भर्खरै :

नवप्रवेशी शिक्षकहरूलाई चार दिवसीय कार्यक्रम

नवप्रवेशी शिक्षकहरूलाई चार दिवसीय कार्यक्रम

भक्तपुर, ३० जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नवप्रवेशी शिक्षकहरूलाई भक्तपुरमा स्वागत गर्दै शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न र शिक्षकलाई योग्य बनाउन भक्तपुर नगरपालिकाले विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको नवप्रवेशी शिक्षकहरूलाई तालिम कार्यक्रममा उहाँले आजका विद्यार्थीहरू भावी समाज निर्माण गर्ने माध्यम भएको हुँदा शिक्षकहरूलाई योग्य बनाउनेतर्फ नपाले जोड दिँदै आएको बताउँदै योग्य शिक्षकले योग्य विद्यार्थीहरू तयार गर्ने बताउनुभयो ।
भक्तपुरको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढेको उल्लेख गर्दै उहाँले विद्यार्थीहरू बिदेसिनुमा शिक्षकहरूको पनि ठुलो भूमिका हुने हुँदा विद्यार्थीहरूलाई राम्रोसँग मार्गनिर्देश गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर अहिले सबैको विश्वासको केन्द्र बन्न सफल भएको उल्लेख गर्दै उहाँले भक्तपुर नपाले विश्वविद्यालय सञ्चालन गर्न आफ्नो क्षमता विकास गरिरहेको बताउनुभयो ।
सामुदायिक क्षेत्रलाई बलियो बनाउने नीतिअनुरूप भक्तपुर नपाले काम गर्दै आएको स्पष्ट पार्दै प्रमुख प्रजापतिले सामुदायिक र निजी विद्यालयको शैक्षिक गुणस्तरलाई समान बनाउने कोसिस नपाले गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष एवम् विद्यालय अनुगमन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेँ विद्यालय अनुगमन समितिले विद्यालयको प्राविधिक समस्या पहिचान गरी समाधानतर्फ पनि जोड दिँदै आएको बताउँदै शिक्षकको ज्ञान र सीपलाई अझ निखार्न र परिस्कृत गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने छ भन्नुभयो ।
भक्तपुर नपा शिक्षा शाखा प्रमुख साधुराम फुँयालले तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयको कक्षाकोठामा प्रयोग गरी भक्तपुरको छविलाई अझ उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *