भर्खरै :

क्युबाविरुद्ध अमेरिकी नाकाबन्दी

  • जेष्ठ १९, २०८२
  • एडम केन्डल
  • विचार
क्युबाविरुद्ध अमेरिकी नाकाबन्दी

क्युबाविरूद्ध अमेरिकाले नाकाबन्दी लगाउनु शीतयुद्धको अवशेष हो भन्ने धेरै क्यानडावासीको सोचाइ छ । कसैले त्यसलाई सोभियत युगको उपज र अमेरिकामा ओबामा राष्ट्रपति छँदा त्यसलाई खुकुलो पारिएको विश्वास गर्छन् । यो बुझाइ गलत छ । यो बुझाइले अमेरिकी साम्राज्यवादलाई निर्बाध अघि बढ्ने बाटो बनाइदिन्छ; आधुनिक इतिहासमा भएका युद्धहरूमध्ये एक अति लामो र अमानवीय आर्थिक युद्धको यथार्थलाई ढाकछोप गर्ने काम गर्छ । वास्तवमा अमेरिकाले आज पनि जोडबल लगाएर नाकाबन्दी जारी राखेको छ । ट्रम्पको सरकार क्युबाविरूद्ध झनै आक्रमक भएर लागेको छ । उसले क्युबाली जनताको घाँटी नै थिच्ने गरी नाकाबन्दीलाई कसिलो पारेको छ ।
साम्राज्यवादी आक्रामकताको उदय
सन् १९५९ मा क्युबाली क्रान्तिले अमेरिकाको आडमा चलिरहेको दशकौँ लामो शोषणको अन्त्य ग¥यो । क्रान्तिकारी सरकार क्युबालाई साम्राज्यवादी जञ्जालबाट मुक्त पार्ने र समाजवादको स्थापना गर्ने उद्देश्यमा प्रतिबद्ध रह्यो । यसकारण, लगत्तै अमेरिका क्युबाप्रति आक्रामक भयो । सन् १९६० मा क्युबाली जनतालाई भोकभोकै पारेर घुँडा टेकाउने र सत्ता उल्ट्याउने लक्ष्यका साथ अमेरिकाले क्युबाविरूद्ध आर्थिक नाकाबन्दी लगायो । नाकाबन्दी लगाउनको लागि अलग्गै कानुन पनि बनाइयो । सन् १९६२ मा क्युबाली व्यापार ऐन र सन् १९९६ मा हेल्म्स–बर्टन ऐन आयो । यसरी कानुन बनाएरै अमेरिकी नीतिलाई स्थायी रूप दिइयो । आजसम्म पनि यिनै कानुनले काम गर्दै छन् ।
नाकाबन्दीको उद्देश्य क्युबालाई दण्ड दिनुमात्र थिएन । नाकाबन्दीले सारा संसारलाई एउटा सन्देश दियो – अमेरिकी प्रभुत्वलाई चुनौती दिनेहरूले यस्तै एक्लोपन, आर्थिक विनाश र हिंसाको धम्की खेप्नुपर्नेछ । अमेरिकी साम्राज्यवादको सक्कली विरासत यही हो – अरू देशको सार्वभौमिकता र आफूखुसी निर्णय गर्ने हकलाई अचानोमा राखेर भए पनि पुँजीपतिको रक्षा गर ।
नाकाबन्दी अन्त्यको मिथक
खासगरी ओबामाले क्युबासँग कूटनीतिक आदानप्रदान सुरू गरेपछि नाकाबन्दी अब उस्तो रहेन भन्ने सोझो बुझाइ छ । तर, उनले कूटनीतिक सम्बन्ध सुरू गरे पनि त्यसले नाकाबन्दी बन्द गर्न सकेन; खालि केही प्रतिबन्ध खुकुला भए । सीमित आवतजावत, रेमिट्यान्स र केही व्यापारका लागि अनुमति दिइयो । नाकाबन्दीको मूल मर्म अर्थात् वित्तीय र व्यापार प्रतिबन्धहरू ज्यूका त्यूँ रहे । अमेरिकी राष्ट्रपतिसँग नाकाबन्दी उल्ट्याउने अधिकार छैन । त्यो अधिकार केवल अमेरिकी संसद्सँग छ । ओबामाले क्युबालाई ‘राज्यप्रायोजित आतङ्कवाद’ को सूचीबाट हटाए ।
ओबामाले एक पाइला चालेकै हुन् । तर, त्यसको मूल उद्देश्य अमेरिकी व्यापारीहरूका लागि क्युबाको ढोका खोल्नु र क्युबाली सरकारमाथिको दबाब पनि जारी राख्नु थियो । नाकाबन्दी जारी रह्यो । क्युबामा अन्न, औषधि र अत्यावश्यक प्रविधिको अभाव भइरह्यो । तर, जमेको सम्बन्धको हिउँ थोरै पग्लियो । यसैलाई क्युबा सरकार र बाँकी विश्वले स्वागत ग¥यो ।
ट्रम्पले चर्काए साम्राज्यवादी आक्रामकता
ट्रम्पको कार्यकालमा नाकाबन्दी कायम रहेको मात्र होइन, थप चर्कियो । ओबामाले दिएका सीमित सहुलियत पनि ट्रम्पले फिर्ता लिए र थप कडा प्रतिबन्ध थोपरे । यीमध्ये एउटा महत्वपूर्ण निर्णय थियो – सन् २०२० मा पुनः क्युबालाई ‘राज्यप्रायोजित आतङ्कवाद’ को सूचीमा राख्नु । यसपछि क्युबा झन् एक्लिन पुग्यो । यो आरोपको कुनै वैधानिक आधार छैन । तैपनि, क्युबामाथिको आर्थिक पकड कसिलो पार्न र ल्याटिन अमेरिकामाथि अमेरिकाको नियन्त्रण अझ विस्तार गर्न यो बिल्लालाई राजनीतिक साधन बनाइयो ।
‘राज्यप्रायोजित आतङ्कवाद’ को बिल्ला लागेपछि विदेशी वित्तीय प्रणालीसम्मको क्युबाको पहुँच दुरूह बन्न पुग्यो । विश्वव्यापी सङ्घसंस्थालाई क्युबाली निकायसँग सम्बन्ध नराख्न कडिकडाउ गरियो । क्युबासँग व्यापार गर्ने कम्पनी होस् वा देश अमेरिकी प्रतिबन्धको कोपभाजनमा पर्नुपर्ने भयो । यसले गर्दा क्युबा विश्व अर्थतन्त्रबाट एक्लिन पुग्यो । ‘राज्यप्रायोजित आतङ्कवाद’ को बिल्ला लागेपछि अन्तर्राष्ट्रिय ऋण बजारमा सहभागी हुने, विदेशी लगानी प्राप्त गर्ने वा अमेरिकी डलरमा कारोबार गर्ने क्युबाको क्षमता खुम्चिन पुग्यो ।
नाकाबन्दीको अर्को घातक पक्ष १० प्रतिशतभन्दा बढी अमेरिकी सामग्री प्रयोग गरेर विश्वका जुनसुकै देशमा उत्पादन गरिएका वस्तुमाथिको पूर्ण प्रतिबन्ध हो । यसले गर्दा उन्नत प्रविधि, उपकरणका साथै स्वास्थ्य, कृषि, ऊर्जा, उपभोग्य सामान र तयारी वस्तुमाथिको क्युबाको पहुँच असम्भव प्रायः बनेको छ ।
नाकाबन्दीको मानवीय क्षति
नाकाबन्दीका कारण मान्छेले ठुलो मूल्य चुकाउनु परेको छ । स्वास्थ्यसेवा, शिक्षा, सामाजिक सेवा र अन्य क्षेत्रमा क्युबाले हासिल गरेको ठुलाठुला उपलब्धिलाई आधारभूत आवश्यकता परिपूर्ति गर्नका लागि गर्नुपर्ने दैनिक सङ्घर्षले छायाँमा पारेको छ । नाकाबन्दीले क्युबालाई एक सार्वभौम मुलुकको रूपमा काम गर्नका निम्ति चाहिने संसाधनबाट वञ्चित गरेको छ । त्यही भएर अन्न, औषधि र अत्यावश्यक सामानको बरोबर अभाव हुन्छ ।
क्युबाको विश्वविख्यात स्वास्थ्य प्रणालीमा नवप्रवर्तन हुँदाहुँदै पनि यसले नाकाबन्दीको चर्को मार खेप्नुपरेको छ । कोभिड–१९ को आफ्नै खोप विकास गरेको क्युबाली स्वास्थ्य प्रणालीले अति आवश्यक मेडिकल सामग्री र प्रविधिमा पहुँच नपाउँदा उल्लेख्य चुनौती भोग्दै छ । जनतालाई दिन चाहेको स्तरको स्वास्थ्य सेवा दिन क्युबालाई हम्मेहम्मे पर्दै छ ।
नाकाबन्दीको असर अर्थतन्त्रको परिधिभन्दा पर फैलेको छ । नाकाबन्दीले सामाजिक र मनोवैज्ञानिक जटिलता पनि थपिएका छन् । स्वतन्त्र रूपमा बाँच्ने र काम गर्ने क्युबाली जनताको क्षमता सीमित हुँदै छ । यति हुँदाहुँदै पनि क्युबा सतिसालझैँ उभिएको छ । क्रान्तिका सिद्धान्तहरूमा जरा गाडेर उभिएको छ ।
क्युबाली क्रान्तिका सफलताहरू
नाकाबन्दी जति नै विकराल भए पनि क्युबाले स्वास्थ्य सेवा, शिक्षा र आवासको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ । सामाजिक न्यायप्रति क्रान्तिकारी सरकारको प्रतिबद्धताले यी मानवीय विजय सम्भव भएका हुन् । यी उपलब्धि क्युबाली जनताको प्रतिरोधी भावनाका प्रमाण हुन् ।
१. स्वास्थ्यसेवा : क्युबाले सबैको पहुँचमा पुग्ने गरी स्वास्थ्य प्रणाली निर्माण गरेको छ । नाकाबन्दीले जति नै बारबन्देज लगाए पनि यसलाई अझै विश्वको उत्कृष्ट स्वास्थ्यसेवा भन्ने गरिन्छ । क्युबाको सरदर आयु विकसित देशको स्तरमा छ । क्युबाले खाँचो परेका देशमा लगातार डाक्टर र स्वास्थ्यकर्मी पठाउँदै आएको छ । क्युबाले ल्याटिन अमेरिकाको पहिलो घरेलु कोभिड–१९ को खोप विकास ग¥यो । यसलाई क्युबामा मात्र नभई सहयोगको आसमा रहेका अन्य देशमा पनि वितरण गरियो ।
२. शिक्षा : क्युबाली क्रान्तिले देशको शिक्षा व्यवस्थामा कायापलट ग¥यो । शिक्षालाई निःशुल्क बनाउनुका साथै सबैको पहुँचमा पु¥यायो । साक्षरताको हिसाबले क्युबा संसारमै अब्बल देशहरूमा पर्छ । क्युबाली शिक्षाले आलोचनात्मक सोच, विज्ञान र प्रविधिमा जोड दिन्छ । क्युबाले अन्य देशका विद्यार्थीलाई छात्रवृत्ति दिने नीति स्थापित गरेको छ । यसका खासगरी दक्षिणी गोलाद्र्धका गरिब देशका विद्यार्थीलाई विशेष प्राथमिकता दिइन्छ । पहुँच नपुग्ने विश्वका धेरै विद्यार्थीलाई क्युबाले गुणस्तरीय शिक्षा दिएको छ ।
३. आवास : क्रान्तिपछि क्युबाले आवास व्यवस्थामा उल्लेख्य सुधार ग¥यो । क्रान्तिअघि आवास व्यवस्थामा ठुलो असमानता थियो । क्रान्तिले त्यो असमानता हटायो । आज क्युबाले आफ्ना प्रत्येक नागरिकलाई आवास उपलब्ध गराएको छ । नाकाबन्दीका गहिरा चुनौतीबिच पनि सरकारले जनताको जीवनस्तर सुधार्ने कार्यलाई उच्च प्राथमिकता दिँदै आएको छ ।
यी उपलब्धिले क्युबाको समाजवादी प्रयोगको शक्ति झल्काउँछन् । साथै, यसबाट मुलुकले बहुराष्ट्रिय कम्पनीहरूको नाफालाई भन्दा आफ्ना जनताको जीवनलाई प्राथमिकतामा राख्छ भने यी उपलब्धि हासिल गर्न सकिन्छ भन्ने बहुमूल्य पाठ पनि सिक्न सकिन्छ ।
क्युबाप्रति ऐक्यबद्धता : साम्राज्यवादविरूद्ध उभिऔँ
नाकाबन्दी पुरानो कुरा हो भन्ने मिथकलाई हामीले चुनौती दिनु आवश्यक छ । क्युबाविरूद्ध अमेरिकाले लगाएको नाकाबन्दीले लगातार क्युबाली जनताको सार्वभौमिकतामा हमला गरिरहेको छ । साम्राज्यवादले गर्ने हिंसाको दाँजोमा यो हमला कुनै पनि कोणबाट कम छैन । विश्वमा आफ्नो प्रभुत्व कायम गर्न अमेरिका कतिसम्म गिर्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो क्युबामाथि अमेरिकी नाकाबन्दी । क्युबाप्रति ऐक्बद्धतालाई अझ व्यापक बनाउनुपर्ने बेला भइसकेको छ । शब्दमा मात्र होइन, केही ठोस काम गर्नुपर्ने बेला आइसकेको छ ।
सार्वभौमिकता जोगाउने क्युबाको सङ्घर्षमा योगदान गर्ने केही उपाय यस्ता हुनसक्छन् –अमेरिकाको अवैध नाकाबन्दीविरूद्ध स्पष्ट अडान लिनका लागि आफ्नो देशको सरकारलाई दबाब दिने; क्युबाको आफूखुसी निर्णय लिने अधिकारको पक्षमा चल्ने आन्दोलनमा सहभागी हुने; नाकाबन्दीको नृशंसताबारे अरूलाई शिक्षित गर्ने ।
हामी श्रमजीवी हौँ; समाजवादी हौँ । तसर्थ, क्युबाको सङ्घर्ष हाम्रो पनि सङ्घर्ष हो । अमेरिकी नाकाबन्दी अन्त्य गर्नका लागि हुने लडाइँ क्युबाको लडाइँ मात्र होइन, साम्राज्यवादविरोधी लडाइँ पनि हो । हो, विश्वका सम्पूर्ण शोषित–पीडित जनताको स्वाभिमानको लडाइँ ।
(लेखक क्यानडा–क्युबा मैत्री सङ्घ टोरन्टोका कार्यकारी सदस्य हुन् ।)
स्रोत : एमआर अनलाइन 
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *