जलवायु परिवर्तनले लाखौँ विस्थापित संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी
- कार्तिक २५, २०८२

काठमाडौँ, जेठ २६ । प्यालेस्टिनी ऐक्यबद्धता तथा जलवायु न्यायका निम्ति सङ्घर्षरत संयुक्त मोर्चाले बेलायतको परराष्ट्र मन्त्रालयको कार्यालयसामु प्रदर्शन गरेको छ । मोर्चाले जलवायु अभियन्ता ग्रेटा थुनबर्गको टोलीलाई रिहा गर्न माग गरेको छ । आन्दोलनकारीहरूले अभियन्ता टोलीको सकुशल रिहाइका लागि ‘आपत्कालीन प्रदर्शन’ गरेको बताएका छन् ।
‘मेडलिन’ नामक जहाजमा जलवायु अभियन्ता ग्रेटा थुनबर्गसहित १२ अभियन्ता थिए । टोलीमा फ्रान्सेली राजनीतिज्ञ रिमा हसन र चर्चित हलिउड कलाकारसमेत थिए । जहाजमा राखिएको मानवीय राहत सामग्री पु¥याउन यो जहाज भूमध्यसागर हुँदै गाजा जाँदै थियो । सामग्रीमा चामल, बालबालिकाको आहार, औषधि तथा उपचार सामग्री थियो । इजरायलको जल–नाकाबन्दी तोड्न उक्त जहाज गाजा नजिक पुगेको थियो ।
सोमबार बिहान ३ बजे आसपास इजरायली सेनाले जहाजलाई नियन्त्रण गरी अभियन्ता टोलीलाई हिरासतमा लिएको थियो ।
‘गाजा फ्रिडम फ्लोटिला कोअलिसन’ (एफएफसी) नामक अहिंसावादी सङ्गठनले उक्त अभियान सञ्चालन गरेको थियो । सङ्गठनमा क्यानडा, इटली, मलेसिया, न्युजिल्यान्ड, नर्वे, दक्षिण अफ्रिका, स्पेन, स्वीडेन, टर्की, संरा अमेरिका, आयरल्यान्ड, ब्राजिल, अस्ट्रेलिया र फ्रान्सका सदस्य पनि छन् ।
एकाध दशकदेखि सो सङ्गठनले इजरायलले गाजाविरुद्ध लगाइरहेको जल, थल तथा हवाई नाकाबन्दी तोड्ने प्रयास गर्दै आएको छ । अघिल्लो महिना सङ्गठनले यस्तै प्रयास गर्दा इजरायलले ड्रोन हमला गरेको थियो । उक्त टोलीमा अमेरिकाकी युद्धविरोधी प्रसिद्ध अभियन्ता एन. राइट पनि सामेल थिइन् ।
पछिल्लो घटनाबारे विचार राख्दै उक्त सङ्गठनले ‘दण्डको डर नमानी’ टोलीलाई इजरायलले ‘जबरजस्ती पक्राउ’ गरेको बताएको छ ।
वक्तव्य जारी गर्दै सङ्गठनले जहाजलाई ‘गैरकानुनी रूपमा तटमा उतारिएको’ र त्यसमा सवार टोलीलाई ‘अपहरण गरिएको’ जनाएको छ । जहाजका राहत सामग्रीलाई इजरायली सेनाले अन्तर्राष्ट्रिय जलक्षेत्रमा जबरजस्ती खोसेको वक्तव्यमा उल्लेख छ ।
लन्डनमा आयोजित विरोध प्रदर्शन ‘फोसिल फ्री लन्डन’ लगायत धेरै प्यालेस्टिनी तथा जलवायु समूहको आयोजनामा भएको थियो । इजरायलले पक्राउ गरेका अभियन्ताहरूको तत्काल रिहाइका लागि बेलायत सरकारले अग्रसरता लिनुपर्ने आन्दोलनकारीहरूको माग छ ।
‘अन्तर्राष्ट्रिय समुद्री कानुन’ अनुसार पक्राउ परेको जहाज बेलायतको कानुनी क्षेत्राधिकारभित्र पर्ने र बेलायती झन्डायुक्त उक्त जहाजमा सवार टोलीको सुरक्षाको वैधानिक दायित्व पनि बेलायतको हुने आन्दोलनकारीहरूको तर्क छ ।
सामाजिक सन्जाल ‘एक्स’ मा वक्तव्य जारी गर्दै ‘एफएफसी’ ले लेख्यो, “बेलायती झन्डा फहराइरहेको जहाज बेलायत सरकारको कानुनी क्षेत्राधिकार तथा जिम्मेवारीमा पर्छ । त्यसकारण, ‘मेडलिन’ तथा जहाजमा सवार सर्वसाधारणको रक्षा गर्ने तथा इजरायलजस्ता विदेशी शक्तिको (बल प्रयोगको धम्की वा खतरालगायत) गैरकानुनी हस्तक्षेप रोक्ने कानुनी दायित्व पनि बेलायतकै हुन्छ ।”
वक्तव्य थप भन्छ, “जहाजमाथि हुने कुनै हमला वा हस्तक्षेप संयुक्त राष्ट्रसङ्घीय समुद्री कानुन अभिसन्धि (युएनसिएलओएस) को उल्लङ्घन हुनुका साथै बेलायतको सार्वभौमसत्ताको अवहेलना तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको ठाडो उल्लङ्घनसमेत हो ।”
जहाजको सञ्चार प्रणाली ठप्प हुनुभन्दा ठीक अगाडि सामाजिक सञ्जालमा एउटा तस्बिर आएको थियो । तस्बिरमा सुरक्षा ज्याकेट लगाएका अभियन्ताहरूले हावामा हात उठाएको देखिन्छ ।
समातिनुअघि अभियन्ता टोलीले इजरायली चारखुट्टे ड्रोनहरूले जहाजलाई घेराबन्दीमा पारेर ‘सेतो तरल पदार्थ’ छर्किरहेको बताएका थिए ।
लगत्तै अभियन्ताहरूले पहिले नै रिकर्ड गरिराखेका भिडियो सन्देशहरू जारी गरिएको थियो ।
भिडियोमा थुनबर्गले भनिन्,
“तपार्इँहरूले यो भिडियो हेर्नुभयो भने बुझ्नुहोस् हामीलाई इजरायली कब्जाकारी सेनाले अन्तर्राष्ट्रिय जलक्षेत्रमा समातेर अपहरण गरिसकेको छ ।”
इजरायली विदेश मन्त्रालयले अभियन्ता टोलीलाई इजरायल लगिएको र उनीहरू ‘आआफ्नो देशमा फर्किने अपेक्षा गरिएको’ जनाएको छ । मन्त्रालयले आफ्नो आधिकारिक साइटमा थुनबर्गलाई स्यान्डविच दिइएको तस्बिर पोस्ट गरेको छ ।
मन्त्रालय लेख्छ, “खेल खत्तम भइसकेको छ ।”
पक्राउ परेका अभियन्ताहरूको थातठेगानबारे ‘एफएफसी’ ले खोजखबर गर्दै छ । इजरायली सेनासँग बुझ्दा कुनै जवाफ नआएको उक्त सङ्गठनले जनाएको छ । सो सङ्गठनकी एक नेतृले भनिन्, “मेडलिनमा सवार १२ व्यक्तिबारे हामीले अहिलेसम्म केही थाहा पाएका छैनौँ । उनीहरूको अत्तोपत्तो छैन ।”
इजरायली जेलसेवाले मेडलिनका अभियन्ताहरूलाई राख्नका लागि राम्ले सहरमा रहेको गिभोन कारागारमा अलग्गै कोठा तयार गरिएको बताएको छ ।
इजरायलका चरम दक्षिणपन्थी मन्त्री इतमार बेन गभिरले उक्त कारागारमा सञ्चारका सामग्री, रेडियो र टेलिभिजन नराख्न आदेश दिएका छन् । त्यस्तै कारागारमा कुनै पनि प्यालेस्टिनी प्रतीक चिह्न नराख्न भनिएको छ ।
जहाजी अभियानको समर्थक संस्था ‘अन्तर्राष्ट्रिय ऐक्यबद्धता आन्दोलन’ का सहसंस्थापक हुवाइदा आराफले इजरायलसँग मेडलिनको टोलीलाई हिरासतमा लिने ‘कुनै कानुनी अधिकार’ छैन भनेकी छिन् ।
आराफले वक्तव्यमा लेखिन्, “यी स्वयम्सेवकहरू इजरायली कानुन लाग्दैन । तिनलाई कुनै अवैध नाकाबन्दीलाई चुनौती दिएको वा राहत पु¥याएकोमा आरोपमा अपराधी मान्न सकिन्न । उनीहरूलाई थुनामा राख्नु मनपरी र गैरकानुनी हुनाले यसलाई तत्काल रोक्नुपर्छ ।”
फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले जहाजमा सवार ६ जना अभियन्ता फ्रान्सेली नागरिक हुनाले उनीहरूलाई ‘सक्दो छिटो फ्रान्स फर्काउनुपर्ने’ बताएको एक फ्रान्सेली अधिकारीले जनाए ।
यसबिच मानव अधिकारवादी संस्था ‘एमनेस्टी इन्टरनेसनल’ ले मेडलिन जहाजलाई नियन्त्रणमा लिनु र गाजापट्टीका सर्वसाधारणप्रति तिनको वैध उत्तरदायित्वलाई बेवास्ता गर्दै मेडलिनलाई रोक्नु अवैध कार्य भएको जनाएको छ ।
एमनेस्टीले भन्यो, “टोलीमा निःशस्त्र अभियन्ता थिए । मानव अधिकारवादी अभियानमा हुनाले मानव अधिकारका रक्षक थिए ।” उसले सबै अभियन्ताहरूलाई ‘निःसर्त रूपमा तत्काल’ रिहा गर्न माग गरेको छ ।
एक कब्जाकारी शक्तिको रूपमा इजरायलले गाजाका जनतालाई खाना, औषधिउपचार तथा अन्य अत्यावश्यक सामग्रीको पहुँचबाट ‘नियोजित रूपमै लगातार’ टाढा राखेको एमनेस्टीले जनाएको छ ।
मेडलिन जहाज र त्यसमा सवार अभियन्ताहरू गाजाका प्यालेस्टिनी जनताप्रति ‘ऐक्यबद्धताको शक्तिशाली प्रतीक’ बनेको एमनेस्टीले जनाएको छ । उसले लेखेको छ, “यो अभियान इजरायलको अमानवीय नाकाबन्दी अन्त्य गर्ने प्रयासमा अन्तर्राष्ट्रिय जगत असफल भइरहेको ज्वलन्त प्रमाणसमेत हो ।”
स्रोत : मिडल इस्ट आइ
Leave a Reply