भर्खरै :

साम्यवाद नै किन ?

  • जेष्ठ १९, २०८२
  • महापण्डित राहुल सांकृत्यायन
  • विचार
साम्यवाद नै किन ?

समस्याको समाधान हाम्रो देशमा दुई किसिमका मानिसले गर्छन्† पहिलो ती जो धनको माध्यमबाट आरामको जीवन व्यतित गर्छन् र साम्यवादको त्रासले जसको बुद्धिलाई रातदिन हैरान पारिहेको छ । यदि यस श्रेणीका मानिसहरूमा केही उदारता छ भने उनीहरू आफ्नो वरपरका गरिब भोका–नाङ्गाहरूप्रति केही समय ध्यान दिन बाध्य हुन्छन् । फेरि पनि उनीहरू साम्यवादलाई असम्भव र अवाञ्छनीय भन्दै टालिदिन्छन् । दोस्रो ती मानिस जो ‘आफू सुखी त संसार सुखी’ मान्छन् । उनीहरूबाट त यी कुरामा विचार गर्ने आशा नै राख्नुहुँदैन । हो, एक अर्को श्रेणीका मानिसहरू परिस्थितिको गम्भीरता बुझ्छन् र त्यसको लागि केही गरौँ भन्ने चाहन्छन् । त्यसमा पनि दुई प्रकारका मानिस हुन्छन्, एक त ती साम्यवादी जसको दृष्टिकोणअनुसार नै यो रचना लेखिएको छ र अर्को ती मानिस जो यसो भन्छन्, “हामी यस शैतानी यन्त्रवादलाई नै छाडेर त्यो पुरानो युगमा फर्काैँ जहाँ यी यन्त्रको नाम नै थिएन । जुन समयमा हरेक गाउँ एउटा पूरै संसार थियो, जहाँ पोडे, कामी, जुलाहा र किसानलगायत सबै मानिस स्वतन्त्रतापूर्वक हरिया–हरिया खेत र शीतल बगैँचाहरूबाट घेरिएर प्रकृतिको काखमा खेलेर शान्ति र सन्तोषको जीवन बिताउँथे । त्यतिखेर तिनका छिमेकका तपोवनहरूमा ऋषि तथा महात्माहरूको प्रशान्त आश्रमहरूमा आफ्नो आध्यात्मिक आनन्द र प्रेमपूर्वक मानिस तथा पशुपक्षीहरूलाई समेत सुख प्रदान गर्ने गर्थे । जुन यन्त्रका कारण हामीबाट त्यो स्वर्गको संसार वा सत्ययुग खोसियो, हामी त्यहीँ फर्काैँ !”
हो, तपाईँ भन्न सक्नुहुन्छ, “केही हामी गर्नेछौँ र केही भगवानले पनि त हामीलाई सहायता दिनेछन् ।” होइन महाशय हामी स्वयम्माथि विश्वास छैन भने हामी स्वयम् केही नगरौँ भगवानमाथि नै सबै कुरा छोडौँ ! त्यसो त केही मानिस आफ्नो मनलाई बुझाइरहेका छन् कि साम्यवादीहरू जे पनि गरिरहेका छन् त्यो ‘भगवान्’ ले नै गरिरहेका छन् ।
हामीले मानव जातिको विकट समस्याहरूबारे धेरै लेखिसकेका छौँ र देखाइसकेका छौँ कि त्यसबाट बच्ने एउटै मात्र उपाय समाजवाद–साम्यवाद हो । प्रश्न उठाउने गरिएको छ – के संसारमा साम्यवाद लागु भएरै छोड्नेछ ? यो त्यस्तो प्रश्न हो जसको उत्तर एकदमसित हुन्छ वा हुँदैनमा दिन सम्भव छैन । कारण (१) संसारका यति धेरै जनसमुदाय बेरोजगार बनी भोकै मर्नु, (२) हरेक १०–१२ वर्षमा बजार अर्थतन्त्रमा मन्दी आउनु अनि त्यसको परिणामस्वरूप एकातिर बेरोजगार बनी जनता भोकै मर्नु र अर्कोतिर बुर्जुवा सरकारहरूले बर्सेनि लाखौँ मन खाद्यान्नमा आगो लगाउनु, (३) संसारमाथि सधैँ नै भयङ्कर आधुनिक प्रकारका युद्धको नाङ्गो तरबार झुन्डिरहनु, (४) वंशानुगत रोगहरू तथा मानसिक दुर्बलता हटाएर नयाँ मानव जन्माउने मार्गको पाइला–पाइलामा बाधा हुनु, (५) धनी–गरिब सबैजना भविष्यको अनिश्चित अवस्थादेखि चिन्तित रहनु । यी र यस्तै अरू पनि कैयौँ कुराहरू छन् जसलाई साम्यवादले मात्र समाधान गर्नसक्छ । शताब्दियौँदेखि सुरक्षित आफ्नो स्वार्थ रक्षाका लागि कैयौँ बलिया शक्तिहरू समेत साम्यवादको विरोध गरिरहेका छन् । तर, पनि माथि उल्लेखित समस्याहरू मनगढन्त होइनन् । उनीहरूको वेदनाले हरेक मानिसलाई समय–समयमा बिच्छीको टोकाइले जत्ति नै पोल्नेगर्छ । यसकारण, मानिसको मस्तिष्कमा पटकपटक साम्यवादको स्मरण हुनु अनिवार्य ठहरियो र यसैबाट पुष्टि हुन्छ कि साम्यवाद संसारमा फैलिएरै छोड्नेछ ।
पुँजीपतिहरूसित धनको ठुलो शक्ति छ; विद्याबुद्धि पनि छ; धर्म र ईश्वरको जाल पनि छ । तैपनि, चुपचाप बस्ने छैनन्; आ–आफ्नो स्वार्थ रक्षाका लागि साम्यवादको विरोध जिउज्यान लगाएर गर्नेछन् – बुद्धिले पनि र शस्त्रले पनि । परन्तु तिनीहरूको स्वार्थ त्यतिबेलामात्र पूरा हुनसक्छ :–
(१) यदि तिनीहरूले केही परतन्त्र देशहरूलाई सधैँको लागि उपनिवेश बनाउन सक्छन् र त्यसप्रकार एक स्थायी बजार तिनीहरूको साथमा भएमा,
(२) यदि परतन्त्र देशहरूका लागि पुँजीवादी देशहरूमाझ आपसमा युद्ध नगर्ने सम्झौता भएमा र परतन्त्र देशहरूलाई कहिल्यै स्वतन्त्र हुने मौका नमिलेमा; पुँजीवादी देशहरूलाई आधुनिक वैज्ञानिक युद्धका कारण आफ्नो सर्वनाश गर्नुनपरेमा,
(३) जनसङ्ख्या वृद्धि र यन्त्रको कारण बेरोजगार हुने मानिसहरूलाई पुँजीपतिहरूले युद्ध या आमनरसंहारद्वारा नष्ट गर्न सकेमा,
(४) यदि मानव जातिको ज्ञानपिपासा तथा मनन–अन्वेषणको प्रवृत्ति अगाडि बढेन र स्वार्थी मालिकहरूको शासन अन्त्य गर्ने वैज्ञानिक एवम् विचारकहरू फेरि तयार हुन नसकेमा,
(५) यदि मानव जातिमा आदर्शको लागि प्राणको बाजी लगाउने सत्पुरुषहरूको जन्म हुन सधैँका लागि बन्द भएमा तब हामी भन्न सक्छौँ – साम्यवाद संसारमा फैलिने छैन† समाजवाद र साम्यवाद कहिल्यै आउने छैन ।
हामीले पक्ष र विपक्ष दुइटै किसिमको कारणहरू अगाडि राखिदियौँ । तिनलाई हेरेपछि थाहा हुन्छ कि साम्यवादका पक्षपातीहरूभन्दा विरोधीहरूका कारण साम्यवाद आउने सम्भावना बलियो छ । त्यसैले, ढिलो या चाँडो समाजवाद र साम्यवाद सफल हुने नै छ । पुँजीवादीहरूको सिद्धान्त आदर्शवाद होइन; स्वार्थवाद हो । यसकारण, उनीहरूले कहिल्यै समाजवाद–साम्यवाद नआवस् भनी चाहन्छन् । तर, तिनीहरू यतिमा पनि सन्तोष हुन्छन् कि आफ्नो जीवनभरमात्र भए पनि साम्यवाद नआवस् ! संसारको उथलपुथलमा तिनीहरूले देखेका सुनेका छन् कि कतिपय धनीका छोरा–छोरीहरूले पनि पछि मजदुरी गर्नुपरेको छ । हुन त उनीहरू नाफाका अगाडि आफ्ना छोराछोरीको पनि वास्ता गर्दैनन् । उनीहरूका लागि आफ्नो नाफा र आफ्नो जिन्दगीको सुख नै पहिलो ध्येय हो । तर, साम्यवादीहरू आफ्नोसामु एक आदर्श राख्छन् । त्यो आदर्श जसले मात्र आफ्नो देशलाई होइन सारा मानव जातिलाई चिरस्थायी शान्ति प्राप्त हुन्छ । तसर्थ, ढिलो भए पनि उनीहरू आफ्नो कामलाई छोड्न सक्दैनन् । ढिलो हुनु या नहुनुमा उनीहरूकै सक्रियता मात्र भर पर्ने होइन । फेरि बिना प्रयत्न, बिना स्वार्थत्याग, बिना एकता साम्यवाद आफै आउँछ र संसारभर फैलिन्छ भन्ने आशा राख्नु साम्यवादको कर्मण्यतापूर्ण सिद्धान्तको ठीकविपरीत हुन्छ ।
साम्यवादको सफलता चाहनेहरूले साम्यवादको शत्रु को–को हुन् भनी चिन्न पनि जरुरी छ । साम्यवादको विरोध गर्ने दुईथरी मानिस हुन्छन्; एक त ती जो जानेरबुझेर नै आफ्नो स्वार्थको लागि विरोध गर्छन् र दोस्रो भ्रमपूर्ण धारणा र अज्ञानताको कारण शत्रुवत् आचरण गर्छन् । साम्यवादको विरोधीको पहिलो श्रेणीमा (१) पुँजीपतिवर्ग, (२) पुँजीपतिवर्गको कृतदास वा कर्मचारीतन्त्र, नोकरचाकर र धर्मका पुरोहित र (३) समाजका ज्येष्ठ नागरिकहरू जसले नयाँ विचारमाथि सोचविचार गर्ने शक्ति गुमाइसकेका छन् । पुँजीपतिहरूको लागि धर्म ईश्वर र भाग्यवाद जनविरोधलाई मत्थर पार्ने भयङ्कर अस्त्र हो ।
दोस्रो श्रेणीको शत्रुहरूमा (१) अन्धभक्ति र श्रद्धा – तपस्याका प्रचारकहरूको नम्बर पहिला आउँछ । किनकी, उनीहरूले मानिसको स्वतन्त्रतापूर्वक विचार गर्ने क्षमतालाई नै बेकार पारिदिन्छन् । (२) अन्ध राष्ट्रियता पनि साम्यवादको आन्तरिक शत्रुहरूमा पर्छ किनकि त्यसले संसारका सबै श्रमजीवीहरूको एकतामा बाधा पार्नेमात्र होइन बरु उनीहरूलाई एक आपसमा शत्रुता गराएर बन्धुहत्याको लागि तयार पार्छ । राष्ट्रियताको समर्थक हुँदाहुँदै पनि साम्यवादीहरू अन्तर्राष्ट्रियवादी हुन्छन् । स्वदेशी समाजवादको नारा मात्र अरूको आँखामा धूलो छ्याप्न र आफ्नो नेतागिरी कायम राख्नका लागि हो । (३) पुरानो कुराको बेसुर राग अलापिरहनु भविष्यमा दिन–प्रतिदिन हुने चौतर्फी प्रगतिलाई भूतकालमा खोज्ने या भूतकालको तुलनामा भविष्यलाई निकृष्ट सम्झने; हरेक कुरामा पुराना किताबहरू र कुराहरूको बढी उदाहरण दिनु पनि एक प्रकारको मानसिक दासता हो र यो पनि साम्यवादको सूक्ष्म तर बलियो शत्रुमध्येमा पर्छ ।
शत्रुका बारेमा चर्चा गरेपछि यहाँ साम्यवादका सक्कली संस्थापकहरू तथा सहायकहरूका बारेमा पनि भन्नैपर्छ । समाजवाद–साम्यवाद शब्दमा यस समय धेरै आकर्षण छ । यसकारण, काँचा–पाका सबै प्रकारका मानिस यसमा आउन चाहन्छन् । साम्यवादी आन्दोलनको विगत सय वर्षको इतिहासलाई पढेपछि थाहा हुन्छ कि शत्रुको तुलनामा साम्यवादका अनुयायी भन्नेहरूबाटै साम्यवादलाई बढी नोक्सान पुगेको छ । दोस्रो विश्वयुद्धपछि त केही देशमा साम्यवादको निश्चित सफलता केही पिँढीका लागि असम्भव भएको छ । त्यसकारण, हामीले साम्यवादका काँचा र पाका अनुयायीहरूलाई चिन्नैपर्छ ।
साम्यवाद शब्दबाट आकर्षित भएर आउनेहरूमा धेरैजसो युवाहरू हुन्छन् । युवावस्थाको निष्पक्ष विचारशक्ति अरू बन्धनबाट खुकुलो हुनेहुँदा साम्यवादतर्फ आकर्षित हुने गर्छ । फेरि पनि युवावस्थामा मानिसको निश्चय कच्चा हुने गर्छ । तिनीहरूमध्ये कतिपय त फेसनकै लागि साम्यवादतिर ढल्केका हुन्छन् । कोही कोही भने छिटो नेता बन्ने लोभले पनि प्रेरित भएका हुन्छन् । कतिपयका लागि साम्यवादी समूह बौद्धिक विलासको थलोमात्र हुन्छ । उनीहरूको मनभित्र साम्यवाद बसेकै हुँदैन । त्यस्ताहरूले कार्यगतरूपमा साम्यवादी आन्दोलनलाई खासै योगदान दिन सक्दैनन् । किनभने, उनीहरू आफ्ना धनी नाता – कुटुम्ब र साथीभाइहरूको हितलाई ध्यान दिएर सम्झौतावादी नीतिमा झुक्न जान्छन् र परिस्थितिको आवश्यकताअनुसार काम गर्न सक्दैनन् बरु बाधा हाल्छन् । आफ्नो ठुलो आर्थिक नोक्सानले यिनीहरूलाई अगाडि बढ्नबाट रोक्छ । शब्दको पछि झगडा गर्ने यिनीहरूको स्वाभाविक प्रवृत्ति हुन्छ; जीवनको वास्तविक कठिनाइहरूको अनुभव यिनीहरूसित निकै कम हुन्छ । स्वयम्ले दुःख नभोगेको हुनाले गरिबको दुःखको ध्यान कहिलेकाहीँ र त्यो पनि छोटो समयको लागि मात्र आउँछ । उनीहरूमध्ये धेरैलाई साम्यवादी आन्दोलनले सत्तामा माथि माथि चढ्ने सिँढीकै मात्र काम दिन्छ र आफ्नो स्वार्थ पूरा भएपछि नै साम्यवादी आन्दोलनलाई गलत बताउँदै त्यागेर हिँड्छन् ।
धनी वर्गका युवाहरूजत्तिकै त होइनन् तर बुद्धिजीवी युवाहरू पनि साम्यवादको पक्का समर्थक भएको योग्यता राख्दैनन् । साधारण निम्नमध्यम वर्गमा जन्म भएर पनि उनीहरूमा ठुलो बन्ने अवसर आइरहन्छ र ठुलो बनिसकेपछि उनीहरू सजिलै आफ्ना पुराना सहकर्मीहरूलाई विश्वासघात गर्न या कृतघ्नताको व्यवहार गर्न पछि पर्दैनन् ।
साम्यवादको वास्तविक संस्थापक र समर्थकको श्रेणीमा श्रमजीवी मजदुर र किसान नै मात्र हुनसक्छन् किनभने उनीहरूको अभावग्रस्त अवस्था, असहाय गरिबीको पीडाले पटकपटक उनीहरूलाई साम्यवादतर्फ आकर्षित गरिरहन्छ । उनीहरू साम्यवादको लागि हुने युद्धमा निर्भयतापूर्वक लडिरहन सक्छन् किनभने उनीहरूसित गुमाउनका लागि खासै केही हुँदैन । जितेमा उनीहरूलाई स्वतन्त्रता र अनेक अवसर मिल्ने सम्भावना हुनेछ र हारेमा पनि फेरि युद्ध जारी राख्ने अवसर सधैँको लागि उनीहरूबाट खोजिएको हुँदैन । सङ्ख्या वा काम गर्ने हिसाबले पनि संसारका श्रमजीवीवर्ग विशाल शक्ति हो; जुन बोध भइसकेपछि श्रमजीवी जनता सङ्घर्षबाट पछाडि हट्ने नामै लिँदैनन् । धनी पुँजीपतिहरू श्रमिकहरूले नै बनाएका हुन्† आफ्नो शक्ति र समताको उपयोग गरी उनीहरूलाई बर्बाद पार्न सक्छन् ।
यथार्थ यो हुँदाहुँदै पनि साम्यवादका कच्चा समर्थकहरू र बुद्धिजीवीहरूलाई बहिष्कार नै गर्नुपर्छ भन्ने होइन । बुद्धिजीवीहरूका सम्बन्धमा माथिका विचार मात्र राख्नु पनि उनीहरूबाट हुने हानिकारकता हुन नदिन या हटाउन पर्याप्त हुन्छ । बुद्धिजीवीहरू एकपटक सच्चा भावका साथ आउँछन् र तीमध्ये कतिपय त सधैँका लागि श्रमजीवी वर्गसितै साम्यवादका लागि एकाकार भएर रहन्छन् । साम्यवादका लागि उनीहरूका सेवा पनि अनमोल हुन्छन् । फेरि पनि समयसमयमा उनीहरूबाट क्रान्ति र साम्यवादलाई विश्वासघात भइरहेको देखिन्छ । त्यसलाई देखेरै साम्यवादी आन्दोलनको मुख्य आधार बुद्धिजीवीहरूलाई नबनाउनु नै राम्रो हुन्छ । साम्यवादको सही आधार श्रमजीवीवर्ग नै मात्र हुनसक्छ । अरू श्रेणीका मानिसहरू आइरहने र गइरहने हुन्छन् तर श्रमजीवीवर्गले पार्टी कार्यकर्ताको पङ्क्ति खाली हुन दिँदैन । यसप्रकार, साम्यवादको लडाइँ तबसम्म जारी रहन्छ जबसम्म संसारमा धनी गरिब, शोषक–शोषितको भेद मेटिँदैन । जब वर्गभेदरहित मानव समाज कायम हुन्छ; तब अहिलेका कठिनाइहरूमात्र अन्त्य हुने होइन बरु समाजका अनेक प्रकारका चिन्ता र अव्यवस्थाहरू टाढा भएर मानव जीवन धेरै नै शान्तिमय, सुखमय र सन्तोषमय हुनेछ । त्यतिखेर प्राकृतिक विपत्तिहरू आउनेबेला बढी तयारी, तत्परता, संयम र धैर्यका साथ तिनको सामना गर्न सकिने हुन्छ । मानिसको मानिससितको व्यवहार पनि त्यतिबेला बढी प्रेम, सहानुभूति र समानतापूर्ण एवम् देखावटीरहित हुनेछ ।
भाषान्तर : प्रकाश
स्रोत : युवा बुलेटिन – २०७६

Leave a Reply

Your email address will not be published. Required fields are marked *