भर्खरै :

दुईदिने घरेलु उत्पादन प्रवद्र्धन मेला सम्पन्न

दुईदिने घरेलु उत्पादन प्रवद्र्धन मेला सम्पन्न

भक्तपुर, १८ जेठ । भक्तपुर घरेलु तथा साना उद्योग सङ्घको आयोजना तथा उद्योग तथा वाणिज्य कार्यालय सूर्यविनायक, भक्तपुरको सहकार्यमा सञ्चालन भएको दुईदिने घरेलु उत्पादन प्रवद्र्धन मेला शनिबार सम्पन भएको छ । भक्तपुर नगरपलिका वडा न २ स्थित नःपुखु परिसरमा भएको सो मेला विभिन्न घरेलु तथा साना उद्योगका ३८ वटा तथा नेवारी खाजालगायत अन्य खाजाका परिकारका ५ वटा गरी जम्मा ४३ वटा स्थल रहेका छन् । सो मेलामा पहिलो र दोस्रो दिन गरी करिब ५० हजार अवलोकनकर्ताले अवलोकन गर्नुभएको थियो भने करिब ३० देखि ४० लाखको व्यापार भएको अनुमान गरिएको छ ।
लघु, घरेलु तथा साना उद्योगले पैसा खर्च गरी विज्ञापन गर्न नसक्ने तथा ठुलठुला मेला महोत्सवमा सहभागी नहुन नसक्ने भएको कारण ती साना उद्यमी व्यवसायीहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो मेलाको आयोजना गरिएको हो । सङ्घले विगतमा पनि भक्तपुर घरेलु उत्पादन मेला, नेवारी संस्कृति तथा पर्यटन प्रवद्र्धनको घरेलु उत्पादन मेला, कृषि, पर्यटन र घरेलु मेलालगायत भक्तपुर महोत्सव तथा मध्यपुर महोत्सवमा पनि स–साना उद्यमी व्यवसायीलाई प्रवद्र्धन गर्न यस्ता मेला सफलतापूर्वक आयोजना गरिसकेको छ ।
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देशको अर्थतन्त्रको मेरुदण्दको रूपमा रहेको घरेलु उद्योग अर्थतन्त्रसँग, यहाँको संस्कृति, रीतिरिवाज, परम्परासँग पनि सम्बन्ध भएको कारण यस्ता उद्योगलाई जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले देशको शासन सत्तामा जाने व्यक्तिहरू देशको भन्दा पार्टी र व्यक्तिगत स्वार्थमा लाग्दा देश उँभो लाग्न नसकेको तीतो अनुभव सुनाउँदै कृषिप्रधान देशमा कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नुको सट्टा कमिसनको लोभमा विदेशबाट वस्तु आयातीत गर्न प्रोत्साहन गरिदिँदा स–साना पँुजीबाट सञ्चालित उद्योगहरू धराशायी हुन पुगेको बताउनुभयो ।
पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजाले साबिक वडा नं १५ हाल वडा नं २ मा रहेको औद्योगिक क्षेत्रलाई हस्तकला ग्राम बनाउन यहाँको स्थानीय जनताको जग्गा अधिग्रहण गरेको हुनाले यस्तै स–साना उद्योगहरू सो क्षेत्रमा राखी त्यहाँ रहेका वातावरणले असर गर्ने उद्योगहरूलाई छिट्टै स्थानान्तरण गर्नुपर्ने धारणा राख्नुभयो ।
उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्माले भक्तपुर घरेलु तथा साना उद्योग सङ्घसँग विभिन्न कार्यक्रमहरू सहकार्य गरी सञ्चालन गर्दा हरेक कार्यक्रमहरू उत्कृष्ट र प्रदेश सरकारको लक्षितअनुसार कार्य गरेको पाएकोमा खुसी व्यक्त गर्नभयो ।
कार्यक्रममा अतिथि सुरेन्द्रराज गोसाईले प्रमाणपत्र वितरण गर्नुका साथै सहभागी स्टलहरूमध्ये स्टल सजावट, रैथाने उत्पादन, दिगोपन र व्यापारको हिसाबले उत्कृष्ट स्थलको नतिजा छनौट समितिका सदस्य सोम तामाङ्ले घोषणा गर्नुभयो । उत्कृष्ट स्टल हुन सफल मोन्तना प्लान्ट स्टुडियोका मतिना त्वानाबासु र तिमिला एशोसिरिसका रुकेश खुसुलाई प्रमुख अतिथि गोसाईले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
सङ्घका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा भएको सो समापन कार्यक्रममा अध्यक्ष श्रेष्ठले उद्योग सञ्चालन गर्दा वाग्मती प्रदेशअन्तर्गत उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा भएका विभिन्न समस्या तथा सुझावहरूबारे अवगत गराउनुभएको थियो । घरेलु उत्पादन प्रवद्र्धन मेलाका संयोजक हरिगोपाल त्वायनाले मेला सफलतापूर्वक सम्पन गर्न सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो । सङ्घका सचिव सृजना कक्षपतिले मेलाको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *