भर्खरै :

भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सुरु

भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सुरु

भक्तपुर, ६ असार । भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा जिल्लामा शुक्रबारदेखि भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सुरु भयो ।
उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा व्यापार मेला सञ्चालन गरिएको हो । मेलाको उद्घाटन गर्दै वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले राज्यको गलत नीतिका कारण काठमाडौँ उपत्यका वातावरणीय दृष्टिकोणले विनासतर्फ अगाडि बढेको बताउनुभयो । हरेक नागरिकले गुणस्तरीय जीवनयापन गर्न पाउनुपर्ने भन्दै उहाँले बढ्दो प्रदूषणका कारण उपत्यका रोगको थलो बन्न लागेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उपत्यकाको तापक्रम सन्तुलित बनाउन, वायुमण्डल सन्तुलित बनाउन नसकेमा आगामी दिनमा स्वास्थ्यको हिसाबले भयावह अवस्था सिर्जना हुने उहाँको भनाइ छ । उपत्यकाका वनजङ्गल फडानी गरी भइरहेको प्लटिङको विरोध गर्दै उहाँले भन्नुभयो, “सन्तुलित वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने वनजङ्गल फडानी भइरहँदासमेत सम्बन्धित निकायको ध्यान जान नसक्नु विडम्बनाको कुरा हो ।”
उहाँले सघन बस्ती भइसकेको भक्तपुर नगरपालिकाको ब्यासीस्थित भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरणको लागि आफूहरू प्रयासरत रहेको बताउँदै सङ्घीय र प्रदेश सरकारको हरेक बजेट र नीति तथा कार्यक्रममा औद्योगिक क्षेत्र बस्तीभन्दा बाहिर खुला क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने विषय समेट्नको लागि सुझाव दिँदै आएको जानकारी दिनुभयो ।
उद्योगी व्यवसायीहरू हरेक समय समुदायसँग निकट भएर बस्नुपर्ने भन्दै उद्योगी, उद्यमी र समाजको दूरी बढ्न नहुनेमा जोड दिँदै उहाँले उद्योगी व्यवसायीहरू समुदायमा रहेर समुदायको भावनालाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “समुदायको भावनाबमोजिम उद्योगी व्यवसायीहरूले गतिविधिहरू अगाडि बढाउन सकेमा उद्यम उत्पादनमा बदलिने र त्यस किसिमका उत्पादन उपलब्धिमूलक हुन्छ ।” राष्ट्रिय पुँजी निर्माणमा निजी क्षेत्रले पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै उहाँले स्थानीय मौलिक उत्पादनको विकास तथा प्रवद्र्धन गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका जिल्ला/नगर उपाध्यक्ष सुरकृष्ण वैद्यले युवा पुस्तालाई उद्यमतर्फ आकर्षित गर्नुपर्ने बताउँदै काठमाडौँ उपत्यकाभित्रका बालाजु, पाटन र भक्तपुर औद्योगिक क्षेत्रलाई बस्ती बाहिर स्थानान्तरण गर्न अपरिहार्य भइसकेको बताउनुभयो ।
बस्ती खासै नभएको बेला स्थापित ती औद्योगिक क्षेत्रहरू सो समयमा सान्दर्भिक भए पनि अहिले बस्ती बढिसकेको, औद्योगिक क्षेत्रको स्थान अपुग भएको र उद्योग गर्न चाहनेहरूले औद्योगिक क्षेत्रभित्र स्थान पाउन नसकेको कारणले ती औद्योगिक क्षेत्रलाई स्थानान्तरण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रोशनीमैयाँ धौबन्जाले प्रतिस्पर्धी व्यवसायिक कृषि, दिगो पर्यटन तथा निर्यातमुखी हस्तकला एवं जिल्लाका अन्य उद्योग व्यवसायहरूको समेत प्रवद्र्धन तथा विकास गर्ने सङ्घको दृष्टिकोणलाई मध्यनजर गर्दै जिल्लाका मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट निर्मित हस्तकलाका सामानहरू, औद्योगिक उत्पानहरूको प्रवद्र्धन तथा नवीन सम्भावनाहरूको पहिचान र सदुपयोग गरी जिल्लाको आर्थिक उत्थानमा टेवा पु¥याउन व्यापार मेला आयोजना गरिएको जानकारी दिनुभयो । “मेला आयोजनाबाट भक्तपुर जिल्लाको आर्थिक, सामाजिक एवं सांस्कृतिक गतिविधिहरू वृद्धि भई विकासमा नयाँ आयाम कोरिनेमा विश्वस्त छु,” उहाँले भन्नुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, नेपाल उद्योग वाणिज्य महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले मेला सफलताको शुभकामना दिँदै आ–आफ्नो धारणा राख्नुभएको थियो । भक्तपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, महासचिव नवीन प्रजापति, कार्यसमिति सदस्य एवं मेला संयोजक रञ्जित मारिखुले जिल्लाको मौलिक उत्पादन एवं स्थानीय सीप र साधनबाट उत्पादित हस्तकलाका सामग्रीहरू, औद्योगिक वस्तु तथा सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवद्र्धन गर्ने लक्ष्यअनुरुप मेला आयोजना गरिएको बताउनुभयो ।
भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला असार ७ गतेसम्म र असार ८ गते स्थानीय सीप तथा उत्पादन व्यापार एवं खाना महोत्सव सञ्चालन हुने महासचिव नवीन प्रजापतिले जानकारी दिनुभयो ।
मेलामा मौलिक हस्तकलाका उत्पादनहरू, कृषि उत्पादनहरू, साना तथा मझौला उद्यमीहरूद्वारा उत्पादित सामग्रीहरू, चित्रकला, मूर्तिकलाको प्रदर्शनीसमेत ४० भन्दा बढी स्टल रहेका छन् । मेलामा बालबालिकाहरूलाई मनोरञ्जनको लागि बाल उद्यान र स्थानीय खानाका स्टलहरू पनि राखिएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ मेलाको सहयोगी निकाय रहेको छ । मेलाको प्रवद्र्धकमा चाँगुनारायण नगरपालिका कार्यालय रहेको छ भने सोसियल पार्टनरमा लायन्स इन्टरनेसनल र ब्लड डोनर्स एसोसिएसन नेपाल रहेका छन् ।
मेला अवलोकनको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेला अवधिभर प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रमसमेत राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *