भर्खरै :

‘माक्र्सवाद’ अध्ययन – १

माक्र्सवाद र इतिहास
कामदारवर्गलाई मुक्तिको बाटो देखाउने माक्र्सवादको चर्चा विश्वमा झन् झन् चुलिँदै छ । यसको सान्दर्भिकता झन् झन् बढ्दै छ । माक्र्सवाद पहिलेबाटै शतप्रतिशत तयार भएको सिद्धान्त होइन । पुँजीवादी विकृतिविरुद्ध १९ औँ शताब्दीमा माक्र्सवादअगाडि बढेको हो । मानिसले आफ्नो जीवन भोगाइको क्रममा बढीभन्दा बढी अनुभव प्राप्त गर्दै गएपछि इतिहासको नयाँ नयाँ पृष्ठहरू खुल्दै गए । माक्र्सवादले मानव समाजको अध्ययन गर्न भौतिकवादी दृष्टिकोण अपनाए । जसलाई ‘ऐतिहासिक भौतिकवाद’ भनियो । समाजको आर्थिक विकास, उत्पादन र विनिमयको तरिकामा आउने परिवर्तन, समाजको अलग–अलग वर्गहरूमा हुने विभाजन र वर्गसङ्घर्षको क्रममा भएका महत्वपूर्ण ऐतिहासिक घटनाहरूको कारण खोज्ने दृष्टिकोणको रूपमा “ऐतिहासिक भौतिकवाद” लाई माक्र्सवादले अङ्गिकार गरेको छ ।
ऐतिहासिक भौतिकवादी धारणा आउनुअघि समाजको उत्पत्ति र विकासबारे मान्छेलाई अन्यौलमा पार्ने आदर्शवादी धारणा प्रचलित थियो । आदर्शवादी धारणाले चेतनालाई प्रधान मान्दछ । यो धारणाअनुसार इतिहासको पुनरावृत्ति हुन्छ, परिवर्तन हुँदैन । चेतना भएका नायकहरूको पराक्रमले समाज परिवर्तन हुन्छ । तर, ऐतिहासिक भौतिकवादले कुनै पनि सामाजिक व्यवस्थाको सिर्जना मानवको चेतनाले नभई समाजकै भौतिक आधारले गर्ने धारणा राख्छ । यसमा भौतिक आधार प्रधान हुन्छ । समाजको भौतिक आधार बदलिएपछि त्यसको सामाजिक, राजनीतिक र सांस्कृतिक व्यवस्थाहरू ढिलो, चाँडो अनिवार्य रूपमा बदलिन्छन् ।
मानव इतिहासको सञ्चालन गर्ने प्राकृतिक नियमहरू पत्ता लगाउन माक्र्सवादले इतिहासको अध्ययन गर्दछ । माक्र्सले पुँजीवादको गहन अध्ययन गर्नुभयो । माक्र्सवादले पुँजीवादको उत्थान, विकास र पतनको नियमबारे व्याख्या गर्दछ । माक्र्सले समाजको वस्तुगत विश्लेषण गर्नुभयो । यसर्थ वस्तुगत जगतसम्बन्धी कार्ल माक्र्सको समष्टिगत धारणालाई नै माक्र्सवाद भनिन्छ ।
वर्ग
साधारण शब्दमा भन्ने हो भने आफ्ना जीविकाका साधनहरू एकै प्रकारले कमाउने मानिसहरूको समूहलाई ‘वर्ग’ भनिन्छ । दास युगमा दासहरूको श्रमले दासमालिकहरूको जीवन चल्थ्यो । दासहरू शोषित पीडित वर्गमा पर्थे भने दासमालिकहरू शोषक वर्गमा पर्थे । सामन्ती समाजमा उत्पादनका कार्यहरू अर्धदास, किसान, विशेषगरी कृषिद्वारा गरिन्थ्यो । बादशाह तथा सामन्तहरू यी नै अर्धदासहरूबाट असुल गरिने करहरूबाट आफ्नो जीविका चलाउँथे । सामन्तवादी समाजमा अर्धदास तथा किसानहरू शोषित पीडित वर्गमा पर्थे । अर्धदास तथा किसानहरूमा निर्भर सामन्तहरू शोषक वर्गमा पर्थे । ती दुवै वर्गका आ–आफ्ना स्वार्थ हुन्थे । अर्धदासहरूको परिश्रमबाट बढीभन्दा बढी फाइदा उठाउने स्वार्थ सामन्तहरूको हुन्थ्यो । अर्धदास किसानहरूको भने आफ्नो श्रमबाट उब्जिएको उत्पादन मालिकहरूलाई दिनुभन्दा आफ्नो परिवारको लागि बचाउने र मालिकहरूको दुव्र्यवहारबाट छुटकारा पाउन चाहने स्वार्थ हुन्थ्यो । दुवै वर्गका आ–आफ्ना स्वार्थहरूबिचको टकरावलाई नै ‘वर्ग सङ्घर्ष’ भनिन्छ । इतिहासमा दासहरूले दासमालिकका विरुद्ध र भूदासका रूपमा रहेका किसानहरूले सामन्तहरूको विरुद्ध ठुल्ठुला विद्रोहहरू गरेका छन् । सन् १३८१ मा इङ्गल्याण्डमा भएको किसान विद्रोहलाई सामन्तको विरोधमा भएको पहिलो किसान विद्रोह मानिन्छ । जसको नेतृत्व वाट टाइलर (ध्बत त्थ्ीइच्) ले गरेका थिए । कम्युनिस्ट घोषणापत्रमा उल्लेख छ, “अहिलेसम्म अस्तित्वमा रहेका सबै समाजहरूको इतिहास वर्गसङ्घर्षको इतिहास हो ।”

सामन्तवादको गर्भमा पुँजीवादको विकास
सामन्ती समाजमा कुनै विशेष दक्षता भएका उत्पादकहरू पनि हुन्थे । हस्तकलाका वस्तु उत्पादन गर्ने सीप भएकाहरू पनि हुन्थे । कोही हतियार वा लडाइँका सरसामान बनाउँथे भने कोही त्यही समाजका व्यापारी पनि थिए । जसले त्यहाँको अतिरिक्त उत्पादन खरिद गरेर अर्को देश वा क्षेत्रका उत्पादनसँग साट्दथे । व्यापार बढ्दै गएपछि उनीहरूले सङ्गठित उत्पादनको विकास सुरु गरे । तर, अर्धदासहरूले गरेको उत्पादन सामन्तहरूको भाग छुटाएपछि मात्र व्यापारीहरूको हातमा पथ्र्यो । यो अवस्थाले व्यापारीहरूको स्वार्थ पूरा भएन । उनीहरूले बजारमा बेच्ने सामान तयार गर्न सङ्गठित उत्पादनको विकास सुरु गरे । अर्धदासहरूबाट पूरै समय काम लिन थालियो । जसले अर्धदासहरूलाई सामन्तको चङ्गुलबाट उम्कन मद्दत ग¥यो । सयौँ वर्षको दौरानमा केवल स्थानीय खपतको लागि मात्र उत्पादन गर्ने सामन्तवादी उत्पादन ढाँचाबाट बजारमा बिक्री गर्नको लागि सामान उत्पादन गर्ने प्रणालीको विकास हुन पुग्यो । कामदारहरू ज्यालादारी काममा लाग्न थाले । उद्योगको विकास हुन थाल्यो । औद्योगिक मजदुर वर्गको रूपमा १६ औँ शताब्दीदेखि एउटा नयाँ वर्गको जन्म भयो । यसरी सामन्तवादको गर्भमै पुँजीवादको विकास भएको हो । पुँजीवादी उत्पादन सामन्ती कालको व्यक्तिगत उत्पादनबाट पैदा भएको थियो ।
सहर र गाउँहरूमा पुँजीपतिवर्गको विकास भए पनि सामन्तहरूका पुराना शासक वर्गको अस्तित्व त्यसै समाप्त भएन । किनभने राजा र पुराना सामन्ती भूमिपतिहरूको हातमा राज्यका सेना, अदालत र जेलहरू थिए । कानुन पनि उनीहरू नै बनाउँथे । यसकारण राजा, पुराना जमिनदारका धनी मानिसहरू र सन्त महन्तहरूले नव पुँजीवादबाट पनि आफ्नो स्वार्थसिद्ध गर्न कोसिस गरे । राजा र सामन्तहरूले व्यापारीहरूमाथि विभिन्न किसिमका कर लगाउन थाले । उनीहरूले व्यापारीहरूको व्यापारलाई अनेक किसिमका बन्धनहरूले जकड्न थाले । कालिगडका सामान उत्पादन गर्ने उनीहरूको व्यवसायको स्वतन्त्र विकासमा रोक लगाउन थाले । अब भने पुँजीपतिहरूले राजा र सामन्ती प्रभुहरूसँग सङ्घर्ष गर्नुप¥यो । यस्ता सङ्घर्ष केही शताब्दीसम्म चलिरह्यो । बेलायत र फ्रान्समा यस्ता सङ्घर्ष पूरा भए भने पिछडिएका केही देशहरूमा अझै चलिरहेको छ ।
सुरुमा पुँजीपतिहरूले शान्तिपूर्ण उपायबाट राजा र सामन्तहरूलाई मनाउन कोसिस गरेका थिए । उनीहरूले राजालाई बिन्तिपत्र चढाए । बिन्तिपत्रले काम नगरेपछि ‘कर’ तिर्न अस्वीकार गरे । तर, राज्यका मेसिनरीका अगाडि उनीहरूको कुनै प्रयास सफल हुन सकेन । अन्ततः सशस्त्र सङ्घर्षको बाटो अपनाउनुप¥यो । पुँजीपति वर्गले सशस्त्र क्रान्तिद्वारा पुराना सामन्ती शासकहरूको सत्ता खोसेर लिए ।
(कम्युनिस्ट घोषणापत्र र एमिल वन्र्सको ‘माक्र्सवाद के हो ?’ पुस्तकमा आधारित)
२०८२ जेठ २४गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *