भर्खरै :

एसईई परीक्षाको नतिजा

एसईई परीक्षाको नतिजा

गाउँको शीतल चौतारीमा बसेर छोरीहरूको एसईई परीक्षाको नतिजाबारे छलफल गर्दै गरेका मजदुर वीरबहादुरले फाटेको टोपी फुकालेर निधारको पसिना पुछ्दै सोही गाउँको किसान कमलबहादुरलाई भने, “छोरीको विद्यालयमा पढाउने मास्टर साहेबले त तपाईँकी छोरीले यसपालिको एसईईको परीक्षामा उच्च अङ्क ४ जीपीए ल्याएर पास गरिन् । तपार्इँ त कति भाग्यमानी भन्नुभयो । आफू त कालो अक्षर भैँसी बराबरको छ । उहाँ छोरीलाई डाक्टर पढाउनुपर्छ पो भन्नुहुन्छ । हाम्रो अवस्था, औकात यस्तै हो । हामीले त दुःख पायौँ पायौँ । सन्तानले यस्तो दुःख कहिल्यै नपाओस् भनेर इँटा भट्टामा मिरमिरे उज्यालोमै इँटा पारेर पढायौँ । छोरी ज्ञानी र महेनती छे । रातभरि नसुतिकन पढ्छे । घरको सबै काममा आमालाई सघाउँछे । हामीले त केही भन्नु पर्दैन ।”
वीरबहादुर दाइको कथा व्यथा सुनेपछि कमलबहादुरले भने, “हो, वीरबहादुर दाइ ! मलाई पनि मास्टर साहेबले त्यस्तै भन्नुभयो । हाम्रो अवस्था उही हो । एक जोर बाख्रा पालेको छु । साना पाखाबारीमा पसिना बगाएर जेनतेन परिवार पाल्दै आएको छु । गतिलो सरकार भइदिएको भए उत्तर कोरिया, क्युवामा जस्तो साँच्चैको सबैलाई निःशुल्क पढ्ने व्यवस्था गर्नुपर्ने थियो । के गर्नु यो हामी जस्ता गरिबको सरकार होइन । देशमा पढ्न सबैलाई समान अवसर दिएको भए हाम्रा छोरीहरूले जस्तै गरिब मजदुर किसानका छोरा छोरीले पढ्न सक्थे र पढ्न पाउँथे । महाकवि लक्ष्मीप्रसाद देवकोटाले झुत्रो, मैलो, फाटेको चप्पल, नाकमा सिङान हातमा लठी बोकेर हाम्रा कति भविष्यका डाक्टर, इन्जिनियर वस्तुभाउ चराउँदै होलान् भनेर त्यसै भनेको होइन होला ?”
कमलबहादुरले फेरि थपे, “गाउँकै सरकारी विद्यालयमा पढाउने इमानदार राम्रो मास्टर साहेबले भन्नुभएको कुरा मलाई त चित्त बुझ्यो । अहिले गाउँका विद्यालय पनि राम्रो भयो । यसो हुनुमा सबैको अपनत्व हुनु हो । विद्यालय व्यवस्थापन समितिमा स्थानीय तहमै निःस्वार्थी, त्यागी, इमानदार जनप्रतिनिधिको नेतृत्व र त्यहीका शिक्षक – कर्मचारीका सन्तान त्यही पढाउँदा राम्रो भएको हो । त्यही भएर भक्तपुर नगरपालिकाभित्रका सरकारी विद्यालयहरू सबै राम्रा भएका हुन् । त्यसो भएर काभे्र जिल्लाको मन्दन देउपुर नगरपालिकाले पनि यसपालिदेखि नै जनप्रतिनिधि, शिक्षक, कर्मचारीका सन्तानलाई नगरपालिकाको सरकारी विद्यालयमा भर्ना गर्नुपर्ने उर्दी जारी गरेको थियो । देशभरका स्थानीय तहले यस्तै उर्दी जारी गर्यो, मेहनत गर्यो भने देशभरिको सरकारी विद्यालय राम्रो हुनेछ । जसरी भक्तपुर नगरपालिकाले राम्रो गर्यो । होइन वीरबहादुर दाइ ?” ल दाइ, घरमा बाख्रा भोकायो होला । घाँस हाल्न जानुपर्छ । भोक पनि लाग्यो । जाऊँ है भन्दै दुवै त्यहाँबाट गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *