भर्खरै :

क्रान्ति सफल पार्न नेतृत्वमा धैर्य जरुरी

क्रान्ति सफल पार्न नेतृत्वमा धैर्य जरुरी

काठमाडौँ, ३० जेठ । क्युवाली क्रान्तिका योद्धा एवं अन्तर्राष्ट्रवादी नेता अर्नेस्टो चे ग्वेभाराको ९७ औँ जन्मदिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी वडा नं. २ एकाइ समितिको आयोजनामा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले विश्वका महत्वपूर्ण परिवर्तनहरू सफल हुुनुमा क्रान्तिको नेतृत्व गर्ने अगुवाहरूको योगदान महत्वपूर्ण रहेको धारणा राख्दै क्रान्ति सफलतामा टुङ्गिन नेतृत्वमा धैर्य हुनु जरूरी छ भन्नुभयो ।
अमेरिकी साम्राज्यवादले लाडेको नाकाबन्दीलाई ६०–६५ वर्षदेखि निरन्तर सामना गर्नसक्नुमा क्युवाली क्रान्तिको नेता फिडेल क्यास्ट्रोको सही नेतृत्व, विचार, सिद्धान्त र क्युवाली जनतामा रहेको सामूहिक भावनाको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य गोसाईले भन्नुभयो, “समाजवादी व्यवस्थालाई श्रम गरी खाने व्यवस्थाका रूपमा अङ्गीकार गरी आएको क्युवामा चे ग्वेभाराको योगदानलाई जीवन्त बनाएर उहाँकै प्रेरणा र विचारले नडग्मगाई आज पनि निरन्तर अगाडि बढिरहेको छ । क्युवाली क्रान्तिको प्रभाव अफ्रिकी देशहरूमा परेको छ ।”
माओवादी सशस्त्र क्रान्ति बलिदानमा टुङ्गिएको र नेपालका शासक दलहरू आफूलाई कम्युनिस्ट भनिए तापनि चरित्रले कुनै पनि तिनीहरूमा कम्युनिस्ट नैतिकता र समाजवादी आचरण नभएको उहाँले स्पष्ट पार्नुभयो ।
नेमकिपा इटाछेँ भेगीय समितिका अध्यक्ष सूर्यनारायण फाँजूले चे ग्वेभारा निजी स्वार्थ, सुख सुविधामा नलागी क्युवाली, बोलिभारियालीको मात्र नभई विश्वकै नेता भएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष रत्नकाजी नातरीको सभापतित्वमा भएको उक्त कार्यक्रममा गणेशप्रसाद सुवाल र सिद्धिराम सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *