९ औं वार्षिकोत्सव कार्यक्रममा व्यक्त मन्तव्यको सान्दर्भिक एवम् सम्पादित अंश – सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *