भर्खरै :

जोहरन ममदानी र अमेरिकी प्रजातन्त्र

जोहरन ममदानी र अमेरिकी प्रजातन्त्र

अमेरिकाको पछिल्लो राजनीतिक परिवेशमा जोहरन ममदानीले छुट्टै खालको तरङ्ग सिर्जना गर्दै छन् । अमेरिकी सहर न्युयोर्क सिटीको मेयर पदका लागि डेमोक्रेटिक उम्मेदवार बनेका ममदानीले आप्रवासी अधिकार, सामाजिक न्याय र सार्वजनिक सेवामा सुधारको एजेन्डा अघि सारेपछि उनी अमेरिकी दक्षिणपन्थी राजनीतिमा चुनौतीका पात्र बनेका छन् । हाल राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीविरुद्ध नागरिकता खोस्ने, गिरफ्तार गर्नेजस्ता धम्कीपूर्ण अभिव्यक्ति दिँदा अरू मुलुकमा प्रजातन्त्रको निहुँमा बाह्य हस्तक्षेप गर्ने अमेरिकाको वास्तविक अनुहार उदाङ्गिएको छ । ममदानीको उदय एक नयाँ पुस्ताको साहसी राजनीतिको सङ्केत हो, जसले शक्ति सन्तुलन, मानव अधिकार र न्यायको सवाललाई फेरि केन्द्रमा ल्याइरहेको छ ।
ममदानी आप्रवासी समुदायहरूको अधिकारको पक्षमा उभिएका छन् र सहरमा आप्रवासीहरूलाई ICE (Immigration and Customs Enforcement) ले गिरफ्तार गर्ने कामको विरोध गरेका छन् । उनले मेयर बनेपछि ‘मकुन्डो लगाएका ICE एजेन्टहरूलाई न्यूयोर्कबाट धपाउने’ प्रतिबद्धता जनाएपछि, ट्रम्पले उनलाई ‘कम्युनिस्ट’ भन्दै गिरफ्तारी गर्ने धम्की दिएका थिए । यस प्रकारको अभिव्यक्ति कुनै पनि लोकतान्त्रिक मुलुकको राष्ट्रपतिबाट अपेक्षित हुँदैन । यसले स्थानीय सरकारको अधिकारमाथि सङ्घीय हस्तक्षेपको बहसलाई झनै बल दिएको छ । अहिले डोनाल्ड ट्रम्पको नजरमा—कम्युनिस्ट भन्ने परिभाषा फेरिँदै छ । जो कोही ट्रम्पसँग असहमत हुन्छ, उसलाई उनी ‘कम्युनिस्ट’ भन्न थालेका छन् । न्यूयोर्कका मेयर उम्मेदवारमाथि पनि उनले यही आरोप लगाएका छन्, केवल उनी ट्रम्पको नीतिसँग सहमत छैनन् भनेर ।
जोहरन ममदानीमाथि ट्रम्पको आक्रोश त्यतिमा सीमित छैन । जोहरनले इजरायली प्रधानमन्त्री नेतन्याहुलाई लिएर दिएको अभिव्यक्तिले ट्रम्पको आक्रोश झनै बढाएको छ । ममदानीले खुलेरै भनेका थिए, “यदि नेतन्याहु न्युयोर्क आए भने उनलाई गिरफ्तार गरिनेछ ।” यो भनाइ उनकै शब्दमा अन्तर्राष्ट्रिय कानुनको पालनाको पक्षमा आधारित थियो, जुन ICC -(International Criminal Court) ले नेतन्याहुविरुद्ध जारी गरेको गिरफ्तारी वारेन्टसँग सम्बन्धित थियो । यद्यपि, अमेरिका ICC को सदस्य नभएको कारण यसमा कानुनी जटिलता छ तर ममदानीको अभिव्यक्तिले अमेरिकी सहरहरू अन्तर्राष्ट्रिय न्यायसँग कति संवेदनशील छन् भन्ने विषय उठाएको छ ।
को हुन् जोहरन ममदानी ?
जोहरन ममदानी न्युयोर्क सिटीका एक युवा र प्रगतिशील नेता हुन् । उनी २०२५ को मेयर चुनावमा डेमोक्रेटिक पार्टीको उम्मेदवार बनेका छन् । जोहरनको परिवारको मूलथलो भारतको गुजरात हो, जहाँबाट उनका पूर्वजहरू अफ्रिकाको युगान्डातिर गएका थिए । उनी युगान्डामा जन्मेका भए पनि अमेरिका आएर हुर्किएका हुन् । जोहरनले सधैँ आप्रवासी र गरिब समुदायका अधिकारका रक्षा गर्न काम गरेका छन् । उनी सहरमा सस्तो आवास, निःशुल्क सार्वजनिक यातायात र सबैका लागि समान अवसरको पक्षधर हुन् । आफ्नो राजनीतिक यात्रामा उनले न्याय र समानताको आवाज उठाएका छन् । उनको सरल भाषा र निष्ठाले उनलाई युवा र मेहनती नेताको रूपमा चिनाएको छ । जोहरनको उद्देश्य न्युयोर्कलाई सबैका लागि सुन्दर र सुरक्षित बनाउन हो ।
त्यसैगरी अमेरिकी प्रजातन्त्रमा खतरा बढाएको अर्को विवादास्पद प्रसङ्ग एलन मस्क र डोनाल्ड ट्रम्पबिचको सार्वजनिक टकराव हो । एलन मस्कले ट्रम्पको ‘बिग ब्युटिफुल बिल’ नामक विधेयकको कडा आलोचना गरेपछि ट्रम्पले उनलाई पनि अफ्रिकामा ‘डिपोर्ट गर्ने’ धम्की दिए । यद्यपि, एलन मस्क अमेरिकी नागरिक हुन्, ट्रम्पको यस्तो अभिव्यक्तिले आलोचकहरूमाथि दण्डको भाषा प्रयोग गर्न ट्रम्प कत्ति पनि हिचकिचाउँदैनन् भन्ने स्पष्ट सङ्केत गर्छ । मस्कले बिलको विरोधमात्र गरेन, ट्रम्पमाथि थप आरोप लगाउँदै ट्रम्पको नाम ‘जेफ्री एपस्टीन फाइलहरू’ मा रहेको खुलासा गरे । ट्रम्पको कारण ती फाइलहरू अझै सार्वजनिक गरिएको छैन । उनले यो आरोप साबिक ट्विटर हालको एक्समार्फत सार्वजनिक गरेका थिए र पछि हटाए पनि यसले व्यापक सार्वजनिक बहसलाई जन्म दियो ।
एलन मस्कले ट्रम्पको नाम एपस्टीन फाइलमा भएको आरोप लगाएर ती फाइलहरू पूर्ण रूपमा सार्वजनिक गर्न आग्रह गरेका थिए । एलन मस्कले भनेका थिए, “साँचो बम यही होः ट्रम्प एपस्टीन फाइलमा छन्, त्यसैले फाइलहरू लुकाइएका छन् ।” मस्कको आरोपले यस्ता गम्भीर अपराधको छानबिन पारदर्शी ढङ्गले किन अगाडि बढाइएको छैन भन्नेमा आम नागरिक सबैलाई सोच्न बाध्य बनाएको छ ।

के हो जेफ्री एपस्टीन फाइल ?
जेफ्री एपस्टीन फाइलहरू मानव तस्करी र यौन शोषणसम्बन्धी अन्तर्राष्ट्रिय काण्ड हो, जसमा उच्च तहका धेरै राजनीतिक, व्यवसायिक र सामाजिक व्यक्तिहरूको नाम आएको आशङ्का छ । जेफ्री एपस्टीन एक विवादास्पद अमेरिकी धनी व्यक्ति थिए, जसले उच्च तहका नेताहरू, व्यवसायीहरू र सेलिब्रिटीहरूलाई सङ्गठित यौन तस्करीमा फसाएको आरोप लागेको थियो । उनकै मार्फत केही युवतीहरू राष्ट्रपति डोनाल्ड ट्रम्पजस्ता प्रभावशाली व्यक्तिहरूलाई आपूर्ति गरिएको आरोप सार्वजनिक भएको थियो । तर, २०१९ मा ट्रम्पको कार्यकालमै एपस्टीन जेलमा रहँदा रहस्यमय रूपमा मृत फेला परे । अधिकारीहरूले आत्महत्या भने तापनि, उनलाई सत्य बाहिर नआओस् भनेर हत्या गरिएको भन्ने कुरामा धेरैले शङ्का व्यक्त गरे । यो घटना अमेरिकामा न्याय र सत्ता सन्तुलनप्रति गम्भीर प्रश्न उठाउने मुद्दा बनिरहेको छ । एपस्टीन फाइल अझै पूर्ण रूपमा सार्वजनिक भइसकेका छैनन् ।
यसरी ट्रम्पले ममदानी, मस्क र अरु आलोचकहरूलाई विभिन्न अवसरमा धम्कीपूर्ण भाषा प्रयोग गर्दै प्रतिक्रिया दिएका छन् । कहिले उनले ममदानीलाई गिरफ्तार गर्ने त कहिले मस्कलाई देशनिकाला गर्ने अभिव्यक्ति दिएका छन् । यस्तो व्यवहारले अमेरिकी लोकतन्त्रको सुदृढतामाथि प्रश्न उठाउँछ । जब कोही नेता कानुनी प्रक्रियाभन्दा माथि उठेर आलोचना गर्नेहरूलाई दण्डित गर्न खोज्छ, त्यो लोकतन्त्र होइन, अधिनायकवादको सङ्केत हुन्छ ।
अमेरिकामा स्वतन्त्र अभिव्यक्ति, कानुनी प्रक्रिया र शक्ति सन्तुलन लोकतन्त्रका आधार हुन् । जब राजनीतिक फाइदाको लागि यी मूल्यहरूमाथि खेलबाड गरिन्छ, तब नागरिक अधिकार, न्यायप्रणाली र विश्वसनीयता सबै खतरामा पर्छन् भन्ने वास्तविकता हालका घटनाले देखाएको छ । जोहरन ममदानी, एलन मस्क जस्ता पात्रहरूले आफ्ना विचार व्यक्त गर्दा ट्रम्पले गर्ने प्रतिक्रिया केवल राजनीतिक बहस होइन, त्यो लोकतान्त्रिक मर्यादामाथि सीधा प्रहार हो ।
अमेरिकामा डोनाल्ड ट्रम्पको आलोचकलाई डिपोर्ट गर्ने धम्की र भिसामा असर पार्ने हल्लाले लोकतन्त्रको सहिष्णुतामाथि गम्भीर प्रश्न उठाएको छ । अमेरिका बस्ने विदेशीहरूले मात्र होइन, नेपालमा बसेर भविष्यमा अमेरिका जाने आकाङ्क्षा राख्ने धेरैले डरले आलोचना गर्न छाडेका छन् । यसबाट स्पष्ट हुन्छ—लोकतन्त्रको मूल आत्मा विचारको स्वतन्त्रता हो । यदि आलोचना गर्न नसकिने अवस्था बनाइन्छ भने त्यो लोकतन्त्रको नाम मात्र हो, सार होइन । डरले होइन, साहसले लोकतन्त्र बलियो हुन्छ । यी घटनाहरूले अमेरिकाको लोकतन्त्र कति बलियो वा कमजोर छ भन्ने विषयमाथि गहिरो विमर्श आवश्यक बनाएको छ । व्यक्तिवाद, द्वेषपूर्ण राजनीति र शक्ति प्रयोगको यस्तो शैलीले विश्वमा अमेरिकाको छवि धुमिल भइरहेको छ । यसकारण, अमेरिकालाई आफ्नो संस्थागत मूल्य र लोकतान्त्रिक परम्परालाई जोगाउन आलोचना सुन्ने धैर्यता र पारदर्शिताको अभ्यास आवश्यक छ । नत्र, ट्रम्पजस्ता नेताहरूको व्यक्तिगत आक्रोश र अहम्ले संस्थागत विश्वसनीयता र नागरिक अधिकारमाथि गम्भीर असर पार्नेछ ।
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *