भर्खरै :

देश चलाउन नसक्नेहरू सिंहदरबारको कुर्सीमा किन ?

देश चलाउन नसक्नेहरू सिंहदरबारको कुर्सीमा किन ?

भक्तपुर, २१ असार । भ्रष्टाचारविरोधी आन्दोलन (असार १९ र साउन २) को स्मरणमा नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा शनिबार किसान भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले भन्नुभयो, “व्यक्तिगत सम्पत्तिको सुरूसँगै वर्गीय समाज पनि सुरु भयो । यससँगसँगै शोषण र भ्रष्टाचार पनि बढ्यो । उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गरिएमात्र अन्याय, शोषण र भ्रष्टाचार रोकिनेछ । कम्युनिस्ट दाबी गरेका एमाले र माओवादी पुँजीवादी सरकारमा गएर भाइकाङ्ग्रेस भए । यसकारण, शोषण र भ्रष्टाचार बढ्दो छ ।”
उहाँले भन्नुभयो, “भारतको पश्चिम बङ्गाल, त्रिपुरा र केरलामा पनि कम्युनिस्टहरूको राज्य सरकार थियो । कम्युनिस्ट दाबी गरेका त्यहाँका नेताहरू बिस्तारै दक्षिणपन्थी भए । अब केरलाको मात्र कम्युनिस्ट सरकार बाँकी छ ।”
उहाँले भन्नुभयो, “नेपालमा एमाले र माओवादी आफूलाई कम्युनिस्ट दाबी गर्छन् र पालैपालो पुँजीवादी पार्टी नेपाली काङ्ग्रेससँग संयुक्त सरकार बनाउँछन् । सरकारमा गएका पार्टीहरूले चुनावमा सामान र पैसा बाँडेर, भोज भतेर खुवाएर जितेको आम सञ्चारमा प्रकाशित भइरहेको छ । नेपाली जनता सचेत हुनु जरूरी छ ।”
उहाँले भन्नुभयो, “सच्चा कम्युनिस्टहरूको सरकारले मात्र शिक्षा र स्वास्थ्यमा निःशुल्क र स्वदेशमा रोजगारीको व्यवस्था गर्छ । नेपालमा परराष्ट्रमन्त्री आरजु राणाले स्वीजरल्यान्डको जेनेभामा नेपालको कृषिमा वैदेशिक लगानी गर्न अनुरोध गरे । नेपालका करोडौँ युवालाई वैदेशिक रोजगारीमा पठाएर नेपालको कृषिमा विदेशीलाई लगानी गर्न बोलाउनु देशको हितविपरीत हो । यसको नेपाली जनताले विरोध गर्नु जरूरी छ ।”
उहाँले भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनमा विदेशी मित्रहरूसँग नेपालमा वैदेशिक अनुदान घटेको, बालबालिका कुपोषणको शिकार भएको, शिक्षा र स्वास्थ्यमा गर्नुपर्ने खर्च ऋण तिर्नुपरेको बताएको अर्काे लज्जास्पद विषय हो । देश चलाउन नसक्नेहरूलाई सिहंदरबारमा बस्ने अधिकार छैन ।”
भेलामा नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजुले नवदुर्गा बहुमुखी सहकारी संस्थामा भ्रष्टाचार गर्ने संस्थाका अध्यक्ष मङ्गले चगुठीलाई उल्टो टोपी लगाई नगर घुमाएको दिनलाई भ्रष्टाचारविरोधी दिनको रूपमा स्मरण गर्दै आएको बताउनुभयो ।
भ्रष्टाचारविरूद्धको आन्दोलनलाई अहिले पनि निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पुँजीवादी व्यवस्थामा भ्रष्टाचार अन्त्य नहुने स्पष्ट गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष नारायणभक्त न्हेमाफुकीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्राकिसङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष गोविन्द दुवाल, कमला गिरीले पनि बोल्नुभएको थियो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *