भर्खरै :

‘सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तकबारे परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम

‘सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तकबारे परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम

भक्तपुर, ७ भदौ । भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चार माध्यममा ‘भक्तपुर नपा’ र ‘सञ्चार माध्यममा भक्तपुर नपा २’ पुस्तकको परिचर्चा तथा लेखक, पत्रकार र सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पुस्तकका लेखक, पत्रकार तथा विभिन्न सञ्चार माध्यममा आबद्ध सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापनसहित सम्मानपत्र तथा मायाको चिनो वितरण गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेंले आफ्नो अनुहार हेर्न ऐना आवश्यक भएजस्तै नगरपालिकाले गरेका कामका सकारात्मक पक्ष र कमी–कमजोरी औँल्याउन सञ्चारकर्मीहरूको भूमिका आवश्यक पर्ने बताउनुभयो ।
उहाँले नगरपालिकाका कामका सकारात्मक र नकारात्मक पक्षबारे आलोचनात्मक दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै जनताबाट प्राप्त रचनात्मक सुझावले नगरपालिकालाई थप व्यवस्थित रूपमा अगाडि बढ्न प्रेरणा मिल्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “हरेक मुद्दामा अपराधी विजयी हुन नपाउने दिन आउनेछ, साना–साना स्वार्थभन्दा माथि उठेर जनताको हितमा काम गर्ने सोचले समाज समृद्ध बन्ने छ । भक्तपुरका सम्पदाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चा भइरहेको छ ।”
भक्तपुर नगरपालिकाले नयाँ पुस्तालाई विदेशी भाषा सिकाएर विदेशी पर्यटकलाई भक्तपुर घुमाउन सहज वातावरण सिर्जना गरिरहेको उल्लेख गर्दै उहाँले नगरपालिकाले आफ्ना कमी–कमजोरी सुधार्दै अझ राम्रो काम गर्दै जानु जरुरी छ भन्नुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफूहरू दोस्रो कार्यकालको अन्तिम वर्षमा रहेको उल्लेख गर्दै कार्यकालको अन्तिम दिनसम्म पनि जनताको सेवा गर्न नछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका गतिविधि, अभ्यास र उपलब्धिहरूलाई पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूले विभिन्न सञ्चार माध्यममार्फत जनताबिच पु¥याउन महत्वपूर्ण योगदान गरेको बताउंँदै सम्पूर्णलाई धन्यवादज्ञापन गर्नुभयो ।
उहाँले भक्तपुरको विकासमा राजनीतिक दलका नेता तथा कार्यकर्ता, पूर्व र वर्तमान जनप्रतिनिधि र निःस्वार्थ भावनाले काम गर्ने स्थानीय जनताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।
प्रमुख प्रजापतिले २०५९ सालदेखि २०७४ सालसम्म जनप्रतिनिधिविहीन हुँदा भक्तपुरको विकास करिब ३०–४० वर्ष पछाडि परेको, २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनपछि भक्तपुरको विकासलाई व्यवस्थित र सन्तुलित ढङ्गले अगाडि बढाउने प्रयास भइरहेको बताउनुभयो ।
उहाँले पञ्चायती व्यवस्थाकै समयमा पनि भक्तपुर नगर पञ्चायतले शिक्षा प्रचार, सरसफाइ अभियान सञ्चालन तथा आर्थिक गतिविधिलाई पारदर्शी बनाउँदै छुट्टै पहिचान कायम गरेको र ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकलाई आधार मानी नगरपालिकाले विकास निर्माणको कार्य अगाडि बढाइरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले ‘सञ्चार माध्यममा भक्तपुर नपा’ र ‘सञ्चार माध्यममा भक्तपुर नपा २’ पुस्तकलाई भक्तपुर नगरपालिकाका लागि ऐनासरह भएको धारणा राख्दै पत्रकार, लेखक र सम्पादकहरूले नगरपालिकाका कामको कसरी मूल्याङ्कन गरेका छन् भन्ने बुझ्न पुस्तकले सहयोग मिलेको उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले सम्पूर्ण सञ्चारकर्मी तथा लेखकहरूप्रति भक्तपुर नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले अवलम्बन गर्दै आएका असल अभ्यासहरू देशभरकै लागि उदाहरणीय बनेको बताउनुभयो ।
भक्तपुरको हरेक गतिविधि र विकास निर्माणमा जनताको निरन्तर साथ र सहयोग रहेकै कारण नगरपालिकालाई काम गर्न सहज भएको उहाँले बताउनुभयो ।
‘भक्तपुर मासिक’ का सम्पादक लक्ष्मणराज जोशीले पुस्तकको समीक्षा गर्दै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा, खेलकुद, सहकारी आदि विषयमा थुप्रै पुस्तकहरू प्रकाशन गरिसकेको बताउनुभयो ।
पत्रकारहरूले विभिन्न विषयमा लेखेका सामग्री समेटिएका पुस्तक प्रकाशन हुनु महत्वपूर्ण कार्य भएको बताउंँदै उहाँले विगतमा राष्ट्रिय पत्रिकाहरूमा भक्तपुरका समाचार प्रायः प्रकाशित नहुने र प्रकाशित भए पनि तोडमोड गरेर छापिने गरेको उल्लेख गर्नुभयो ।
पत्रकार र पत्रकारिता सरकारको सेवक नभई जनताको आवाज भएको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत राममणि भट्टराईले भक्तपुर नगरपालिकाको सबैभन्दा महत्वपूर्ण पक्ष सांस्कृतिक धरोहर नै भएको बताउँदै भक्तपुरको सांस्कृतिक धरोहरसँगै शिक्षा र स्वास्थ्य क्षेत्र पनि थपिंदै गएको उल्लेख गर्नुभयो ।
आफू भक्तपुर नगरपालिकामा कार्यरत रहँदा केही सम्झनलायक काम गरेको स्मरण गर्दै उहाँले नगरपालिकाका कामलाई आयमूलक रूपमा पनि अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले सञ्चारकर्मीलाई सम्मान गरेकोमा भक्तपुर नगरपालिकालाई धन्यवाद दिंदै ‘सञ्चार माध्यममा भक्तपुर’ पुस्तकले सञ्चारकर्मीहरूको कामको मूल्याङ्कन गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले गरेका कामको प्रचारप्रसारमा पत्रकारहरूले निःस्वार्थ रूपमा काम गरेको बताउँंदै पत्रकारहरूका लागि यो कार्यक्रम निकै विशेष रहेको बताउनुभयो ।
कवि तथा शिक्षक हरिहर तिमिल्सिनाले भक्तपुर सबै पक्षमा सबल देखिएको बताउँंदै फोहोरमैला आफै व्यवस्थापन गर्ने भक्तपुर नगरपालिकाको कदम प्रशंसनीय छ भन्नुभयो ।
नेपाल पत्रकार महासङ्घ भक्तपुरका पूर्वअध्यक्ष पुष्कर बुढाथोकीले पत्रकारिताको सिलसिलामा भक्तपुरसँग जोडिएपछि यहाँका समाचार सम्प्रेषण गर्दाका अनुभव सुनाउँंदै भक्तपुरका संस्थागत अभ्यासहरू नमुनायोग्य रहेको बताउनुभयो ।
‘नयाँ पत्रिका’ राष्ट्रिय दैनिककी पत्रकार शान्ति तामाङले भक्तपुर नगरपालिकाको कामकारबाहीले आफूलाई भक्तपुरका विषयमा लेख्न प्रेरित गरेको र भक्तपुरको मौलिकता अन्य ठाउँमा नपाइने बताउनुभयो ।
स्वतन्त्र पत्रकार उपेन्द्र लामिछानेले भक्तपुरका हरेक गल्ली, चोक र आँगनले नगरलाई सुन्दर बनाएको बताउनुभयो ।
भक्तपुरले शिक्षा क्षेत्रमा गरेको काम तथा सम्पदा संरक्षण र संरचना निर्माणको काम उदाहरणीय रहेको र नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक नै भक्तपुरको विकासका लागि मार्गदर्शन बनेको छ, उहाँले भन्नुभयो ।
स्वतन्त्र पत्रकार मकर श्रेष्ठले पत्रकारका लेखहरू सङ्ग्रह गरी पुस्तक प्रकाशन गर्नु सराहनीय कार्य भएको बताउँंदै पत्रकारहरूले लेखेका समाचार र लेखकै आधारमा भक्तपुर नगरपालिकाको कामबाट अन्य स्थानीय तहले पनि सिकेको उल्लेख गर्नुभयो ।
नेमकिपाको पहिचान र नगरको सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माणबाट भक्तपुर चिनिने गरेको धारणा राख्दै उहाँले पुस्तक प्रकाशन पनि पत्रकारिताको महत्वपूर्ण पाटो भएको बताउनुभयो ।
‘नागरिक दैनिक’का पत्रकार कृष्ण किसीले पुस्तकको समीक्षा गर्दै देशका ७५३ वटा स्थानीय तहमध्ये भक्तपुर नगरपालिका कामका हिसाबले अग्रस्थानमा रहेको र पुस्तक प्रकाशनको कार्यलाई अझ व्यापक बनाउंँदै लैजानुपर्ने बताउनुभयो ।
पत्रकार रमेश गिरीले पुस्तकका बारेमा बोल्दै विगत २२ वर्षदेखि भक्तपुर नगरपालिका र यहाँका विभिन्न गतिविधिसम्बन्धी समाचार लेख्दै आएको स्मरण गर्दै भक्तपुरका गतिविधिसँग सम्बन्धित समाचारका दस्ताबेजहरू खोजी गरी पुस्तक प्रकाशन गर्ने योजना रहेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नगरपालिकाले गरेका काम जनतासमक्ष पु¥याउने महत्वपूर्ण भूमिका पत्रकारहरूले निर्वाह गरेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
लेख–रचना, समाचार लेख्ने विभिन्न पत्रपत्रिकाका सम्पादक, पत्रकार तथा लेखकहरूलाई कार्यक्रममा अतिथिहरूबाट मायाको चिनो र प्रशंसापत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *