भर्खरै :

आ.व. २०८२।८३ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित

आ.व. २०८२।८३ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित

भक्तपुर, १२ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको अठारौँ नगरसभाको बैठकले आर्थिक विधेयक २०८२, विनियोजन विधेयकसहित आ.व. २०८२।८३ को लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित ग¥यो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार ८ गते नगरपालिकाको लागि भक्तपुर नगरपालिकाको रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।
सभामार्फत नगर प्रमुख प्रजापतिले आ.व. २०८२।८३ को लागि भक्तपुर नपाको बजेटमाथि भएको छलफलमा भाग लिई आवश्यक सुझाव, जिज्ञासा र समर्थन गरी सहयोग गर्नुभएकोमा सभासद्हरूलाई धन्यवादज्ञापन गर्नुभयो ।
बजेटमाथिको छलफलमा उठेका जिज्ञासामाथि प्रस्ट पर्दै उपप्रमुख रजनी जोशीले बजेट सफल र पूर्ण कार्यान्वयनको लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको, भक्तपुरलाई नमुना नगर बनाउन प्रयासरत रहेको, नगरका घाटहरूको व्यवस्थापनमा नपाले हरेक वर्ष बजेट व्यवस्था गरी काम गर्दै आएको र खेलमैदान निर्माण आदि विषयमा सभासमक्ष अवगत गराउनुभयो ।
छलफलमा सभासद् तारादेवी शाक्य, हेरा ख्याजु, ज्ञानबहादुर मानन्धर, सिद्धिराम अवाल, इन्द्रबहादुर प्याठ, सूर्यप्रसाद श्रेष्ठ, कृष्णगोपाल चौगुठी, रामसुन्दर बासी, नारायणप्रसाद त्वानाबासु र पुरुषोत्तम तमखुले कमलविनायक बहुउद्देश्यीय भवन निर्माणको लागि बजेट व्यवस्था गर्नुपर्ने, भूगोल, जनसङ्ख्या र आवश्यकताको आधारमा वडा बजेटको व्यवस्था गर्नुपर्ने, अव्यवस्थित वधशालाहरू व्यवस्थित गर्नुपर्ने, बालसेवक आधारभूत विद्यालय पायक पर्ने ठाउँमा स्थानान्तरणको लागि पहल गर्नुपर्ने, शिक्षक सम्मान कार्यक्रमको बजेट विनियोजन गर्नुपर्ने, शिशुस्याहार केन्द्रहरूलाई मन्टेश्वरीको अवधारणामा सञ्चालन गरिनुपर्ने, सडक बत्ती मर्मतसम्भारको लागि बजेट व्यवस्था गर्नुपर्ने, योजनाहरूको स्पष्ट जानकारी नगरवासीहरूलाई दिनुपर्ने, मङ्गलतीर्थ घाटस्थित दुब्यङ्केगु ताहा फल्चा पुनःनिर्माण तथा घाट व्यवस्थापन गर्नुपर्ने, सहकारी समस्या व्यवस्थापन गर्न कार्ययोजनासहित बजेट व्यवस्था गर्नुपर्ने, भूकम्पबाट जीर्ण रहेको भैरवको द्योछेँ र भद्रकाली द्योछेँ पुनःनिर्माणमा जोड दिनुपर्नेलगायतका धारणा प्रस्तुत गर्नुभयो ।
आजको बैठकले महालेखापरीक्षकको कार्यालयबाट पेस भएको आ.व. २०७९/८० र २०८०/८१ को भक्तपुर नगरपालिकाको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख भएको कर्मचारीहरूको उपदानसम्बन्धी उल्लेखित बेरुजु सम्बन्धमा लेखा समितिबाट पेस भएको बेरुजु समपरीक्षणका लागि पेस भएको प्रस्ताव सर्वसम्मतिले पारित ग¥यो ।
बैठकमा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले विदेशी सहरसँग भगिनी सम्बन्धका लागि सिचाङ जचमैत्री सङ्घ र तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासको संयुक्त आयोजनामा Share.Build.Create Together भन्ने मूल नारासहित नेपाल र जनवादी गणतन्त्र चीनबिच दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा चीनको सिचाङ स्वशासित क्षेत्र (तिब्बत) र नेपालबिच भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरूको असार १० (जून २४, २०२५) गते तिब्बतको ल्हासा सहरमा सम्पन्न बैठक र चीन भ्रमणको सिकाइबारे अनुभव राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *