भर्खरै :

एमालेको चौघेरामा राष्ट्रपति भण्डारी

आगामी सातासम्ममा देशले नयाँ राष्ट्रपति पाउने लगभग निश्चित छ । गणतन्त्र नेपाल स्थापनापश्चात अब तेस्रो कार्यकालको लागि आगामी फागुन २९ गते राष्ट्रपति पदको निर्वाचन हुनेछ ।
देशको वर्तमान राजनीतिक शक्तिको गणितका आधारमा राष्ट्रपति पदमा एमालेले अघि सारेको उम्मेद्वार सो पदमा निर्वाचित हुने अवस्था छ । एमालेले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोस्रो कार्यकालका लागि उम्मेद्वार बनाएको छ । अर्थात् अरु कुरा सामान्य रहेमा भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्दैछिन् ।
नयाँ कार्यकालमा निर्वाचित हुनुअघि भण्डारीको पहिलो कार्यकालको समीक्षा गर्नु आवश्यक र स्वाभाविक छ । कुनै पनि पदमा एक जना महिला पुग्नु आफैमा महिला मुक्तिको द्योत्तक हुन सक्दैन । तथापि नेपाली समाजमा एक जना सर्वसाधारण जनताकी छोरी राष्ट्रपति पदमा पुग्नु सकारात्मक पक्ष हो । तर भण्डारीको पहिलो कार्यकाल भने निर्विवाद रहन सकेन । राष्ट्रपतिको हैसियतमा उठाइएका कतिपय कदमले उनी एमालेको चौघेराभन्दा माथि उठ्न नसकेको देखापर्दछ ।
राष्ट्रपति पद दलीय आधारमा निर्वाचित हुने बन्दोबस्तअनुसार उनी एमाले हुँदै देशको सर्वोच्च पदमा पुगिन् । तर त्यो पदमा पुगेपश्चात उनी आफूसम्बद्ध राजनीतिक दलभन्दा माथि उठ्न सक्नुपर्ने हो । यो सामान्य राजनीतिक नैतिकता हो । त्यसो गर्न सकेमात्र देशको राजनीतिक नैतिकता बलियो हुने गर्दछ । भण्डारीको व्यवहारले उनी एमालेको औपचारिक पदबाट बिदा भएर पनि एमालेप्रतिको लगावबाट विमुख हुन नसकेको देखापर्दछ ।
एमालेभित्रकै कतिपय मुद्दाहरुमा समेत भण्डारीको नाम जोडिनु निकै तुच्छ हो । कतिपय सञ्चारमाध्यमहरुले प्रदेश नं ३ मा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री नबनाउने खेलमा उनको समेत भूमिका रहेको खबर प्रकाशमा ल्याए । साथै प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्यहरुको औपचारिक शपथ नहुँदै एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले हतारो गरिन् । देउवा सरकारले सिफारिस गरेका राष्ट्रियसभा सदस्यहरुको नामावलीमा अलमल गरी ओली सरकारको सिफारिसलाई सदर गर्नुले राष्ट्रपति विवादमा तानिइन् । यस्ता उदाहरणका कारण उनी राष्ट्रपति पदमा पदासिन भएर एमालेको मोहबाट मुक्त हुन नसकेको बुझ्न गाह«ो छैन ।
राष्ट्रपति पद संवैधानिक पद हो । त्यसकारण निसन्देह भण्डारीले राजनीतिक भूमिकामा आउनु असंवैधानिक हो । यद्यपि कतिपय सामाजिक र देशको सार्वभौमिकताका विषयमा राष्ट्रपतिले देखाउनुपर्ने पहलकदमीमा पनि उनी शिथिलप्रायः रहिन् । उनी कुनै अमुक राजनीतिक दलको प्रतिनिधिभन्दा माथि उठेर समग्र देशको राष्ट्रप्रमुख बन्ने विषयमा गम्भीर नभएको देखापर्दछ ।
भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएको अवस्थामा एमालेको भूसतहभन्दा उठ्न नसके एउटा संवैधानिक र सर्वसम्मानित पदमा बसेर पनि अरु राजनीतिक दललाई पूर्वाग्रह र मोलाहिजाको व्यवहार गरेको दाग इतिहासभरि लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *