भर्खरै :

राजनीतिमा को किन पछि पर्छ ?

-निर्जला
राजनैतिक कार्यकर्ताहरूको अनेक अनौपचारिक भेलाहरूमा को किन अगाडि वा पछि पर्छ भन्नेबारे अनेक प्रकारका असन्तोष, जिज्ञासा र प्रश्नहरू उठ्ने गर्छन् । फलाना नेता नै किन धेरैपटक प्रधानमन्त्री भए, … फलाना नेताले धेरै दुःख पाएका थिए, प्रजातान्त्रिक आन्दोलनमा त्यस क्षेत्र र जिल्लाबाट धेरै योगदान गरिएको थियो, फलाना जात, जाति र भाषा–भाषीको धेरै मेहनत र आर्थिक सहयोग भएको थियो, वा मजदुर, कम्युनिष्ट र किसान आन्दोलनमा अमुक क्षेत्र, जिल्ला वा नेताहरूको सक्रियता धेरै देखिन्थयो, तर तिनीहरू संसद र सरकार वा अन्य सरकारबाट प्राप्त गर्नुपर्ने स्थान र पदमा किन ल्याइएनन् जस्ता विषयहरू बारम्बार उठ्ने गर्छन् ।
केहीले महत्वपूर्ण पदमा पुग्न विषयवस्तुमा आवश्यक जानकारी, नेपाली, अंग्रेजी वा कुनै विदेशी भाषामा दख्खल, राजनैतिक संस्कार भएका र सुसंस्कृत परिवारबाट आएको हुनुपर्ने, बानी–व्यहोरा, व्यवहार कुशलता आदि भएमा मात्रै कुनै व्यक्ति राजनैतिक क्षेत्रको माथिल्लो पदमा पुगिन्छ र पु¥याइने हो भन्ने उत्तरमा छलफल टुंगिन्छ । तर दुर्गम गाउँका एक विद्यार्थी जसलाई कलेजको प्रिन्सिपल कार्यालयमा सामान्य औपचारिक व्यवहार समेत गर्न नआउने, बोली पनि प्रस्ट नभएको व्यक्ति बारम्बार किन माथिल्लो पदमा पुग्छन्, उनीभन्दा राम्रा उम्मेद्वारहरू किन त्यो पदमा पुग्दैनन् आदि प्रश्नहरू फेरि फेरि राजनैतिक कार्यकर्ताहरूमा उठिरहन्छन् ।
हुन त राजनीतिशास्त्र (पोलिटिकल साइन्स) एक विज्ञान भनिए पनि प्रयोगशालामा अनुसन्धान गर्ने विषय राजनीतिशास्त्र नभई समाज र देशको जटिल विविधता युक्त प्रयोगशाला, राजनैतिक दलका कार्यकर्ता र नेताहरू तथा विदेशको समेत प्रभाव पर्ने भएको हुनाले कुनै पार्टी नेता, कार्यकर्ता र मतदाताहरूले अनुमान गरेको, इच्छा गरेको भन्दा फरक परिणाम व्यवहारमा देखिन्छ । यसबारे कुनै एउटा पार्टी वा देशको उदाहरणले मात्र प्रस्ट गर्दैन । छलफललाई चालु नै राख्नुपर्ने हुन्छ । केही जिज्ञासुहरू प्रजग कोरिया र क्युवाको नेतृत्वमा एउटै परिवार अर्थात् किम परिवारको तीन पुस्ता र फिडेल क्याष्ट्रो र राउल क्याष्ट्रोको विषयलाई लिएर कम्युनिष्ट शासन परिवारवादका पक्षपाती छन् भनी गलत प्रचार गरिन्छ । यसबारे घोत्लिनु मनासिब छ । संरा अमेरिकाको प्रजातन्त्रलाई प्रजातन्त्रवादीहरूले उदाहरण मान्ने गर्छन् । सैनिक विद्रोह हुने सम्भावना नभएको भए दास मालिक, जर्ज वाशिंटन (१७८९–१७९७) राजा बन्ने थिए । संरा अमेरिकाका दोस्रो राष्ट्रपति जोन आडमन (१७३५–१८२८) थिए, उनी १७९७ देखि १८०१ सम्म राष्ट्रपति बने साथै उनको छोरो जोन क्विन्सी (१७६७–१८४८) संरा अमेरिकाको छैटौं राष्ट्रपति (१८२५–१८२९) भए ।
संरा अमेरिकाको ४१ औं राष्ट्रपति जर्ज (हर्टवर्ड वाल्कर) बुश थिए, उनको जन्म सन् १९२४ मा भएको थियो र १९८९–९३ सम्म राष्ट्रपति भए । उनकै छोरो जर्ज डब्लु बुश ४३ औं अमेरिकी राष्ट्रपति थिए । उनको जन्म सन् १९४६ मा भएको थियो भने २००१ मा राष्ट्रपति चुनिएका थिए । त्यस्तै संसारको सबभन्दा ठूलो प्रजातन्त्र भनिने भारतका राष्ट्रिय कांग्रेसका नेता मोतीलाल नेहरूका छोरा जवाहरलाल नेहरू जीवनको अन्तसम्म प्रधानमन्त्री भए, पछि उनकी छोरी इन्दिरा गान्धी र नाति राजीव गान्धी प्रधानमन्त्री भए । त्यसरी नै श्रीलंकामा बन्दरनायक प्रधानमन्त्री भए, उनको हत्यापछि उनकी जहान श्रीमती बन्दरनायक र छोरी कुमारा तु·ा समेत प्रधानमन्त्री र राष्ट्रपति बने । पाकिस्तानमा प्रधानमन्त्री भुट्टोपछि छोरी कुमारी भुट्टो पनि प्रधानमन्त्री भइन् । बंगलादेशमा पनि मुज्जबुर रहमान राष्ट्रपति चुनिए, पछि उनकी जहान … र प्रतिपक्षका जातीय पार्टीका नेता र उनकी जहान पनि सत्तामा पुगे । फिलिपाइनसमा मार्कोसपछि श्रीमती मार्कोस सत्तामा पुगिन्, इन्डोनेसियामा सुकार्नो राष्ट्रपति थिए र पछि सुकार्ने पुत्री पनि सत्तामा पुगिन् । बर्मामा आङ साङ सुकीका बुबा सत्तामा थिए, आज उनी सत्तामा छिन् । यसकारण कम्युनिष्ट देशमा वंश परम्पराअनुसार सत्तामा जाने आरोप लगाउने हो भने सोभियत संघ, चीन, भियतनाम र अन्य पूर्वी युरोपेली देशहरूमा पनि एउटै परिवारका सदस्य सत्तामा थिएनन् ।
तर प्रजग कोरिया र क्युवाको स्थिति संरा अमेरिकाको ५०–६० वर्षको नाकाबन्दी र युद्धको स्थिति भएको हुँदा ती देश सदा सतर्कताको अवस्थामा छन् । कोरिया प्रायःद्वीप संसारमा सबभन्दा विस्फोटक स्थितिमा छ र क्युवासँग संरा अमेरिकाले बाराक ओबामाको पालामा कुटनैतिक सम्बन्धको पुनःस्थापना गरेकोमा ट्रम्प प्रशासनले पुनः क्युवा विरोधी कदमहरू चालेको छ । यसैको सेरोफेरोमा नेपाललाई हेर्ने हो भने २००७ सालपछि मातृकाप्रसाद कोइराला, बीपी कोइराला, गिरिजाप्रसाद कोइाला, सुशिल कोइराला समेत प्रधानमन्त्री भए । यसलाई पारिवारिक प्रजातन्त्र वा वंश परम्परा के भन्ने हो, नेपाली जनता आफै भुक्तभोगी छन् । आज पुनः अनेक कोइराला सत्ता हत्याउने ताकमा छन् ।महिला सत्तामा आएमा  … महिला सत्तामा आएमा तुलनात्मक रुपल देशको शान्ति सुरक्षा र भ्रष्टाचार कम हुनेजस्ता प्रचारहरू गर्छन् । तर इजरायलमा गोल्डा माएर, बेलायतमा मार्गरेट थ्याचर, बेलायतकै थेरेसा मई आदि महिला नेतृ सत्तामा पुगे तर समाजमा मौलिक परिवर्तन भएन ।
ग्रीस, अर्जेन्टिना, ब्राजिल, जर्मनी, आदि देशमा पनि महिला सत्तामा पुगे तर मौलिक परिवर्तन भएन । समाजको आमुल परिवर्तनको निम्ति महिला र पुरुष, जात र भाषाभाषीभन्दा पनि व्यापक जनसमूह नै आन्दोलित, शिक्षित र उद्देश्यप्रति समर्पित हुनुपर्ने माथिका उदाहरणहरूबाट प्रस्ट छ । नेपालमा एमाले नेता मदन भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति पदमा छिन् । अष्ट्रलक्ष्मी शाक्य, हिसिला यमी आदि महिला नेतृ सरकारमा गए । तर खोई बोक्सीविरोधी ऐन, दहेजविरोधी, छाउपडीविरोधी ऐन बनेको ? एकैबाजी लाखौं बाल–बालिका र महिलाहरूको हित हुने देशव्यापी शिशुशाला र बालोद्यानको स्थापना भएको खोई ? यसकारण लै·िक भेद होइन, दृष्टिकोण र कार्यान्वयनमा प्रस्टता हुनुपर्छ शासक दल र नेतृत्वमा । नेतृत्व, संगठन, आन्दोलन, नेता, कार्यकर्ता र जनता विजय भन्दा पहिले एकाकार देखिन्छ भने विजयपछि ती शब्दहरूको भिन्ना भिन्नै अर्थ हुन्छ ।
भारतमा शिखहरूको जनसंख्या २ प्रतिशत थियो भने स्वतन्त्रता आन्दोलनमा सहिद हुने र आजन्म कैदको सजाय भोग्ने स्वतन्त्रता संग्रामीहरूको प्रतिशत ११ प्रतिशत थियो । तर शिख नेताहरू कोही प्रधानमन्त्री भएनन् किन ? साँच्चै भनूँ भने इन्डोनेसिया भन्दा पनि भारत नै सबभन्दा पहिलो मुश्लिम देश थियो । स्वतन्त्रता आन्दोलनमा अब्दुल कलाम आजादको महत्वपूर्ण भूमिका भएको मानिन्छ, उनी भारतीय कांग्रेसका सभापति समेत थिए । हिन्दु–मुसलमानको भेदभावलाई मत्थर पार्न उनको पनि योगदान जरुरै थियो होला । जवाहरलाल नेहरूको पहिलो मन्त्रीमण्डलमा उनी शिक्षामन्त्री सम्म भए । तर उनको ‘भारतको स्वतन्त्रता’ भन्ने पुस्तक र २७ वर्षपछि छापिएका उनका लेखले धेरै गम्भीर विषयलाई उजागर गरेको छ । त्यस्तै दलितहरूको जनसंख्या भारतमा झण्डै २० प्रतिशत छ । स्वतन्त्रता आन्दोलनमा तिनीहरूको पनि भूमिकालाई ध्यान दिएर उपप्रधानमन्त्री (जगजीवनराम) र उपराष्ट्रपति (नारायण) भए भने शिख जनताबाट जैलसिंह राष्ट्रपति भए तथा दक्षिण भारतबाट सर्वपल्लि राधाकृष्ण राष्ट्रपति बने । त्यस्तै बिहारबाट डा. राजेन्द्रप्रसाद पहिलो भारतीय राष्ट्रपति बने । नेपाली कांग्रेस, राणाविरोधी संघर्ष र प्रजातन्त्र पुनःस्थापनामा गणेशमानजी र उपत्यकावासीको पनि उल्लेखनीय सहभागिता इन्कार गर्न सकिन्न । तर गणेशमानजीले नेपाली कांग्रेसको वीरगञ्ज सम्मेलनमा ‘गणतन्त्र’ लाई समर्थन गरेर सुवर्ण शमशेरको विरोधमा खडा भए । जीवनको अन्तमा नेपाली कांग्रेसबाट टाढा रही पाटनको खुमलटारमा बस्नुप¥यो । सम्भवतः यसको गम्भीरता प्रकाशमानजीलाई थाहा छैन । तर सबै पर्यवेक्षकहरूलाई के थाहा थियो कि शेरबहादुर देउवाको विरोधमा उम्मेद्वार बनाउनु खाली नेका एक प्रजातान्त्रिक पार्टी देखाउन मात्रै गरिएको हो र प्रकाशमान कुनै पक्षको निमित्त मात्रै होभन्नेहरू कांग्रेसभित्रै छन् । त्यसो त काठमाडौं उपत्यकाका नेता तथा कार्यकर्ताहरूलाई ‘सुविधामुखी’ ‘देशभरको शोषणबाट फाइदा उठाएका’ जस्ता आरोपहरू पनि छन् ।
पुष्पलाल, तुल्सीलाल र अन्य नेता-कार्यकर्ताहरूको बारे त्यो आरोप सत्य जँच्दैन । हो, गणेशमानजी बीपी कोइरालाको, सिद्धिलाल मनमोहनको, पदमरत्न तुलाधर, राजेन्द्र श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ आदि मदन भण्डारी ‘हनुमान’ हुन् भन्नेजस्ता विशेषण पनि नजोडिएको होइन । यसको अर्थ हो काठमाडौं उपत्यकावासी खासगरी नेवार नेता र कार्यकर्ता सैद्धान्तिक र बौद्धिक रुपले पछि छन् भन्न खोजिएको हो । त्यसो भनौं भने उपत्यका बाहिरकै मरिचमानसिंह ‘श्रेष्ठ’ प्रधानमन्त्री हुँदा ७० वर्षीय एक राजनैतिक कार्यकर्ताले ‘अब देश खत्तम भयो’ भन्ने अभिव्यक्ति दिए । यसको अर्थ हो – जात, धर्म, भाषा र क्षेत्रीय प्रभाव स्वाभाविक रुपले मन्थर पार्न ३–४ पुस्ता लाग्ने सम्भावना छ भने आर्थिक समानता भएको समाजमा २–३ पुसमै त्यस्ता भेदभाव मत्थर हुने देखिन्छ । के सत्य हो भने आन्दोलनमा भाग लिने र सक्रिय हुने सबै कार्यकर्ता, सहभागी र समर्थकहरूलाई नेतृत्वको उद्देश्य, क्षमता र राष्ट्रिय-अन्तर्राष्ट्रिय सम्बन्ध थाहा हुँदैन, त्यसको कारण कति विषय नेतृत्वले खोल्दैन र खोल्नु आन्दोलनको हितमा देख्दैन । राणाविरोधी संघर्षकै बेला साम्राज्यवादीहरूले चीन, तिब्बत, नेपाल र भारतको विषयमा के कसरी सोचेका होलान् भनी भारतीय नेताहरूलाई थाहा भए जति नेपालीहरूमध्ये केहीलाई थाहा होला । यसबारे गान्धी र नेहरूहरूको जानकारी र दृष्टिकोण जय प्रकाश नारायण र डा. लोहियाहरूको दृष्टिकोणमा एकरुपता नहुन सक्छ । तयसबारे भारतीय कम्युनिष्टहरू गम्भीर थिएनन् होला ।
तत्कालीन नेपाली कम्युनिष्ट नेताहरू तिनीहरूकै सहउत्पादन थिए । भारतमा बेलायती उपनिवेशवादविरोधी संघर्षले बेलायत सतर्क थियो भने थाइल्याण्ड र बर्मालाई पूर्वतिरको कम्युनिष्ट प्रभावबाट जोगाउन खोज्दै थियो । बर्मामा बर्मेली कम्युनिष्ट पार्टीको सशस्त्र गतिविधि उत्तरी भेगमा मात्रै थियो । रङ्गुण र दक्षिणी बर्मँमा समाजवादी साहित्यको प्रचार थियो । यसबीचको बर्मँ र थाइल्याण्डमा भारत र हिन्द चीनको कम्युनिष्ट आन्दोलनको प्रभावबाट जोगायो । तर यसबारे त्यसबेलाका भारतीय कम्युनिष्टहरू नेपालबारे सचेत देखिन्थे, यसकारण विशेषतः पश्चिम बंगाल, बिहार र युपी वा भारतीय कम्युनिष्टहरूले नेपाली विद्यार्थीहरूमा कम्युनिष्ट विचार प्रचार गरे । तर आज भारतीय कम्युनिष्ट आन्दोलन पनि माक्र्सवादी कम्युनिष्ट पार्टी, नक्सलवाडी र डाँगेवादी भारतीय कम्युनिष्ट पार्टीको रुपमा विभाजित छ । यदि बिहार, उत्तर प्रदेश र बंगालमा त्यहाँका कम्युनिष्टहरू सक्रिय भएमा नेपालका जातीवादी र क्षेत्रवादी दक्षिणपन्थी राजनीति अगाडि बढ्ने थिएन । भारतीय कम्युनिष्ट आन्दोलनको निष्क्रियताको कारण छिमेकी देशहरूमा पनि भारतीय दक्षिणपन्थी राजनैतिक प्रचारले प्रभाव पार्दैछ । त्रिपुरा मा २०–२२ वर्षदेखिको माक्र्सवादी कम्युनिष्ट पार्टीको सरकारको राज्यमा हालै भारतीय फासीवादी दल, भारतीय जनता पार्टीले निर्वाचनमा विजय हासिल गर्ना साथै त्यहाँको लेनिनको सालिक भत्काउने, माक्र्सवादी कम्युनिष्ट पार्टीको कार्यालय र कार्यकर्ताहरूको घरमाथि हमला सुरु गरेको समाचारहरूले जनाएका छन् ।
त्रिपुराको कम्युनिष्ट आन्दोलनमा भियतनामी नेता हो चि मिन्हको पनि ठूलै चर्चा हुने गथ्र्यो । तर भाजपाको हमला त्रिपुरामा छ र मोदी भियतनामसग मित्रता बलियो बनाउन प्रयत्नरत छ ।  हिजो लेनिनको बेला विश्व कम्युनिष्ट आन्दोलनमा सर्वहारा वर्गको शासन सत्ता कायम गर्न पूँजीवादी हिंसाको विरोधमा सर्वहारा वर्गको प्रतिकार र प्रत्याक्रमण महत्वपूर्ण विषय थियो । कम्युनिष्ट आन्दोलनलाई भित्र भित्र खोक्रो पार्ने पूँजीवादी तत्वहरूले अहिले सरकारी पदमा जानुलाई नै ‘क्रान्ति’ भएको प्रचार गरी विश्व कम्युनिष्ट आन्दोलनलाई समेत विश्वासघात गरेको परिणाम खुल्दैछ । सोभियत कम्युनिष्ट पार्टीका महासचिव र सोभियत संघको शासकले समाजवाद र सोभियत संघलाई विघटन गराई सकेपछिको एक पत्रकारको उत्तरमा भनेका थिए – मेरो जीवनको मुख्य उद्देश्य नै सोभियत संघ र समाजवादको पतन गराउनु थियो । नेपालको कम्युनिष्ट आन्दोलनमा नेपाली खु्रश्चेभ र गोर्भाचोभहरू चारैतिर देखिंदैछन् । एकजना डाँगेको कारण एक एक पाइला गरेर आज भारतीय कम्युनिष्ट आन्दोलन पुरै रक्षात्मक स्थितिमा पुग्यो ।
नेपालको कम्युनिष्ट आन्दोलन पनि आज आफ्नो अस्तित्वको लडाइँ लड्दैछ । हो, क्रान्ति र आन्दोलन ज्वारभाटा जस्तै छ, नेपालको कम्युनिष्ट आन्दोलन उठ्ने पालो पनि आउँछ । तर जहाँसम्म धेरै दुःख पाएका नेता तथा कार्यकर्ता प्रधानमन्त्री वा माथिल्लो सहकारी पदहरूमा पुगेनन् भन्ने गुनासो छ, त्यसबारे उत्तर प्रस्ट छ – दुःख पाउने सबै नेपाली माथिल्लो पदमा पुग्ने भए फकीर र गरिब–गुरुवा सबै माथिल्लो पदमा पुग्नुपर्ने हुन्छ, जसरी परीक्षा र खेलकुदमा पहिलो एउटै हुन्छ भनेझैं योग्यहरूमध्ये योग्य नै माथिल्लो पदमा पुग्नेछन्, तर दुर्गम गाउँमा बस्ने, कुराकानी समेत गर्न नजान्ने विषय नै राजनैतिक योग्यता मान्ने हो भने बीपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालाको भारतीय नेताहरूको सम्बन्धलाई बिर्सनुहुन्न र शेरबहादुर देउवाको सम्बन्ध बेलायत, जर्मनी र अमेरिकी राजनैतिक पक्षसँग भएको अड्कल मानिसहरू गर्छन् । काठमाडौं उपत्यकावासीले आन्दोलनहरूमा योगदान गरेको कुरा गर्दा २००७ सालको राणाविरोधी आन्दोलनमा मारबाडी परिवारहरू र भारतीय राजदूतावासका कर्मचारीहरूको भूमिकालाई जानकारी राख्नु मनासिब होला तथा काठमाडौंको आन्दोलनमा देखिने सबै जनता काठमाडौं उपत्यकावासी हुन् भन्ने भ्रम पाल्नु गलत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *