जारशाही संसद्मा बोल्शेभिक सांसद – ६
- कार्तिक २४, २०८२
यो देशमा जसरी भ्रष्टाचार र अन्यायका घटना दिनहुँ भइरहन्छन् त्यसरी नै जनताको ध्यान मोड्ने घटना पनि केही न केही भइरहन्छन् । हिजोअस्तिसम्म पोखरा विमानस्थलमा भएको भ्रष्टाचार, भैरहवा विमानस्थलमा भएको भ्रष्टाचार छानबिन नियुक्तिका कुरा हुँदै थियो । मानिसलाई जीउँदै इँटाभट्टामा हालेर मार्ने आलमलाई न्यायालयले उन्मुक्ति दिएको विषयमा पनि असन्तुष्टि पोखिँदै थियो । त्यत्तिकैमा गृहमन्त्रीको भिजिट भिसा प्रकरणको चर्चा हुन थाल्यो । १७ वर्षअघि पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यानमुद्दा अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको कुरा पनि थाहा पाइयो । यसैबिच पछिल्लो पटक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको विषयले यतिखेर बजार पाएको छ ।
कानुन सबैले पालना गर्नुपर्छ र कानुनका दृष्टिमा सबै बराबर हुन्छन् । तर, हाम्रो देशका ठुला नेताहरू आफूलाई कानुन नलाग्ने राणाशासक वा राजासमान ठान्छन् । त्यही भएर उनीहरू निर्धक्कसँग भन्छन्, “दोषी भए मलाई पनि कारबाही होस् ¤ मबाटै छानबिन सुरु गरियोस् !! मानौँ, उहाँबाट गल्ती भएकै छैन । उहाँलाई कारबाही गर्ने ताकत कसैको पनि छैन र त्यो दुस्साहस कसैले गर्नु पापै लाग्ने कुरो हो । आजसम्म भएको पनि त्यस्तै छ । क्यान्टोन्मेन्ट घोटालाका विषयमा आफैँले कम्मर मर्काईमर्काई घोषणा गर्दा र सार्वजनिक रूपमै पाँच हजार मारिएको जिम्मा म लिन्छु भन्दा पनि प्रचण्डलाई कारबाही गर्ने कानुनी आधार भएन । बूढीगण्डकी जलविद्युत् आयोजनामा ओली, देउवा र प्रचण्ड तीनजना मिलेर यति यति रकम खाएका हुन् भन्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भनाइ हावामा उडाइयो । यस्ता उदाहरण सम्झेर साध्य छैन । यसबाट के बुझ्नुपर्छ भने, यो देशमा कानुन कोमामा छ । मानवीय भावना, राजनीतिक संस्कार र कानुनीराजको अभ्यास हुन अझै बाँकी नै छ ।
छोरामाथि भ्रष्टाचारको आरोप लागेका कारण हालै मङ्गोलियामा प्रधानमन्त्रीले क्षमायाचनासहित राजीनामा दिएको समाचार आएको छ । यता हाम्रामा नेताले गरेको भ्रष्टाचारलाई कसरी थाहा नपाउने, कसरी उजुुर नपर्ने र कसरी वैधानिक बनाउने विषयमा चिन्तन गरिने भएकोले पूर्वप्रधानमन्त्रीले गरेको भ्रष्टाचारविरुद्ध मुद्दासम्म पर्नुलाई पनि कहीँ नभएको ठुलो र आजसम्म कतै नभएको ‘अचम्मको आँट’ मानिएको छ । यसलाई लिएर कतिपयले नेपालको राजनीतिमा पाकिस्तानी राजनीतिक परम्परा लागु हुने भन्दै छन् भने अभियोक्ता र सत्ताइतर पक्षकाले राजनीतिक प्रतिशोध साधिएको भन्दै छन् । सबै जना दोषी भएका कारण भोलि गएर आफूबिरुद्ध पनि उजुरी परेर कारबाही होला भन्ने डर भएपछि आउने अभिव्यक्ति यस्तै हो ।
मुद्दा दायर हुनु, उजुरी पर्नु खासै ठुलो कुरो मानिएन । कानुनबमोजिम कारबाही हुनु ठुलो कुरा हो । आजका सत्ताधारी नेता त प्रायः सबै बदनाम भएर उम्कने नै भए । भोलि कुनै दिन कोही असल नेताले यो देशको नेतृत्व गर्न पायो भने यिनका सन्तानलाई भए पनि ब्याजसहित कारवाही हुने नै छ । आजको निराशा र भोलिको यस्तै आशामा बाँच्नुसिवाय हामीसँग अर्को बिकल्प नै के छ र !
Leave a Reply