भर्खरै :

भक्तपुर नगरपालिकाको आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित

भक्तपुर नगरपालिकाको आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित

भक्तपुर, ६ असार । भक्तपुर नगरपालिकाको अठारौँ नगरसभा शुक्रबारबाट सुरु भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार बसेको अठारौँ नगरसभाको बैठकबाट आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित ग¥यो ।
सभामा नगर प्रमुख प्रजापतिले नीति तथा कार्यक्रममाथि छलफलमा उठेका जिज्ञासामाथि प्रस्ट पार्दै सभाबाट आएका सुझावहरू सकारात्मक रहेको बताउँदै नीति तथा कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने पक्षमा नगरपालिकाले विशेष जोड दिने बताउनुभयो ।
सभाध्यक्ष प्रजापतिले भक्तपुर नगरपालिकाको नगरसभा समुद्घाटन गरी जनप्रतिनिधि एवम् कर्मचारीहरूलाई मार्गनिर्देशन गर्नुभएकोमा नेमकिपाका सचिव प्रेम सुवाल, महत्वपूर्ण मन्तव्य व्यक्त गर्नुभएका विशिष्ट अतिथिलगायतलाई हार्दिक धन्यवादज्ञापन गर्दै धन्यवाद प्रस्ताव पारित गर्यो ।
सल्लाघारी पर्खाल निर्माणको लागि नपाले १ करोडभन्दा बढी बजेट छुट्याएको तर पर्खाल निर्माणको क्रममा नेपाली सेनाबाट अवरोध सिर्जना हुँदा सो कार्य अगाडि बढ्न नसकेको बताउँदै उहाँले भक्तपुर नपा र नेपाली सेनाबिच सहमतिको आधारमा उक्त पर्खाल निर्माण कार्य अगाडि बढ्ने बताउनुभयो । सरकारी जग्गाको संरक्षणको जिम्मा स्थानीय तहको पनि हो भन्दै उहाँले पीआईडीको ढल निर्माण कार्य प्राविधिक कारणले समस्या आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रममाथि भएको छलफलमा ९ जना सभासद्हरूले आ–आफ्नो विचार राख्नुभयो । प्रस्तुत नीति तथा कार्यक्रममाथि सभासद्हरू रामसुन्दर बासी, सूर्यप्रसाद श्रेष्ठ, नारायणप्रसाद त्वानाबासु, मन्जु लाखाजु, जितेन्द्र मुनंकर्मी, कृष्णगोपाल चौगुठी, हरिरत्न गोर्खाली, सिद्धिराम अवाल र गोविन्द दुवालले ढल व्यवस्थापनको विषयलाई नीति तथा कार्यक्रममा समावेश गर्नुपर्र्ने, कृषि बजार वडा–वडामा बिस्तार गर्ने नीति लिनुपर्ने, ऐतिहासिक चोङा गणेश मन्दिरलाई भक्तपुर नगरपालिकाको मातहतमा ल्याउन पहल गर्नुपर्ने, भूमिगत तारको फाइदा र असरबारे प्राविधिकबाट अध्ययन हुनु जरुरी रहेको, २० मिटरको प्रावधानलाई फुकुवा गरी नक्सा पासको प्रक्रिया अगाडि बढाउन सहजता प्रदान गर्नुपर्ने, कर्मचारीहरूलाई अद्यावधिक तालिम र कार्यसम्पादन मूल्याङ्कन गर्न निरीक्षण टोली बनाएर अगाडि बढ्नुपर्ने, कय्तामरु घाटमा पुल बनाउनुपर्ने, कासान खोलाको दायाँ बायाँमा व्यवस्थित करिडोर निर्माण गर्नुपर्ने, एसईई र प्लस टु सकाएर बसेका विद्यार्थीलाई एआईसम्बन्धी तालिम दिनुपर्ने, स्थानीय पथ प्रदर्शक तालिम लिन युवाहरू इच्छुक देखिएको हुँदा यो तालिमलाई पुनः सञ्चालन गर्ने नीति आवश्यक भएको, गाडी मर्मतको लागि वर्कसप खोल्नुपर्ने, नगरका ठाउँ–ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने, ढल निकास सफा गर्ने नयाँ जेट मेसिनको आवश्यकता रहेको, नगर प्रवेश गर्ने बाराहीस्थानमा कलात्मक ध्वाका निर्माण गर्नुपर्ने, ख्वप अस्पतालमा पोषणविद्को व्यवस्था गर्नुपर्ने, सदस्य सङ्ख्याको आधारमा सहकारी मर्ज गर्ने नीति लिइनुपर्ने, ख्वप अस्पतालबाट उपलब्ध गराइने औषधिको गुणस्तर जाँचेरमात्र औषधि वितरण गर्नुपर्ने, भनपा वडा नं. १० स्थित सुकुना, थली र मुलाँला फाँटमा आवास योजना सञ्चालन गर्नुपर्ने, अरनिको राजमार्ग निर्माण कार्य छिटो सम्पन्न गर्न पहल गर्नुपर्ने, छिमेकी नपासँग समन्वय गरी खोला किनारको मापदण्ड निर्धारण गर्नुपर्नेलगायतका धारणा राख्नुभयो ।
नगर सभाको अर्को बैठक असार ८ गते आइतबार दिनको १ बजे बस्ने गरी स्थगित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *