भर्खरै :

भोकभोकै मारिँदै छन् गाजावासीहरू

भोकभोकै मारिँदै छन् गाजावासीहरू

काठमाडौँ, जेठ १८ । गाजापट्टीमा राहत सामग्री लिन लाइनमा उभिएको बेला इजरायली सेनाले बमबारी गरेर कम्तीमा ३२ जनाको हत्या गरेको छ । घाइते हुनेको सङ्ख्या अझ बढी भएको आइतबार प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रत्यक्षदर्शी तथा स्थानीय अधिकारीहरूले जनाएअनुसार इजरायली फौजले सिधै नागरिकलाई निसाना बनाएर गोली हानेको थियो । रफाह र मध्य गाजामा इजरायलको स्वीकृतिमा अमेरिकाले खडा गरेका खाना वितरण केन्द्रमा यी घटना भएका थिए ।
रफाहमा कम्तीमा ३१ प्यालेस्टिनी मारिएका छन् भने गाजामा एकजना मारिएका छन् । साथमा २०० भन्दा बढी मानिस घाइते भएका छन् । जसमध्ये धेरैजनाको स्थिति नाजुक छ ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले इजरायललाई राहत वितरण केन्द्रलाई ‘मान्छे मार्ने जाल’ को रूपमा प्रयोग गरेको आरोप लगाएको छ ।
मन्त्रालयले यी हत्याकाण्डमा चरा मारेजस्तो धेरै व्यक्तिको टाउको र छातीमा गोली हानेको बताएको छ । यसबाट हत्याको नियत स्पष्ट साबित हुने मन्त्रालयले औँल्याएको छ ।
रफाहमा अमेरिकाले खडा गरेको वितरण केन्द्रमा भोको पेट लिएका हजारौँ मानिसलाई झन्डै ५०० मिटर लामो लाइन लगाएर उभिन भनिएको एक स्थानीय पत्रकार मोहम्मद घारीबले भने ।
भीड वितरण केन्द्रनजिक पुगेको बेला इजरायली फौजले सबै दिशाबाट गोली चलाउन थालेको प्रत्यक्षदर्शीले बताए ।
मार्वान अल–नौकले भने, “म भीडमै थिएँ । मान्छेहरू वितरण केन्द्रतिर दौडिन थाले । मान्छेको हुल ठुलो हुनाले म अगाडि बढ्न सकिनँ । त्यसपछि एउटा चारखुट्टे विमान देखाप¥यो । त्यसले गोली हान्न थालेपछि इजरायली फौजले पनि सिधा भीडमा गोली हान्न थाल्यो । अनि, अमेरिकी सुरक्षाकर्मीहरूले अश्रुग्यास हान्न थाले । दर्जनौँ मान्छे मरे । घाइतेहरू चारैतिर दौडिन थाले । भागाभाग मच्चियो ।”
मार्वान अल–हेम्ज गाजाका मैदानी अस्पतालका निर्देशक हुन् । उनले घटनालाई ‘नरसंहार र बधशाला’ भने । उनले भने, “कब्जाकारीहरूले भोका मान्छेलाई निसाना बनाए । यी वितरण केन्द्रले मृत्यु बाँडिरहेझैँ लाग्यो ।”
दक्षिणी क्षेत्रमा रहेका अस्पतालहरूमा बिरामीहरू हलमा लाइन लाइरहेका छन् । कोही भुइँमा बिना ओछ्यान र औषधिउपचार यत्तिकै पल्टेका भेटिन्छन् – हेम्जले भने ।
उनले भने, “हामीले धेरैभन्दा धेरैको ज्यान जोगाउन खोजिरहेका छौँ । खुनको अभावमा कतिपयलाई बचाउन सकिएन ।”
इजरायलले सहयोग वितरणलाई हतियार बनाएको हमासको आरोप छ । उसले सहयोग अभियानलाई जातिसंहारकै हिस्सा भनेको छ ।
इजरायली सेनाले ‘(इजरायली) दस्ताले पु¥याएको क्षतिबारे अनभिज्ञ’ भएको दाबी गरेको छ ।
रफाह र मध्य गाजा दुवै स्थानका प्रत्यक्षदर्शीले घटनालाई इजरायली फौजको ‘धराप’ को रूपमा वर्णन गरे ।
भोका जनतालाई सक्दो चाँडो राहत लिन लाइनमा उभिन भनिएको थियो । हजारौँ मानिस रातिदेखि नै रफाहको वितरण केन्द्रमा लाइन लागेका थिए ।
गोलीबारीमा बाँच्न सफल अराफात सियामले भने, “तिनीहरूले खाना बाँड्ने मानवीय क्षेत्रमा जान भने । त्यसपछि हामीलाई मारे ।” सियामका दाजु मारिनेमध्ये एक हुन् । उनी भोकले छटपटाएका छोराछोरीलाई खाना दिलाउने आसले शुक्रबार राति ११ बजेदेखि नै उनी लाइनमा उभिएका थिए ।
सियामले भने, “अमेरिकीहरूले हामीलाई ठगे । तिनले हामीलाई कहिले मानवीय राहत दिएका थिए र ? मानवीय वितरण केन्द्र भन्दै हामीलाई मारे ।”
मे २७ का दिन यता अमेरिकाको ‘गाजा मानवीय प्रतिष्ठान’ (जीएचएफ) ले राहत वितरण केन्द्रहरू सञ्चालन गर्दै छ । यसबिच यी केन्द्रमा इजरायली फौजले कम्तीमा ४९ प्यालेस्टिनीहरूको हत्या गरेको छ भने ३०५ जनालाई घाइते पारेको छ ।
खाना वितरण केन्द्रमा खटिएका अमेरिकी सुरक्षाकर्मीले भने वितरण केन्द्रमा हुने गरेका यस्ता हत्याकाण्डलाई ‘हमासको झूटो प्रचार’ भनी नकार्दै आएका छन् ।
विश्लेषकहरू अमेरिकाले राष्ट्रसङ्घका सहयोग पूर्वाधारलाई किनार लगाउन यी केन्द्र खोलिएको बताएका छन् । इजरायलले राष्ट्रसङ्घलाई राहत सामग्री वितरण गर्न रोकेकोमा वरिष्ठ मानव अधिकारकर्मीहरूले इजरायल सरकारको भत्र्सना गरेका छन् । कार्यरत अमेरिकी सुरक्षाकर्मीले भने अर्कै बयान दिएका छन् ।
स्रोत : मिडल इस्ट आइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *