भर्खरै :

“साँघु” साप्ताहिकको पीत पत्रकारिता !

देश र जनताविरुद्ध पीत पत्रकारिता निर्दलीय पञ्चायती शासनमा थियो । आश्चर्य ! बहुदल र गणतन्त्रको शासनमा पनि पीत पत्रकारिता बढ्दो छ । नेपाल मजदुर किसान पार्टीले देश र जनताको निःस्वार्थरूपमा सेवा गदै आएकोलाई निर्दलीय पञ्चायती सरकारले मन पराएको थिएन । पञ्चायती सरकारले नेपाल मजदुर किसान पार्टीविरुद्ध राज्यस्तरको षड्यन्त्र ‘भक्तपुर काण्ड’ रचेर पार्टीका नेता कार्यकर्ताविरुद्ध झूटा ज्यान मुद्दा चलायो । यस्ता झूटको खेती गर्ने निर्दलीय पञ्चायती व्यवस्था जनआन्दोलनसामु आफै समाप्त भयो । तत्कालीन सरकार नेमकिपाका नेता कार्यकर्ताविरुद्धको झूटा मुद्दा फिर्ता लिन बाध्य भयो ।
बहुदलको पुनःस्थापना र गणतन्त्र भनिएको यो शासन व्यवस्थामा पनि प्रतिक्रियावादीहरू नेपाल मजदुर किसान पार्टीविरुद्ध हिलो छ्याप्ने काम गर्दै छन् । २०८२ जेठ १९ गतेको ‘साँघु’ साप्ताहिकमा ‘भक्तपुर सूर्यविनायक नगरपालिका कटुञ्जे हाइटमा सुशिला भैरवको मन्दिरको जग्गा भूमाफियाले हडपे’ शीर्षकको समाचार प्रकाशित भयो । त्यसमा उल्लेख छ – “पुरानो गाविस भवन र हालको वडा कार्यालय वरपरको जग्गा नेमकिपाका नेताहरूको आडमा जोशी परिवारले मिचेको स्थानीय व्यक्तिहरूले आरोप लगाएका छन् ।”
‘साँघु’ साप्ताहिकका संस्थापक तथा अतिथि सम्पादक गोपाल बुढाथोकी र सम्पादक रामकला बुढाथोकीले यो समाचार प्रकाशित गर्नुअघि नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगरपालिका कटुञ्जेका अध्यक्ष वा अन्य पदाधिकारीसँग सम्पर्क गरी प्रमाणित किन गरेनन् ? के सार्वजनिक जग्गा मिच्नेहरू ‘साँघु’ साप्ताहिकका बुढाथोकी बन्धुका आफन्त वा मित्र त होइनन् ?
सार्वजनिक जग्गा अतिक्रमणका आरोपीहरू कटुञ्जेका राजकुमार जोशी एमालेको तर्फबाट स्थानीय वडा नं ५ का वडाध्यक्ष हुन् । यो यथार्थ ‘साँघु’ ले किन लेख्ने साहस गरेन ?स्थानीय श्याम जोशी वडाध्यक्ष राजकुमार जोशीका काकाको छोरा हुन् भने पे्रम जोशी ठुलो बुबाका छोरा हुन् । यो यथार्थ ‘साँघु’ ले किन लुकायो ?
नेमकिपाका कार्यकर्ताहरूले सरकारी तथा सार्वजनिक जग्गा, जंगल, कमलपोखरी संरक्षणको लागि आवाज उठाउँदै आउनु भएको छ । ‘साँघु’ साप्ताहिकले शासक दलहरूको ‘झोले’ भएर सर्वसाधारण जनतामा भ्रम फैलाउने काम गरेको पीत पत्रकारिता किन होइन ? ‘साँघु’ साप्ताहिकले नेमकिपाविरुद्ध विषवमन गर्नुअघि एकपटक आफ्नो धरातल छाम्नु उपयुक्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *