क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
औपचारिकतामा मात्र संसद्लाई सीमित राख्नु भनेको जनताप्रतिको विश्वासघात हो । त्यसकारण, प्रदेश सरकारलाई हरेक गतिविधि औपचारिकतामा सीमित नराख्न हामी जनताको तर्फबाट अनुरोध गर्दछौँ । अहिले सरकारलाई शुभकामना दिनु भनेको त ‘गैँडालाई फूलले हान्नुजस्तै’ भइरहेको छ !
अहिले शुभकामनाका शब्द राख्ने क्रममा, मुख्यमन्त्रीले देशभित्रका कुराभन्दा दुबई–कतारतिरका कुरा गर्नुभयो । हामीले लामै बखान पनि सुन्यौँ । देशमै ब्याट्री बनाउने गफगाफ पनि भयो । त्यसको पूर्वतयारी के–कस्तो छ ? त्यो पनि जान्न पाए अझ सुहाउँदो हुन्थ्यो !
हाम्रो व्यवस्थाको कुरा गर्ने हो भने ३५ वर्ष भयो नेका, एमाले, माओवादी पालैपालो सरकारमा गएको । तैपनि, ‘सिस्टम’ किन बनेन होला ? प्रश्न एकपटक आफैँलाई सोधौँ । ठुलठुला ऐना छैन भने जनताले उपहार पठाउनेछन् । सरकारमा पालैपालो जाने, पालैपालो मन्त्री बन्नेहरूलाई जनताले ऐना उपहार पठाउनेछन् र त्यो ऐना अगाडि बसेर प्रश्न सोध्नुहोला । ‘३५ वर्षमा त हामी मन्त्री बन्यौँ । सरकारमा पनि पटक–पटक पुग्यौँ । सिंहदरबार कब्जा ग¥र्यौँ । बालुवाटारमा हामी नै छौँ । अर्थमन्त्री, प्रधानमन्त्री, गृहमन्त्री हामी नै छौँ । कसले रोक्यो ? किन बनेन ‘सिस्टम’ ? थिति बसाल्न किन सकेनौँ ? यो बेथितिको कारण को हो ? जवाफ खोज्नको निम्ति हामी अनुरोध गर्छौँ ।
सरकार मनोगतभन्दा वस्तुगत र तथ्यपरक हुनुपथ्र्यो । अहिलेसम्म हाम्रो के कुरामा कमजोरी भयो भने हामी मनोगत भयौँ । हावादारी गफगाफ ग¥यौँ । दिन कटायौँ । वस्तुगत र तथ्य–तथ्याङ्कमा आधारित भएर हामी हिँड्न जानेको दिन हाम्रो समाज परिवर्तन हुने होला र तर जुन दिनसम्म ‘यति काम र यी योजना सम्पन्न ग¥यौँ, यसमा कुनै आपत्ति छ भन्ने भन्नुहोला ।’ भन्ने तागत सरकारसँग हुँदैन त्यो बेलासम्म परिवर्तन हुनेछैन । एउटा नेपाली भनाइ छ – ‘कुराले चिउरा भिज्दैन ।’ चिउरा भिजाउनको निम्ति दूध, दही या पानी चाहिएला नि र त्यसकारण अब कुरैले मात्र शासन गर्ने, गपैmले मात्र जनताको विश्वास लिन खोज्ने, त्यतातिर हामी नलागौँ । नेपाली जनताको समय धेरै बर्बाद भइसक्यो । ३० वर्ष पञ्चायतमा बर्बाद भयो । यो ३५ वर्ष पनि बर्बाद नै भइरहेको छ । त्यसको कारण फेरि प्रजातन्त्रवादी, गणतन्त्रवादी, लोकतन्त्रवादीहरू नै हुन् । अरू कसलाई दोष दिने ? त्यसकारण, यसको पनि गम्भीरतापूर्वक सिंहावलोकन हुनु जरुरी छ ।
प्रदेश बनेको पनि ७/८ वर्ष भयो । यो अवधिमा प्रदेशमा हामीले के ग¥यौँ त ? अहिले भर्खरै हामी काठमाडौँबाट कान्तिपथ हुँदै आयौँ । जाऔँ न त, भौतिक मन्त्री, मुख्यमन्त्री, कान्तिपथ भएर एकचोटि जाऔँ, सिस्नेरी बाटो भएर जाऔँ ! सडक भएरै जाऔँ न त र हवाईजहाजबाट नजाऔँ र सडकबाट जाऔँ र त्यो सडकले तपाईँलाई गिज्याउँछ कि गिज्याउँदैन ? त्यति इमानदारी र स्व–विवेक हामीले गुमाएकै हौँ ? अनि लोकतन्त्रवादी, गणतन्त्रवादी भन्ने ? सारा संसारले देख्ने सडकको हबिगत नदेख्ने अनि केको मन्त्री ? अनि केको मुख्यमन्त्री ? अनि केको सरकार ? हरेक माननीय र सर्वसाधारण सबैले भोग्दै आएका कुरा हुन् । यसको विषयमा पनि इमानदारीपूर्वक जवाफ व्यवहारबाट दिऔँ । सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदछु ।
हामीले पटक–पटक सरकार देख्यौँ । सरल भाषामा भन्ने हो भने अहिलेसम्मका सबै प्रदेश सरकारको कमजोरी भनेको इमानदारीको अभाव हो । गम्भीरताको अभाव हो । प्रदेश सरकारको यो नै परिचय बनिसकेको छ । यतातिर पनि हामी सबै मिलेर हेरौँ, चिनौँ । साथै यो सुस्तता ¤ के चित्तबुझ्दो छ ? हामी सबैले छातीमा हात राखेर भनौँ ! यो गतिहीनता, यो सुस्तता, यो भ्रष्टाचार, यो अनियमितता, यो असक्षमता, के चित्तबुझ्दो छ ? के हामीले राजनीति गरेको, चुनावमा जनताको मत लिएर आएको यसैका निम्ति हो ? यति साह्रो गतिहीनतामा प्रदेशलाई छोड्नु के सुहाउँदो छ ? चित्त बुझ्दैन । हामी सबैलाई चित्त बुझिरहेको छैन । अनि हामी काम चाहिँ किन गर्दैनौँ । यसको पनि कामबाटै जवाफ देऔँ !
हरेक पटकको बजेट किन फेल खान्छ ? अहिले पनि बजेट अधिवेशन सुरु भयो । हरेक पटकको नीति तथा कार्यक्रम औपचारिकतामा किन सीमित हुँदै छ ? हरेक बजेट किन असफल ? एउटा बजेट विवादरहित भएन । एउटा बजेट सफल भएन । कमसेकम यस विषयमा हामी कहाँनिर चुकिरहेका छौँ भन्ने विषयमा गम्भीरतापूर्वक समीक्षा गरौँ ।
अहिले त बलिया बलिया दुई वटा पार्टीको सरकार छ । हिजो त लौ ठिक्कै छ, कमजोर कमजोरको सरकार भयो रे र अहिले त संसारमा कहीँ नहुने पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएको छ नि ! कहाँनिर कमजोरी भयो ? हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँले बारम्बार भन्नुभएको छ, “सारा शासक दलहरू मिलेर सरकार चलाए तापनि यही ‘सिस्टम’ मा, यही शैलीमा, यही प्रवृत्तिमा हुनेवाला केही छैन, परिवर्तन हुने छैन ।” खण्डन गर्नुस् कामबाट ! हाम्रो हाँक छ । कहाँनिर हाम्रो कमजोरी रह्यो, यो विषयमा पनि गम्भीरतापूर्वक सिंहावलोकन गरौँ ! अहिले हेर्नुस् त टेरामक्स काण्ड र अरू नयाँ नयाँ काण्डले के भन्दै छ ? भुटानी शरणार्थी काण्डले के भन्यो ? बालुवाटार, ललितानिवास काण्डले के भन्यो ? अझै कति काण्डहरू आउन बाँकी छन् ? को–को जेल जान बाँकी छन् ? क–कसको अभियोग दर्ता हुन बाँकी छ ? यी विषयमा हरेक राजनीतिक कार्यकर्ता, जनप्रतिनिधि, मन्त्री र सरकारमा जाने हरेकले सोच्न नसकेसम्म देश बन्नेवाला छैन ।
हामी चाँडै नै नीति तथा कार्यक्रम ल्याउँछौँ, बजेट ल्याउँछौँ । त्यो बजेटमार्पmत हाम्रा छोराछोरीहरू, हाम्रा केटाकेटीहरू, हाम्रा युवाहरूलाई आकर्षित गर्न सक्छौँ कि सक्दैनौँ ? त्यो किसिमको नीति निर्माण गर्न सक्छौँ कि सक्दैनौँ ? देशैमा राख्ने तागत अबको बजेटद्वारा आह्वान गर्न सक्छौँ कि सक्दैनौँ ? यस विषयमा पनि सरकारलाई गम्भीरता अपनाउन अनुरोध गर्दछु ।
अहिले सर्वसाधारणको चेक बाउन्सका विभिन्न दर्ता, अभियोग र मुद्दामामिलाहरू छन् । म त एउटा प्रश्न सोध्न चाहन्छु । सरकारले दिएको चेक बाउन्स भयो भने के मन्त्रीहरूलाई सजाय मिल्छ ? पटक–पटक सरकारका चेकहरू बाउन्स भइरहेका छन् । तर, सरकारले सजाय पाइरहेको छैन । यो किन हुन्छ ? यतिसम्मको बेथिति किन भयो ? हामी किन त्यसरी जवाफदेही बनिरहेका छैनौँ ? बुझ्नेहरूका निम्ति यी प्रश्नहरू नै सम्भवतः शुभकामनाहरू हुन् । यसको जवाफ यथोचित कामबाट दिन सक्यौँ भने यो शुभकामना सार्थक हुनेछ । वाग्मती प्रदेशमा मन्त्री बनेर, सरकारमा पुगेर, कुर्सीमा बसेर एउटा देख्नु र सर्वसाधारण भएर वास्तविकता देख्नु फरक छ । आशाको किरण वाग्मती प्रदेशका जनताले अझै पनि किन देख्न पाइरहेका छैनन् ? जनताको प्रश्न हो यो । हरेक सर्वसाधारणको प्रश्न हो । किन जनता आज निराश छन् ? प्रदेशहरू किन छिः छिः र दुरदुरको पात्र बन्दै छ । के हामी स्वयम् जनतालाई प्रजातन्त्रविरूद्ध उभिन आह्वान गर्दै छौँ ? गणतन्त्रविरूद्ध उभिन आह्वान गर्दै छौँ ? यदि होइन भने हामी जिम्मेवारीमा रहँदै त्यसको जवाफ दिन आवश्यक छ । होइन भने समय बिति जानेछ । बेलैमा बुद्धि पु¥याऔँ !
अहिले बाढी पहिरो सुरू भइसकेको छ । जताततै प्राकृतिक प्रकोप आदि समस्या जनता झेल्दै छन् । अहिले हामी बजेट, नीति तथा कार्यक्रम ल्याउँदै छौँ । हरेक पटक त्यही समस्या अनि जनताले बिनासित्तैमा ज्यान गुमाउनुपर्ने । हेर्नुस् त, कहाँ पु¥याउँदै छौँ यो देशलाई ? के यो भौतिक विकास र निर्माण हामी भन्दै छौँ ? त्यो चित्तबुझ्दो छ ? जनताका समस्याहरू हल हुँदै छन् ? उही ठाउँमा कतिपटक सडक निर्माण गर्छौँ ? उही ठाउँमा कति पटक हामी भौतिक निर्माणका कामहरू गर्छौँ ? र बजेट सिध्याउँछौँ । के बजेट भनेको बेथितिको अर्को नाम हो ? यो जनताको पिर बोल्दै छु । जनताको आह्वान, जनताको अनुरोध, जनताको गुनासो यो सदनसमक्ष राख्दै छु ।
हिजोआजका पत्रिकाहरू हे¥यौँ भने विदेशी ऋणमा हामी कसरी डुब्दै छौँ भन्ने कुरा पत्रपत्रिकाले जनतालाई सुसूचित गर्दै छन् । चित्तबुझ्दो छ ? २६ । २७ खर्बको वैदेशिक ऋण नेपाली जनताले ऋणमाथि ऋण बोक्नुपर्ने । कहाँ पु¥याउँदै छौँ हामी ? यो ३५ वर्षलाई गम्भीरतापूर्वक सिंहावलोकन गरौँ ! के भोलि वैदेशिक ऋण तिर्न नसकेर हामी टाटपल्टाइको स्थितिमा जाने ? यो अत्यन्त संवेदनशील विषय हो । सरकारमा जानुस् । हाम्रो भन्नु केही छैन । तर, ऋण तिर्ने र वैदेशिक ऋणमा रमाउने त्यो संस्कार त्याग्नुस् । हाम्रो आग्रह हो ।
आज मईको १९ तारिख । हामीले मई दिवस मनायौँ । सरकारमा वामपन्थी झन्डा हलाउनेहरू पनि देख्छौँ । १ मईको भावना के हो ? भन्ने विषयमा कमसेकम रातो झन्डा हल्लाउने बेलासम्म १ इन्च भए पनि त्यसको मर्यादा कायम राख्नुप¥यो । सङ्केतमा मात्र यहाँहरूसमक्ष राख्दै छु ।
आज १९ तारिख । भियतनामका सरलताका धनी नेता हो चि मिन्हको आज जन्मदिन । संसारका ठुलठुला मै हुँ भन्ने देशलाई परास्त गर्ने सरलताका माध्यमबाट, विचारको माध्यमबाट, झुक्न नमान्ने स्वाभिमानबाट । अमेरिकी साम्राज्यवाद, फ्रान्सेली उपनिवेशवाद ती सारालाई धुलो चटाएर भियतनामलाई भियतनाम बनाउने । त्यो सानो एसियाली मुलुक हो । ठुलठुला देशहरूको उदाहरण दिएनौँ । हामी रातो झन्डा उचाल्छौँ, हँसिया हथौडा त हामी बोक्छौँ र हो चि मिन्हको त्यो सरलता हाम्रा माननीय मन्त्रीहरू, सरकारमा जानेहरूले अलिकति थोरै मात्र भए पनि हामीले सिको गर्न सकेको खण्डमा यो देशलाई हामी कहाँ पु¥याउन सक्थ्यौँ होला । मजदुर र किसानको यो देशलाई हामी कहाँ पु¥याउन सक्थ्यौँ होला । विपन्न, गरिबीमा हराउँदै गएको, आर्थिकरूपमा अत्यन्त सङ्कटमा फस्दै गएको यो देशमा त्यो खालको नेतृत्व वा त्यो खालको गुण आज नेपाली जनता अपेक्षा गर्दै छन् । त्यो अस्वाभाविक होइन, त्यो स्वाभाविक हो । प्रजातन्त्रमा त्यति अपेक्षा राख्नु स्वाभाविक हो । हो चि मिन्हको क्रान्तिकारी नैतिकता, सरलता, समर्पणभाव, दृढता र परिवर्तन ल्याइछाड्ने एउटा अठोटबाट पनि हामी प्रेरित भएर साँचो अर्थमा यो देशलाई जिउँदोजाग्दो बनाऔँ, यो देशलाई परिवर्तनको सङ्घारमा पु¥याऔँ ¤ यो देशलाई परिवर्तनको बाटोमा अगाडि बढाऔँ ¤ त्यसको निम्ति यो वाग्मती प्रदेश एउटा सार्थक थलो हो भन्ने देशवासीलाई आशाको किरण दिऔँ ¤
(नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले वाग्मती प्रदेश सभाको जेठ ५ गते सुरु भएको छैटौँ अधिवेशनको पहिलो बैठकमा व्यक्त विचार सामान्य सम्पादनसहित)
नेपालीले कहिलेसम्म अपमानको जिन्दगी बाँच्ने ?
समाजमा एक—दुई जना हामी यस्ता मान्छे देख्छौँ जसले शिशु उमेरको भोटो फेरि लाउनुप¥यो भन्छन् । अनि एसईई पास गरिसक्यो । ११ पास गरिसक्यो । १२ पास गरिसक्यो । फेरि नर्सरीमा भर्ना हुनुप¥यो भन्छन् । यो कुरा जति हाँसोउठ्दो छ, त्यति नै २५० वर्ष अगाडिको राजा वा राजतन्त्र फेरि फर्काउने सपना देख्नु पनि हाँसोउठ्दो छ । इतिहासमा समयचक्र अगाडि बढ्छ । पछाडि फर्कंदैन । फर्काउने कसैले चेस्टा गर्दछ भने जनताले त्यो शक्तिविरुद्ध लड्छ । जनता सर्वोपरि हुन्छ । त्यसकारण, इतिहासको यो सामान्य ज्ञान राखौँ ¤
एकथरीले यहाँ बखान गरे कि गणतन्त्रमा हामीले नयाँ कोट लगाउन पाएका छौँ, नयाँ जुत्ता लगाउन पाएका छौँ, धेरै ठुलो परिवर्तन आयो । हुनेखानेले लाउन पाउनु कुनै आश्चर्यको विषय होइन । प्रश्न के हो भने बहुसङ्ख्यक जनताको अवस्था कस्तो छ ? बहुमत नेपाली जनता भनेका मजदुर र किसान हुन् । ती काम गरिखाने जनताको वास्तविकता के हो ? ८० लाख नेपाली जनतालाई साउदीमा, मलेसिया, कतारमा पठाउने को हो ? त्यहाँबाट आएको रेमिट्यान्सको भरमा देश चलाउने को हुन् ? यसको छिनोफानो, चिरफार या शल्यक्रिया गर्नुपर्छ कि पर्दैन ? कतिञ्जेल नेपाललाई रेमिट्यान्सको भरमा बचाउने या राख्ने ?
केही दिन अगाडि विदेशीहरू आए । ‘हामी केही हेर्न चाहन्छौँ ।’ तिनीहरूले आफ्नो इच्छा जाहेर गरे । ‘यो फलानो देशले बनाएको, त्यो फलानो देशले बनाएको ।’ यस्तै वर्णन सुनिसकेपछि सद्भाव राख्ने ती विदेशी मित्रहरूले सोधेछन्— ‘नेपाली जनता आपैmँले बनाएको देखाउनु न ?’ तब, सबै अवाक् भए । कतिञ्जेल राष्ट्रिय लज्जामा बाँचिराख्ने ? अहिलेको जल्दोबल्दो सवाल हो । त्यसकारण, विदेशी वा छिमेकीले दिएको उपहार बाँसबारी छाला जुत्ता कारखाना, हेटौडा कपडा कारखाना, जनकपुर चुरोट कारखाना, ट्रलिबस इत्यादि साराका सारा बेचेर हामीले गरेको कुकर्मलाई गौरव ठान्नु त्यो अपराध हो कि होइन ? सारा नेपाली जनताले गल्ती गर्नेलाई सजाय दिनेछन् । त्यसकारण, निजीकरणको नाममा जुन हामीले ब्रह्मलुट ग¥यौँ, राष्ट्रिय बेइमानी ग¥यौँ, त्यसमा गौरव गर्नु मेरो विचारमा एकजना विवेक भएको मान्छेको निम्ति सुहाउँदैन ।
अहिलेको सन्दर्भमा संविधानमा समाजवादउन्मुख लेख्ने तर काम त्यसको ठीकविपरीत हुने । गर्न सक्दैन भने त्यो संविधान च्यातिदिनुस् । समाजवादउन्मुख भनेर लेख्ने अनि त्यसको ठिकविपरीत किन हिँड्ने ? आजको महत्वपूर्ण सवाल यही हो । होइन भने प्रजातान्त्रिक समाजवाद नभनौँ, समाजवादउन्मुख नलेखौँ अनि सुहाउँछ होला । त्यसकारण लेख्ने एउटा, बोल्ने एउटा तर गर्ने अर्को भएपछि त्यसलाई पाखण्ड भनिन्छ । नेपालीमा भएको उचित शब्द यही हो । त्यसकारण, अहिले नेपाली समाजले खोजिरहेको राजतन्त्र होइन । पुँजीवादी व्यवस्था पनि होइन । वास्तवमा यी सबै ‘टेस्टेडहरू’ हुन् । सामन्तवादलाई २५० वर्षभन्दा बढ्ता वर्ष बेहो¥यौँ, ३० वर्ष पुँजीवादी व्यवस्था हे¥यौँ । यी दुइटै व्यवस्था असफल साबित भइसकेका छन् । निजीकरण र उदारीकरण त संसारमा बदनाम भइसकेको छ । अहिले विश्वमा विस्तारै समाजवादको औचित्य पुष्टि हुँदै छ । हिजो कोभिडले पुष्टि ग¥यो । हरेक आर्थिक सङ्कटमा समाजवादको औचित्य पुष्टि हुँदै छ । अहिले नेपाली समाजमा पनि टेस्ट गर्न बाँकी व्यवस्था भनेको यथार्थमा समाजवादी व्यवस्था हो । राजतन्त्र आयो, गयो । पुँजीवादी व्यवस्था पनि आयो । अत्यन्त सङ्कटमा फस्दै छ । अब देश जोगाउने नयाँ मार्ग समाजवादी व्यवस्था हो । यसमा छलफल किन नचलाउने ? यस विषयमा पनि बौद्धिक समुदायसँग गम्भीरतापूर्वक छलफल गरियोस् भन्ने हाम्रो अनुरोध हो ।
समाजवादी चरित्रका विषयमा हामीले छलफल गर्नुपर्दा कमसेकम अहिलेसम्मको दुःख के हो भने गाउँसम्म सुविधा पुगेन । समाजवादले के भन्छ भने गाउँ र सहरबिचको भेद हटाउनुपर्छ । सम्पूर्ण सहरमा पाउने सुविधा प्राथमिक विद्यालय, स्वास्थ्य उपचारका कुराहरू गाउँमा पु¥याएपछि त केको आक्रोश ? अहिले सुविधामा असन्तुलन तथा असमानता भएको हुनाले, सेवामा असन्तुलन भएको हुनाले पो अहिले आक्रोश बढेको हो । त्यसकारण, अब हामी हिँड्नुपर्ने बाटो भनेको स–साना उद्योगहरू, स–साना कारखानाहरू विभिन्न ठाउँमा छरिदिऊँ । यो प्रदेशमा छरिदिऊँ । कृषिलाई पहिलो प्राथमिकतामा राखौँ । बिचौलियाहरूको रजगजलाई तोडौँ । अहिले जुन ठेकेदारी प्रवृत्ति छ त्यसमा सा¥है समस्या आयो निर्माणको सवालमा । त्यसलाई तोडौँ ।
अहिले पत्रपत्रिकाले छ्याङ्गै पारेको छ ‘बेरूजुको आतङ्क’ । हरेक पालिकाहरूमा बेरूजुको आतङ्क छ । हाम्रै प्रदेश सरकारमा जुन बेरूजुको समस्या छ । ती कुराहरूमा हामी किन सोच्दैनौँ । अहिले हामी अनेक प्रजातन्त्र र गणतन्त्रका कुरा गर्छौँ । भ्रष्टाचारको कुरा हुँदा चुप लाग्छौँ । यो भएन त्यो भएन भन्छौँ तर भ्रष्टाचार गर्दैनौँ, गरेको खण्डमा त्यसलाई सजाय दिन्छौँ, हामी ठोकुवासाथ भन्दैनौँ । त्यहाँनिर हो समस्या । त्यसकारण हाम्रो प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, समाजवादउन्मुख भन्नुस् भ्रष्टाचाररहित ढङ्गमा कसरी शासन व्यवस्था सञ्चालन गर्ने ? अहिलेलाई सुशासन भन्न मिल्छ ? यसैलाई सुशासन भन्ने हो ? हाम्रो विवेक छैन ? हाम्रो विचार छैन ? अहिले सुशासनको जुन स्थिति दाबी गरिएको छ त्यसको ठीकविपरीत शासन व्यवस्था सञ्चालन हुँदै छ ।
समाजवादउन्मुख व्यवस्थामा राष्ट्रिय पुँजीको विकास र वैदेशिक पुँजीलाई छेउमा राख्ने हो । राष्ट्रिय पुँजीपतिहरूलाई यथोचित स्थान दिने हो । साथै न्यायोचित ढङ्गमा बहुमत जनताको सेवा सुविधामा चनाखो हुने । यो विषयमा पनि सरकारमा भएकाहरूले ध्यान पु¥याऔँ भन्ने हाम्रो अनुरोध हो ।
विदेशीहरू भन्दै छन्— तिमीहरूको रगतका कण–कण हाम्रो हो । तिमीहरूको छाला र कपालबाहेक हाम्रो भन्दै छन्, दाबी गर्दै छन् । हाम्रो राष्ट्रिय स्वाभिमान कहाँ गयो ? नेपालीले कहिलेसम्म अपमानको जिन्दगी बाँच्ने ? यो स्थितिबाट हामी मुक्त हुनैपर्छ ।
एमसीसीको विरोधमा प्रदेश र केन्द्रीय संसद्मा विरोध गर्दा हामी एक्लै थियौँ । अहिले हेर्नुस् त, एमसीसी रोक्दा बल्ल ‘ए विदेशीको भर त पर्न नहुने रहेछ’ भनी प्रधानमन्त्री बोल्दै छन् । यो हो स्थिति । त्यसकारण, विदेशीको भर नपरौँ ! आफ्नै खुट्टामा उभिऔँ ! त्यसमा कसरी सहमति जनाउनुपर्छ सबैले सरसल्लाह गरौँ !
साथै यूएसएड बन्द हुँदाको स्थिति के छ ? अहिले उदाङ्गो हुँदै छ । विदेशीको भरपर्ने साथै नेपाली जनता र नेपाली पुँजीलाई अस्वीकार गर्ने, यो स्थितिलाई हामीले चिर्नैपर्छ । सबै प्रजातन्त्रवादी, लोकतन्त्रवादी, गणतन्त्रवादी सबैले देशलाई प्राथमिकतामा राखेर अगाडि बढौँ ! देशलाई प्राथमिकतामा राखेर मजदुर र किसान जनतालाई प्राथमिकतामा राखेर अगाडि बढौँ ! त्यसैमा हामी सबैको हित हुनेछ ।
(नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले वाग्मती प्रदेश सभाको गत जेठ ६ गते भएको बैठकमा विशेष समयमा व्यक्त विचार सामान्य सम्पादनसहित)
Leave a Reply