के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
कानुनमा एउटा प्रचलित भनाइ छ, “जुन काम सिधा गर्न मिल्दैन त्यो काम बाङ्गो गरेर पनि गर्न मिल्दैन ।” नेपालको राजनीतिक परिदृश्यमा भइरहेका गतिविधिहरू देख्दा बेलाबखत यो कुराको सम्झना गराउँछ । विषय हो — सांसद विकास कोषबारे ।
सर्वोच्च अदालतले २०८० भाद्र ६ गते नै सांसद विकास कोष राख्न उचित नभएको भनी अन्तरिम आदेश जारी गरेको थियो । अदालतले योजना आयोग तथा मन्त्रालयको क्षेत्राधिकार, योजनाबद्ध विकासको अवधारणा, स्वार्थबाझिने अवस्था, सुशासन र जवाफदेहिताको मान्यता प्रति ध्यानाकर्षण गर्दै उक्त कोष वितरण नगर्न अन्तरिम आदेश जारी गरेको हो । तर, सङ्घ र प्रदेशका सत्ता पक्ष र विपक्षका सांसदहरूले आफ्ना लागि बजेट विनियोजन नगरेमा बजेट नै पास गरी नदिने धम्की दिएर विभिन्न शीर्षकमा बजेट राख्ने गर्दै आएको छ । सर्वोच्चको आदेशलाई छलेर सङ्घ सरकारले सांसदहरूको सिफारिसमा योजना छनोट र कार्यान्वयन गर्ने नीति लियो भने अब प्रदेश सरकारहरू पनि त्यही नीतिअनुसार अघि बढ्ने तयारी गरिरहेका देखिन्छन् ।
चालु आ.ब.मा कोसी प्रदेशमा प्रत्यक्ष निर्वाचितलाई १ करोड ५० लाख र समानुपातिक सांसदलाई ५० लाख, मधेस प्रदेशमा प्रत्यक्षलाई ५ करोड र समानुपातिकलाई १ करोड ५० लाख, वाग्मतीले रकम किटान नगरी प्रदेश सांसदको सिफारिसमा योजना छनोट, गण्डकीमा २ करोडसम्म, लुम्बिनीमा प्रत्यक्षलाई २ करोड ५० लाख र समानुपातिकलाई २ करोडको योजना सिफारिस र कार्यान्वयन गर्दै आएको छ भने कर्णाली र सुदूरपश्चिमको कार्यान्वयन गर्दै आएको छ भने कर्णाली र सुदूरपश्चिमको अवस्था पनि त्यही छ ।
सङ्घ सरकारद्वारा जेठ १५ गते बजेट प्रस्तुत बजेटमा ‘सांसद विकास कोष’ भन्ने शब्द कहीँ नपरे पनि प्रत्यक्ष निर्वाचित सांसदहरूको निम्ति प्रतिसांसद रु.२१ करोडको योजना सिफारिस र कार्यान्वयन गर्ने सहमति भएको र सोहीअनुसार शहरी विकास मन्त्रालयको बजेटमा साविकमा बढाएर १ खर्ब १८ अर्ब ३४ करोड पु¥याइएको पाइएको छ ।
सांसदहरू विकास रकम पाउन किन लालायित ?
२०५९ सालपछि देश केही वर्षसम्म जनप्रतिनिधिविहीन बन्यो । संसद् विघटन भएर निर्वाचन हुन नसकेको र २०५९ असार मसान्तदेखि देशभरका स्थानीय तह पनि जनप्रतिनिधिविहीन थियो । स्थानीय तह नहुँदा देशभर विकास निर्माण ठप्प थियो । यही सन्दर्भमा २०६३ वैशाख ११ गते जनआन्दोलनको बलले संसद् पुनःस्थापना भएपछि सांसद विकास कोषको व्यवस्था गरिएको हो ।
२०७२ सालमा नेपालको संविधान जारी भयो । संविधानमा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गरियो । संविधानले नै तीन तहको अधिकार समेत बाँडफाँट गरी दियो । स्थानीय तह जनतासँग प्रत्यक्ष सम्पर्क हुने र नजिकको सरकार भएको हुँदा विकास निर्माणमा स्थानीय तहले प्रत्यक्ष काम गर्न सक्ने भयो । संविधानअनुसार भएको दुईपटकको निर्वाचनले यो कुरा पुष्टि पनि गरिसकेको छ ।
सांसदहरू उच्च ओहडाका सम्मानित व्यक्तित्व हुने हुँदा विकास निर्माणको काममा भन्दा नयाँ नयाँ कानुनहरूको निर्माणमा ध्यान केन्द्रित गर्नुमा नै राम्रो हुनेछ । देशमा प्रचलित कानुनलाई आवश्यकताअनुसार समयानुकूल परिवर्तन गर्नमा ध्यान दिनु, विश्वका विभिन्न देशहरूका कानुन अध्ययन गरी नेपालका वर्तमान अवस्थामा के कस्तो कानुन भएमा देश र जनताको हित हुन्छ भनी चिन्तन गर्नु, नीति तथा कार्यक्रम र बजेट पारित गर्नुमा सांसदहरूको मुख्य भूमिका हुनुपर्छ । सांसदहरू संसद्मा पेश भएका विधेयक, प्रस्ताव अन्तर्राष्ट्रिय सन्धि—सम्झौताहरूबारे आफ्नो विचार प्रस्टसँग राख्न सके व्यक्ति र संसद् बौद्धिक अभ्यास गर्ने थलोको रूपमा विकास हुने छ ।
अधिकांश सांसदहरू आफ्नो कर्तव्य र जिम्मेवारीप्रति गम्भीर नभएको पाइएको छ । अधिकांश बैठकहरूमा संसद्का कुर्सीहरू खाली देखिनु र विधेयकबारे छलफलमा भाग लिने एकाध सांसदबाहेक कोही नहुनु राम्रो होइन । यसले संसद्को गरिमामाथि नै असर पुर्याएको छ । विधेयक पारित गर्न मतदानको समयमा गणपूरक सङ्ख्या नपुगेर पटक पटक संसद् बैठक स्थगित गर्नुपर्ने अवस्था आउनु लज्जास्पद विषय हो । पाँचतारे होटलमा कुनै एनजीओ वा आइएनजीओको कार्यक्रममा संसद्मा भन्दा बढी सांसदहरू भेला हुने गरेको समाचार पनि बेला बखत आउने गरेको छ ।
सरकारले पेश गरेको विधेयक वा प्रस्तावबारे ‘हुन्छ’ वा ‘हुन्न’ भनी हात उठाउने मात्रै सांसदहरूको काम हो भने यति ठूलो सांसद सङ्ख्याको औचित्य नै के रह्यो र ? चुनावमा करोडौँ खर्च गरेर जित्ने, संसद् भएपछि मन्त्री नै बन्नुपर्ने र आफ्नो खर्च उठाउने सोचले काम गर्नेबारे मन्त्रीहरूलाई आरोप लाग्दै आएको छ । अब सांसदको नाउँमा योजनाहरूको व्यवस्थाले पनि आर्थिक अनियमितताका प्रश्नहरू उठ्न सक्छन् ।
अहिले स्थानीय तहका अधिकांश प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू आर्थिक मामिलामा निकै बद्नाम छन् । विकास निर्माणसँग प्रत्यक्ष जोडिएकै कारण त्यसरी बद्नाम भएका हुन् । अब सङ्घ र प्रदेश सांसदहरूको नाम पनि त्यस्तोमा जोडिन सक्छन् । यसबारे सांसदहरू बढी नै सचेत हुन जरुरी छ ।
देशभरका स्थानीय तह विकास निर्माणको लागि सक्षम भइसकेको हुँदा सङ्घ र प्रदेश सरकारले स्थानीय तहलाई समानीकरण बजेटमा बढाएर त्यहाँको आवश्यकताको आधारमा काम गर्न दिएको भए त्यो बढी प्रभावकारी हुनेछ । आफ्नो क्षेत्रका सांसदहरूलाई त्यहाँ भएका विकास निर्माणबारे अनुगमनको जिम्मेवारी दिनु राम्रो हुनेछ ।
सांसद विकास कोषलाई जुनसुकै नाउँमा राखिए पनि त्यो सांसदहरूलाई विकासे कार्यकर्ता बनाउन खोज्नु नै हो तर यो राम्रो हुँदै होइन । सांसदहरूलाई बौद्धिक व्यक्तित्व र संसद्लाई बौद्धिक अभ्यास गर्ने प्राज्ञिक थलोको रूपमा विकास गर्नेतर्फ सबैले ध्यान दिनुपर्ने हो कि !
Leave a Reply