भर्खरै :

पर्यटकीय महत्वको चोभार न्हसिकाप गल्छी संरक्षण गर्नुपर्ने

पर्यटकीय महत्वको चोभार न्हसिकाप गल्छी संरक्षण गर्नुपर्ने

काठमाडौँ, १८ असार । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्धन तथा पर्यटन समितिको बैठकमा नेपाल पर्यटन बोर्डको स्थापना, उद्देश्य र चुनौतीबारे बुधबार छलफल भयो ।
बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपालमा पर्यटन उद्योग सन् १९६० मा सुरू भएको, २० वर्ष यता सङ्कटमा परेको, कोभिड–१९ महामारीमा थला परेको अहिले ४ प्रतिशत ले वृद्धि भएको उल्लेख गर्दै विसं २०५३ सालमा स्थापना भएको बोर्डको उद्देश्य निजी क्षेत्रलाई नेतृत्वदायी भूमिका दिने र विदेशी मुद्रा आर्जन गर्ने काममा केन्द्रित भएको उल्लेख गर्नुभयो ।
बोर्डका प्रमुख जोशीले नेपालमा स्टार होटेल १८२ पुगेको, पथप्रदर्शक ५१२३ जना भएको उल्लेख गर्दै आन्तरिक विमानस्थल ५४ मध्ये ३० ओटा सञ्चालनमा रहेको, वायु प्रदूषण पर्यटन उद्योगको लागि चुनौतीको रुपमा रहेको, कुल गार्हस्थ उत्पादनमा २ प्रतिशत योगदान रहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भन्नुभयो, “संसारमा कतै युद्ध भएमा पर्यटन उद्योगमा नोक्सान पर्नेछ । इजरायलले प्यालेस्टिन र इरानमा, अमेरिकाले इरानमा, युक्रेनले रूसमा हमला गरेपछि नेपालको पर्यटन उद्योगमा ¥हास आयो । नेपालमा हुने बन्द र हडतालले पनि पर्यटन उद्योगमा नोक्सान हुनेछ । यसकारण, सरकारले अर्थतन्त्रलाई पर्यटन उद्योगमा निर्भर गराउनु उचित हुनेछैन, आन्तरिक उत्पादनमा जोड दिनु जरूरी छ ।”
“पर्यटन बोर्डले तराई–पहाडमा समेत पर्यटन उद्योग विस्तार गर्नु जरूरी छ । पर्यटन उद्योगसँगै विदेशी गुप्तचर पनि बढ्नेतर्फ सचेत हुनु आवश्यक छ । भारतीय प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल पाकिस्तानमा फकिर बनेर गुप्तचरीमा लागेको सार्वजनिक भयो”, सांसद सुवालले सरकारलाई सचेत गराउनुभयो ।
“राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित सङ्घीय निजामती सेवा विधेयक, २०८२ को प्रतिवेदन तयारीमा बिचौलिया घुसेर तोडमरोड गरिएको र सो प्रतिवेदन प्रतिनिधिसभाबाट समेत पारित गरिएको हुँदा अप्ठेरो अवस्था उत्पन्न भएको छ । यसकारण, समितिबाट पारित विधेयकहरूको अन्तिम रूप कस्तो हुने हो ? बैठकमा वाचन गरी टुङ्गोमा पुग्नु जरूरी हुन्छ”, सांसद सुवालले थप्नुभयो ।
सांसद सुवालले अगाडि थप्नुभयो, “राजनीतिक र आर्थिक स्थिरता एक अर्कोमा निर्भर हुन्छ । कर्मचारीलाई तलब र सुविधा दिन ऋण लिनुपर्ने वर्तमान अवस्थामा राजनीतिक स्थिरता सम्भव छैन । प्रम केपी शर्मा ओलीले स्पेनमा स्वास्थ्य र शिक्षामा ऋण भुक्तानीमा खर्च बढी गर्नुपरेको र बालबालिका कुपोषित भएको, वैदेशिक विकास सहायता घट्दो हुनु चिन्ताजनक भएको वेदना पोख्नुभयो ।”
“चीनको सरकारले आफ्ना कर्मचारीलाई बाहिरको खान, आरामदायी कारमा यात्रा गर्न, महँगो होटलमा बस्न प्रतिबन्ध लगायो । नेपालमा परराष्ट्र मन्त्रालयको ६० जना कर्मचारी विदेश भ्रमणमा गएको र अन्य मन्त्रालयका के कति कर्मचारी विदेश भ्रमणमा गए सार्वजनिक नभएको अवस्था छ । तलबको लागि ऋण लिनुपर्ने अवस्थामा सरकारले कर्मचारी र जनप्रतिनिधिलाई विदेश भ्रमणमा पठाउनु गलत हो”, सांसद सुवालले जोड दिनुभयो ।
“कीर्तिपुर र ललितपुरको सिमानामा रहेको चोभारको ढुङ्गाको गल्छी प्राकृतिक सम्पदा हो, पयर्टकीय गन्तव्यस्थल पनि हो । सरकारले सो गल्छीको ढुङ्गा फोडेर पानीको अवरोध हटाउने तयारी ग¥यो । संस्कृति मन्त्रालय र पर्यटन बोर्डले पनि सो ढुङ्गाको गल्छी संरक्षणको लागि आवाज उठाउनु जरूरी छ”, सांसद सुवालले उल्लेख गर्नुभयो ।
सांसद सुवालले थप्नुभयो, “वाग्मती नदी साँगुरो हुने गरी दायाँ बायाँ कोरिडोर निर्माण गरिएको, फोहरमैला र फोहर ढलसमेत वाग्मती नदीमा मिसाउने गरिएको हुँदा वर्षामा डुबान भएको हो । वाग्मती नेपालको सभ्यता विकासको नदी हो । गुहेश्वरी र पशुपति क्षेत्रमै वाग्मती दुर्गन्धित छ । अर्थमन्त्रीले कोकाकोला कम्पनीलाई करोडौँ कर छुट दिने होइन । त्यो रकम काठमाडौँ उपत्यकाका १८ ओटा नदी सफा र स्वच्छ बनाउन उपयोग गर्नुपर्दछ ।”
काठमाडौँ उपत्यकामा बढ्दो बसाइँसराइको कारण वायु प्रदूषण बढेको र पर्यटन उद्योगलाई नोक्सान पुगेको हो । जताततै डोजर चलाई निजी प्लटिङ गराइँदा परम्परागत पैदल मार्गसमेत विनाश भयो । समितिमा सदस्यहरूले दिनुभएको सुझावलाई लिपिबद्ध गरी ६ महिना–वर्षको एउटा पुस्तक प्रकाशित गरिए सम्बन्धित निकायलाई काम गर्न सजिलो हुनेछ” सांसद सुवालले सुझाव दिनुभयो ।
संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डेले होटल र पर्यटन क्षेत्रलाई उद्योगको दर्जा दिइएको उल्लेख गर्दै होटल हायाटलाई दिइएको तारा गाउँ विकास समितिको जग्गाको बहाल बढाउने र शेयर २२ प्रतिशतबाट ९ प्रतिशतमा झरेको पुनः बढाउने तयारी भइरहेको बताउनुभयो ।
राप्रपाका सांसद धवल शमशेर राणाले ८ ओटा क्यासिनो सञ्चालन भइरहेको नेपाललाई क्यासिनो केन्द्र बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
परिवार दलका एकनाथ ढकालले चीन र भारतका पर्यटक नेपाल ल्याउनेतर्फ योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेकाका पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले भारतको कुम्भ मेलामा ७० करोड मानिस पुगेको, सरकारले १५ हजार करोड खर्च गरी ६ लाख करोडको व्यापार गराएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *