यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
ललितपुर, १८ असार । नेपाल मजदुर किसान पार्टी ललितपुर नगर समितिले प्राचीनतासहितको प्राकृतिक र सांस्कृतिक सम्पदा चोभार, क्वेना गणेशको न्हसिकाप संरक्षण गर्न आग्रह गर्दै असार १७ गते एक प्रेस विज्ञप्ति प्रकाशित गरेको छ । पार्टी नगर समिति ललितपुरका अध्यक्ष नरेश महर्जनको नाउँमा प्रकाशित सो विज्ञप्तिमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण पार्ने गरी क्रियाकलाप गर्ने जोसुकैलाई छानबिन गरी कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ –
नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २०८२ जेठ १४ गते ३२ औँ बैठक बस्यो । सो बैठकले चोभार न्हसिकाप साँघुरो भएको हुँदा गत वर्षको असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षामा वाग्मती नदीको पानीको बहाव बढेको र काठमाडौँ उपत्यकाका बल्खु, कुलेश्वर, थापाथली, नखुलगायतका भूभाग डुबान भएको उल्लेख गरी त्यस प्रकारको अवस्था दोहोरिन नदिन नेपाली सेनाको सहयोग लिएर चोभार न्हसिकापमा रहेको अवरोध हटाउने र यो काम सम्पन्न गर्ने सहरी विकास मन्त्रालयलाई निर्देशनसमेत दिएको सार्वजनिक भयो ।
ललितपुर महानगरपालिका वडा नं. १८ र कीर्तिपुर नगरपालिका वडा नं. ६ को सिमानामा रहेको न्हसिकाप नेपालको सभ्यताको विकाससँग जोडिएको हामी सबैको ऐतिहासिक क्षेत्र हो । २०८१/११/२१ गते एकै दिन ललितपुर महानगरपालिका वडा नं. १८ र कीर्तिपुर नगरपालिका वडा नं. ६ का दुवै वडा कार्यालयले ऐतिहासिक र प्राकृतिक सम्पदामा आँच आउने गरी वाग्मती सभ्यता एकीकृत विकास समितिलाई डुबान, पहिरो तथा खोला व्यवस्थापन गर्न सिफारिससमेत दिएको सार्वजनिक भयो ।
न्हसिकापमाथिको क्षेत्रमा भएको डुबान र क्षति गत वर्षको अविरल वर्षा र वाग्मती नदीको कारण भएको होइन, बस्ती विकास नै गर्न नहुने सो क्षेत्रमा वाग्मती नदी अतिक्रमण गरी अव्यवस्थित बस्ती विकास गरिएको कारण भएको हो । यसमा नदीको किनाराको मापदण्डविपरीत भौतिक निर्माण स्वीकृति दिने सरकार र सम्बन्धित निकायलाई समेत जवाफदेही बनाउनु जरुरी छ ।
सरकारले डुबान क्षेत्रमा रहेको बस्तीलाई अधिकरण गरी यहाँका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु जरुरी छ । देशको सन्तुलित विकास गरिए पनि देशभरि यस्ता समस्या न्यून हुँदै जानेछ ।
सरकार यो न्हसिकाप गल्छीको ढुङ्गा फोडेर अवरोध हटाउने र निकास दिने निर्णयमा पुगेको विकास होइन सम्पदा विनाश हो । यो सम्पदा जोगाउन सरकार र वडा कार्यालयहरूले आ–आफ्नो निर्णय र सिफारिस खारेज गर्नु आवश्यक छ ।
यहाँको फोहोर र अवरोध हटाउने नाममा न्हसिकापको प्राकृतिक धरोहरको जगको रूपमा रहेको ढुङ्गा माटोसमेत हटाउन नमिल्ने जनताको मत सार्वजनिक भइरहेको छ । गोदावरी नगरपालिका वडा नं ८ स्थित कुटुवाः दहको निकास खोल्न त्यहाँको ढुङ्गा हटाइएपछि सो दहको पानी तीव्र बगेर गहिराइ पर्ने गरी जमिन कटान भएको यहाँ उल्लेख गर्न चाहन्छौँ । न्हसिकापको ढुङ्गा फोडिएमा वरिपरि ठुलो पहिरो जाने निश्चित छ ।
न्हसिकापमा थुप्रिएका फोहोरका डङ्गुर ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिकाको संयुक्त पहलमा निराकरण गर्न सकिने भएकोले दुवै पालिकाले आ–आफ्नो कर्तव्य निर्वाह गर्न पनि अनुरोध गर्दछौँ ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको नाममा वाग्मती नदी साँघुरो हुने गरी अरर्बौँ पैसा खर्चेर वर्षौँदेखि करिडोर रिटेनिङवाल निर्माण गरिएको कारण सहरभित्र डुबान भएको छर्लङ्ग विषय हो । यसकारण, वाग्मती सफाइ अभियान सफल नभएको हो । अतिक्रमित वाग्मती नदीलाई साबिककै रूपमा पुनःस्थापना गर्नु जरुरी छ ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले नेपालको सभ्यताको चुरो वाग्मती नदीलाई विकासको नाममा डुवानको समस्या सिर्जना गरी विनाश गरेकोले समस्या बल्झिएको जनताको ठहर हो ।
नेपाल सरकार गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको निर्णय फिर्ता लिएर अहिलेसम्म वाग्मतीलाई असर पार्ने गरी क्रियाकलाप गर्ने जोसुकैलाई छानबिन गरी कानुनी दायरामा ल्याई कारबाही गर्न जनता माग गर्दै छन् ।
Leave a Reply