भर्खरै :

‘समय र विचार’ पुस्तकमाथि अन्तरक्रिया

‘समय र विचार’ पुस्तकमाथि अन्तरक्रिया

भक्तपुर, ३० जेठ । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ वागीश्वरी एकाइ समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘समय र विचार’ पुस्तकको अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ केन्द्रीय समितिका अध्यक्ष ज्ञानसागर प्रजापतिले प्रकाशनको सानो अंश र सीमित अध्ययनबाट प्रकाशनको निष्कर्ष निकाल्नु अधैर्यता हुने धारणा राख्दै पार्टीको विभिन्न प्रकाशनको गहन अध्ययन पश्चात् प्रकाशनको निष्कर्ष निकाल्दा अर्थपूर्ण हुने बताउनुभयो ।
राणा, पञ्चायत र राजतन्त्रको व्यवस्थामा बोल्न नपाउने भएकोले साहित्यकारहरूले छायावादी ढङ्गबाट साहित्य प्रस्तुत गरेको उल्लेख गर्दै अहिले वाक् स्वतन्त्रताको कारण आफ्ना भावनाहरू प्रस्ट राख्न पाएको उहाँले बताउनुभयो ।
केन्द्रीय अध्यक्ष प्रजापतिले भन्नुभयो, “साहित्यको अध्ययनले वैचारिक परिपक्वता आउने र विषयवस्तुमा स्पष्ट हुने भएकोले पार्टीले अध्ययनलाई जोड दिएको हो । संसद्वाद नेमकिपाको बाटो होइन, क्रान्तिकारी संसद्वाद नेमकिपाको सैद्धान्तिक आधार हो । नेमकिपाले पुँजीवादी सत्ताको लागि राजनीति गरिराखेको होइन ।”
दलहरूबिच भागबन्डाले नै देशको दुर्गति भएको धारणा राख्दै उहाँले भन्नुभयो, “ शासक दलहरूले गैरराजनीतिक संस्कार विकास गरेको छ । यदि, पश्चिमेली संसद्वादलाई स्वीकार्ने हो भने पहिलो दललाई सरकारमा पठाउनुपर्छ । दोस्रो दल प्रतिपक्षमा बस्नुपर्छ ।”
उहाँले भन्नुभयो, “नेमकिपा माओवाद नभई माओ त्सेतुङ विचारधारालाई आत्मसात गर्दछ । माक्र्सवाद विश्वव्यापी सिद्धान्त हो† कुनै देश विशेषको होइन ।”
विदेशमुखी बजेटबाट देशको सार्वभौमिकता कमजोर हुन्छ† स्वाभिमानमा चुनौती आउँछ† देशमा आएको व्यथितिले देश दरिद्र हुन बेर लाग्ने छैन, उहाँले भन्नुभयो ।
वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले अन्तरक्रिया कार्यक्रमले विषयवस्तुमा प्रस्ट हुने अवसर प्राप्त हुने र पठनशैलीको विकास हुने उल्लेख गर्दै कार्यक्रमले शिक्षकहरूको बौद्धिक विकासमा सहयोग पुग्ने बताउनुभयो ।
नेक्राशिसङ्घका विश्वराम प्रजापतिले निरन्तर अध्ययन र लेखनले शिक्षकहरूमा बौद्धिकता खारिने बताउनुभयो ।
कार्यक्रममा शिक्षकहरू धनेशराज राजोपाध्याय, मुना तामाङ, कुलप्रसाद न्यौपाने, पवित्राकुमारी शाही, रामप्रसाद कोजु, कृष्णमाया गोसाई, सुवास दिवाकरले समय र विचार पुस्तकको विभिन्न विषयमा आ–आफ्नो विचार राख्नुभएको थियो । आयोजक समितिका अध्यक्ष विशेश्वर मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा शिक्षकद्वय राकेश त्वायना र राजन लाखाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *