सरकारमा गएर कम्युनिस्टको सिद्धान्तअनुसार काम नगर्नेहरू यथार्थमा कम्युनिस्ट होइनन्
- कार्तिक २४, २०८२

काठमाडौँ, २५ जेठ । प्रतिनिधिसभाको आइतबारको बैठक अपराह्न १ बजे बस्ने कार्यसूची थियो । भिजिट भिसा भ्रष्टाचारको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका माओवादी केन्द्र र रास्वपाले संसद् अवरोध गर्ने भएपछि बैठक अपराह्न ३ः१५ बजे स्थगित गरियो ।
माओवादी र रास्वपाको बैठक सहमतिमा टुङ्गिएन । माओवादीले भिजिट भिसामा भएको भ्रष्टाचारबारे गृहमन्त्रीको नाम उल्लेख नगरी छानबिन गर्ने सहमति गरी प्रतिनिधिसभाको बैठक सुरु गराउने प्रस्ताव राखेको रास्वपालाई चित्त बुझेन । रास्वपाले गृहमन्त्री लेखकको राजीनामा र संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेको सार्वजनिक भयो ।
प्रतिनिधिसभाको बैठक ५ः३० बजे पुनः स्थगित गरियो । प्रतिपक्षी माओवादी र रास्वपासँग नेकाले मात्र छलफल गरिरहेको थियो । नेका र माओवादीबिच समझदारी बनाउने सहमति भएपछि नेका र एमालेबिच बैठक भएको सार्वजनिक भयो ।
साँझ ६ बजे प्रतिनिधिसभाको बैठक सुरू भयो । माओवादी र रास्वपाका सांसदहरूले बैठक अवरोध गरेपछि जेठ २६ गते सोमबार अपरान्ह २ बजेपछि स्थगित गरियो ।
नेकाले समर्थन गरेको एमालेको केपी ओलीको सरकार गठन भएको १० महिना पुग्दै छ । सरकारका कुनै पनि मन्त्रीहरूको कार्य सम्पादन सन्तोषजनक छैन । बरू, सत्तापक्षबाटै मन्त्रीहरू ‘गन्हाएको’ आरोप सार्वजनिक भयो ।
नेका र माओवादीको बैठकमा माओवादीका पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत र नेकाका पूर्णबहादुर खड्का र गगन थापाबिच बैठक भएको थियो । यसअघि माओवादी र रास्वपाबिच भएको छलफलमा पुष्पकमल दाहाल स्वयम् सहभागी थिए ।
माओवादी र रास्वपा यही मौकामा एमालेको ओली सरकार ढाल्न चाहन्थे । तर, नेका र एमाले सांसदहरू तत्काल भारत सरकार परिवर्तन नगर्ने पक्षमा रहेको दाबी गर्छन् । नेपालको राजनीतिमा भारतीय विस्तारवादको हस्तक्षेप पुरानो हो । राप्रपा पनि वार्तामा सहभागी नभएको समाचार छ ।
संसद्बाट निस्केका माओवादी अध्यक्ष दाहालले तत्काललाई सरकार परिवर्तनको विषय छलफल नभएको बताए । भारतीय कम्पनी पतञ्जलीको जग्गा खरिद बिक्रीमा भ्रष्टाचारको आरोपमा नेकपा (एस) का पूर्वप्रम माधव नेपालविरूद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि दाहाल र देउवाबिच फोन वार्ता भएको र पछि भेटेरै छलफल गरेको पनि सार्वजनिक भयो । सरकारमा गएका नेताहरू भ्रष्ट भएपछि देशमा सुशासन कायम नहुने यथार्थ देउवा, दाहाल, ओलीले बुझ पचाएको नै अहिलेको सङ्कट हो ।
Leave a Reply