भर्खरै :

ताथलीमा बृहत् साइकलिङ : प्रख्यात साइकलयात्रीदेखि विदेशीसम्मको सहभागिता

ताथलीमा बृहत् साइकलिङ : प्रख्यात साइकलयात्रीदेखि विदेशीसम्मको सहभागिता

भक्तपुर, ७ असार । भक्तपुरको ताथलीमा बृहत् साइकलिङ र हाइकिङ शनिबार सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा रहेका विभिन्न सम्पदाहरूको प्रचारप्रसारमा सहयोग पु¥याउन ताथलीको दक्षिणकाली युवा समूहको आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले ताथलीका धार्मिक र सांस्कृतिक सम्पदा चिन्न र चिनाउन युवा समूहले गरेको कामको प्रशंसा गर्नुभयो । उहाँले नगरपालिकामा रहेका सम्पदालाई विश्वस्तरमा पु¥याउनको लागि नगरकोट भ्रमण वर्ष २०८२ घोषणा गरिएको पनि जानकारी दिनुभयो ।
चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातले युवा समूहको कामको सराहना गर्दै वडामा पर्यटन विकासका लागि विभिन्न कार्यहरू गरिरहेको जानकारी दिनुभयो ।
उहाँले ताथलीमा विश्वकै दुर्लभ चट्टान अभिलेख र ऐतिहासिक नाला गढी रहेकोले तिनीहरूको प्रवद्र्धनमा सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
साइकलिङमा विशेष आकर्षणका रूपमा रहेका विश्व साइकलयात्री एवम् सगरमाथा आरोही पुष्कर शाहले ताथलीका विभिन्न स्थानमा साइकलिङ गर्न पाउँदा बेग्लै अनुभव गर्न पाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “ताथलीका विभिन्न स्थान, सम्पदा र जनजीवन, प्राकृतिक मनोरम दृश्यसँग साक्षात्कार गर्न पाउँदा मनै आनन्द भएको छ । सहरको कोलाहलबाट मुक्त भई मन आनन्दित बनाउन ताथली उपयुक्त गन्तव्य बन्नसक्छ ।”
साइकलिङमा सहभागी काठमाडौँ साइकल सिटीका प्रेसिडेन्ट सन्जय बलामीले ताथली– नाला सडकका भित्री बस्तीहरू अर्गानिक ठाउँको रूपमा अनुभव गर्न पाएको बताउनुभयो ।
नगरकोट भ्रमण वर्ष २०८२ का विज्ञ घनश्याम खतिवडा, समूहका सचिव सत्यनारायण गिरी, समूहका सल्लाहकार घनश्याम खड्कालगायतले ताथलीका विविध पक्षको उजागर गर्नका लागि गरिएको कार्यक्रम उपलब्धिमूलक भएको बताउनुभयो ।
साइकल यात्रीहरूले हलालगाउँ(हर्षपुर) स्थित नाला गढीसम्म हाइकिङ गरेका थिए । ताथलीमा अवस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाहरूको प्रचारप्रसारका लागि समूहले नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा उक्त कार्यक्रम गरिएको समूहका अध्यक्ष सुरेशराज गिरीले बताउनुभयो ।
साइकलयात्रीहरूलाई यात्राका क्रममा विभिन्न टोलका समूह, समाजले स्वागत गरेका थिए ।
साँखु, काठमाडौँ, कीर्तिपुर, ललितपुर, पाङ्गा, काभ्रे, धुलिखेल, पोखरा, भक्तपुरका विभिन्न स्थानका साथै फ्रान्सेली नागरिकसमेतको सहभागितामा रहेको साइकलिङमा लोक गायिका आशा लामा, कलाकार अनुश्री परियारले प्रस्तुति गर्नुभएको थियो ।
ब्रह्मायणी मन्दिरबाट सुरू भएको साइकलिङले इथाचा–चुनदेवी–मन्दिर–डाडाँपाटी–धाराकुलो– फैढोका–कडेलापाखा–दक्षिणकाली मन्दिर, गिरी, बस्नेत, खड्का, छुकां टोल,देवी मा.वि. सौडोल–गचा– माथिल्लो खड्का, बुढाथोकी टोल –गोठाले चौर (बस्नेत स्टोर)– ताथली पुल–नालाछाप– चिलाउने घारी–अमलडोल (नाला गुम्बा– पुजारीपाटी–चट्टान अभिलेख–हर्षपुर–खावा भ्यु टावर– ताथली गढीमा (हाइकिङ)–कलमसी–ठुली ब्रह्मायणी मन्दिर–सुडाल–बनमाला, राउत, खत्री, खड्का टोल–विन्दबासिनी मन्दिर–दर्जी टोल–साखकर्मी टोल–जेईसी कलेज हुँदै फैढोकासम्म गरी करिब २५ किमिको दूरी पार गरेको थियो । आयोजकका अनुसार साइकलिङमा २७६ जना साइकलयात्रीको सहभागिता रहेको थियो ।
सहभागी यात्रीहरूलाई नगर प्रमुख खत्रीले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *