भर्खरै :

चीन र ईयूले ‘टकराव खोज्नु हुँदैन’ : विदेशमन्त्री वाङ

चीन र ईयूले ‘टकराव खोज्नु हुँदैन’ : विदेशमन्त्री वाङ

ब्रसेल्स, ३ जुलाई (एएफपी) । चीनका विदेशमन्त्री वाङ यीले आफ्ना युरोपेली सङ्घ (ईयू) समकक्षीलाई ‘टकराव’ विरुद्ध चेतावनी दिनुभएको छ । विदेश मन्त्रालयले बिहीबार पेइचिङलाई युरोपको सुरक्षालाई कमजोर पार्न रोक्न आग्रह गरेपछि उहाँको यस्तो भनाइ आएको हो ।
चिनियाँ विदेश मन्त्रालयको विज्ञप्ति अनुसार बुधबार ब्रसेल्समा काजा कालासलाई भेट्दै विदेशमन्त्री यीले चीन र ईयूलाई ‘मतभेदका कारण विपक्षीका रूपमा मान्न नहुने, न त उनीहरूले असहमतिका कारण टकराव खोज्नुपर्ने’ बताउनुभयो ।
युरोपले विभिन्न चुनौतीको सामना गरिरहेको छ भन्दै उहाँले तर कुनै पनि ‘विगत, वर्तमान वा भविष्यमा’ चीनले गर्दा नभएको जोड दिनुभयो ।
उहाँहरूको बैठकअघि ईयूको विदेश मामिला प्रमुख कालासले चीन ‘हाम्रो विरोधी होइन, तर सुरक्षामा हाम्रो सम्बन्ध बढ्दो तनावमा रहेको’ बताउनुभयो ।
उहाँले चिनियाँ कम्पनीहरू ‘युक्रेनविरुद्धको युद्धलाई निरन्तरता दिन मस्कोको जीवनरेखा’ भएको बताउनुभयो । उहाँले पेइचिङले साइबर आक्रमण, लोकतान्त्रिक हस्तक्षेप र अनुचित व्यापार अभ्यासहरू गरेको आरोप लगाउँदै यसले ‘युरोपेली सुरक्षा र रोजगारीलाई हानि पु¥याउँछ’ भन्नुभएको थियो ।
युक्रेनसँगको रुसको तीन वर्षभन्दा लामो युद्धमा चीनले आफूलाई तटस्थ पक्षको रूपमा चित्रण गरेको छ । तर, पश्चिमी सरकारहरूले पेइचिङले मस्कोलाई महत्वपूर्ण आर्थिक र कूटनीतिक समर्थन दिएको बताउँछन् ।
“युरोपसँग नजिकको सम्बन्ध खोज्दै युरोपमा युद्धलाई सक्षम पार्नु भनेको एक विरोधाभास हो जसलाई पेइचिङले सम्बोधन गर्नुपर्छ,” कालासले बुधबार भन्नुभयो ।
यसैबिच विदेशमन्त्री वाङले महाशक्ति प्रतिद्वन्द्वी वासिङ्टनविरुद्ध पेइचिङलाई एक स्थिर सन्तुलनकर्ताका रूपमा चित्रण गर्न खोज्नुभयो । वासिङ्टनले युरोपेली राष्ट्रहरूबाट आयातमा व्यापक भन्सार शुल्क लगाउने धम्की दिएको छ ।
उहाँले भन्नुभयो, “अमेरिकाले लिएको बाटो चीनको प्रतिबिम्बका रूपमा प्रयोग गरिनु हुँदैन । चीन अमेरिका होइन ।”
पेइचिङको विदेश मन्त्रालयले पनि दुई पक्षले युक्रेन, इजरायल र प्यालेस्टिनबिचको द्वन्द्व र इरानको आणविक मुद्दाबारे छलफल गरेको बताएको छ ।
वाङले भन्नुभयो, “पेइचिङ र ब्रसेल्सले एकअर्कालाई ‘सम्मान’ का साथ व्यवहार गर्नुपर्छ । युरोपले अझ बढी ‘सक्रिय र व्यावहारिक’ चीन नीति अपनाउनुपर्छ ।”
वाङले बुधबार युरोपेली आयोगकी प्रमुख उर्सुला भन डेर लेयन र उहाँका बेल्जियमका समकक्षी म्याक्सिम प्रिभोटसँग पनि भेट गर्नुभयो ।
“चीन र ईयूले बहुपक्षवाद र स्वतन्त्र व्यापारलाई समर्थन गर्नुपर्दछ… र जलवायु परिवर्तनजस्ता विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न सँगै मिलेर काम गर्नुपर्दछ,” वाङले भन डेर लेयनलाई भन्नुभयो ।
वाङले अब जर्मनीको यात्रा गर्नुहुनेछ । जर्मनीमा उहाँले कूटनीति र सुरक्षासम्बन्धी विषयमा विदेशमन्त्री जोहान वाडेफुलसँग वार्ता गर्नुहुनेछ ।
त्यसैगरी फ्रान्समा, वाङले मार्चमा चीन भ्रमण गरेका युरोप र विदेश मामिला मन्त्री जिन–नोएल बारोटसँग भेट गर्नुहुनेछ । पेइचिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र ईयूका शीर्ष अधिकारीहरूबिचको शिखर सम्मेलन हुनुभन्दा करिब तीन हप्ता अगाडि यी भ्रमणहरू भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *