भर्खरै :

पौराणिक पात्र प्रद्युम्नको कथा

पौराणिक पात्र प्रद्युम्नको कथा

विभिन्न हिन्दू धार्मिक पुराण एवं कथाहरूमा वर्णन गरिएअनुसार आफ्नी पत्नी सतिदेवीको मृत्युपश्चात् सांसारिक जीवन एवं जिम्मेवारी त्याग गरी देवादीदेव महादेव ध्यान मग्न भई तपस्यामा तल्लीन भई निकै वर्ष बितेपछि जीव जीवात्मा ब्रह्माण्ड आदिको सन्तुलन बिग्रने सम्भावना बढ्यो । सृष्टि गर्ने ब्रह्मा, स्थिति मिलाउने नारायण र संहार गर्ने महादेव वा महेश्वरको प्रवृत्तिमा अब सन्तुलन नरहने भएकोले उत्पात हुने सम्भावना बढ्यो । त्यसैले देवराज इन्द्रले कामदेवलाई महादेवको तपस्या ध्यान भङ्ग गरी फेरि आफ्नो सांसारिक जीवन बिताउन कर्तव्य निर्वाह गर्न लगाउन आदेश दिए । कामदेव पनि महादेव तपस्या गरिरहेको स्थलमा आफ्नो पत्नी रतीका साथ पुगे । युनानीहरूको पौराणिक देवता इरोस् र रोमनहरूको क्युपिड भने जस्तै हिन्दूहरूको कामदेव हो । यिनलाई प्रेमको काम इच्छा तथा सुन्दरताको देवताको रूपमा लिइन्छ । भक्तपुरको चाँगुनारायणस्थित लिच्छवि राजा मानदेव प्रथमले राख्न लगाएको शिलालेखमा उनको शारीरिक व्यक्तित्व कामदेवको जस्तै भनी प्रशंसा गरिएको छ । अति सुन्दर व्यक्तित्व भएको कामदेवले ध्यान मग्न भएको महादेवको मर्ममा आफ्नो काम वाण प्रहार गर्न पुगे । फलस्वरूप महादेवको चित्त चञ्चल भयो, ध्यान भङ्ग भयो । त्यसले महादेव अति क्रुद्ध भई उनले आफ्नो निधारमा रहेको तेस्रो नेत्रबाट आगोको ज्वाला निकाली कामदेवलाई तत्कालै भष्म गरिदिए । यसरी आफ्नो पतिको मृत्यु भएको देखेर कामदेवकी पत्नी रतीले आफ्नो पति देवराज इन्द्रको आज्ञा पालना मात्र गर्न आएको यसमा उनको दोष नरहेको भनी खुब विलौना गर्दै आफ्नो पतिलाई जीवनदान गरी ब्युँताइदिन महादेवलाई अनुरोध गरिन् । देवी रतीको भक्ति र तर्क युद्ध अनुरोधबाट प्रभावित हुँदै द्वापर युगमा यदुकुलमा नारायणले श्रीकृष्णको अवतार लिनेछ । उनकै ज्येष्ठ पुत्रको रूपमा कामदेवले जन्म लिनेछ र सोही समयमा रतीको भेट आफ्नो पतिसँग हुनेछ र पाउनेछ भनी महादेवले रतीलाई भनी आफ्नो बाटो लागे ।
द्वापर युगमा दानव शम्बराषुरले यदु वंशी श्रीकृष्ण र उनकी जेठी पत्नी रुक्मिणीबाट ज्येष्ठ पुत्र जन्मे । जन्मेको सातौँ वा दसौँ दिनमा प्रसूति गृहबाट दानव शम्बराषुरले त्यस बालकलाई अपहरण गरी समुद्रमा फ्याँकिदिए । किनभने, नारद ऋषिबाट शम्बराषुरले भविष्यमा उनै बालकले आफ्नो हत्या गर्ने सूचना पाएका थिए । यसपछि दानवराजले आफू सुरक्षित भएको महसुस गर्दै आफ्नो दानवी प्रवृत्ति खुब देखाउँदै अत्याचार गर्दै थिए । अर्काेतर्फ उनै देवर्षी नारदले कामदेव र देवी रतीको पुनर्मिलन गराउनको लागि देवी रतीलाई दानव शम्बराषुर सित विवाह गरी उनकी रानी भई त्यही बस्ने र त्यहीँ नै कामदेवसित उनको भेट हुने जानकारी पनि दिएका थिए । त्यसैले देवी रतीले मायावती नामकी एउटी मत्स्य कन्याको रूप लिई आफ्नो सुन्दरताबाट प्रभावित पारी दानव शम्बराषुरसित विवाह गरी उनकी रानी भई उनीसितै दरबारमा रही दिनहरू बिताउँदै थिइन् । तिनको मनमा भने आफ्नो पति कामदेवसित कहिले भेट हुन्छ भनी तड्पिरहेकी थिइन् । सुन्दर व्यक्तित्वशाली पुरुषको तुलना कामदेवसित गरिने र सुन्दर स्त्रीलाई देवी रतीसित तुलना गर्ने चलन छ ।
दानव शम्बराषुरले समुद्रमा फ्याँकेको नवजात बालकलाई त्यहाँको एक ठुलो माछाले निलेछ । संयोगबस अन्य माछाहरूसँगै त्यस माछालाई पनि माझीहरूले पक्री दानवराजको खानाको लागि दरबार पु¥याए । माछाको परिकार बनाउन भान्छेहरूले माछाहरू चिर्दै सफा गर्दै टुक्रा पार्दै गए । यही क्रममा उक्त ठुलो माछाको पेटबाट त्यो सानो बालक जिउँदै निस्कियो । आश्चर्य भयो । बालक पनि मायालाग्दो अति सुन्दर थियो । यो थाहा पाएर मायावतीले त्यो बच्चालाई आफै पाल्न थाले । यही बेला देवर्षि नारद फेरि रानी मायावतीको अगाडि आइपुगे । मायावतीले पाल्दै गरेको बालक नै उनको पति कामदेव हो भनी बताई ऋषि फर्के । यो थाहा पाएपछि दानव शम्बराषुरकी रानी मायावतीरूपी रतीले उक्त बालकलाई विशेष ध्यान दिई हुर्काउन थाले । बालक योग्य भएपछि मायावतीले त्यो बालकलाई विभिन्न शस्त्रअस्त्र, धनुषवाण आदि चलाउने सिकाए । महाविद्यासम्बन्धी पनि तालिम दिए । त्यो बालक पनि अति सफलताका साथ योग्य एवं वीर योद्धाको रूपमा स्थापित भए । आफ्नो नामअनुसारको गुण उसमा भरपुर देखियो । उनको नाम प्रद्युम्न भनी राखिएको थियो । प्रद्युम्नको अर्थ हो बहुतै वीर, अत्यन्त शक्तिशाली । यी सम्पूर्ण प्रक्रिया र गतिविधिहरू अति गोप्य ढङ्गबाट भइरहेको थियो । दानवराजलाई यसबारे कुनै जानकारी नै थिएन ।
देवर्षि नारद तथा मायावतीबाट प्रद्युम्नले आफ्नो पूर्वजन्मको र हालको सबै वस्तुस्थितिबारे सम्पूर्ण जानकारी पाए । नवजात शिशु अवस्थामा आफूलाई अपहरण गरी समुद्रमा फ्याकेको कारणले र मायावतीलाई पनि मुक्त गर्न शम्बराषुरसँग युद्ध गरी उनको हत्या गर्न आवश्यक भएकोले प्रद्युम्न त्यसको तयारीमा थिए । यस्तैमा रानी मायावतीले अर्कै केटा साथमा राखी उनीसित मस्तीको जीवन बिताइरहेकी छिन् भन्ने खबर बिस्तार बिस्तारै शम्बराषुरको कानमा पनि प¥यो । उनले गोप्यरूपले बुझ्दा सो जानकारी सत्य साबित भयो । दानवराजको रिसको ठेगान रहेन । प्रद्युम्न पनि यस्तै अवसरको प्रतिक्षामा थियो । फलस्वरूप प्रद्युम्न र शम्बराषुरबिच भयङ्कर युद्ध भयो । अन्ततः प्रद्युम्नले आफ्नो तरबारले शम्बराषुरको शिर काटी उनलाई मृत्युलोक पु¥याइदिए । उनको यस्तो पराक्रम देखेर स्वर्गबाट देवताहरूले प्रद्युम्नको स्तुति गर्दै पुष्पहरू बर्साउन थाले† बधाई दिए । त्यसपछि मायावतीरूपी रतीले प्रद्युम्नलाई आकाश मार्गद्वारा द्वारिका सहर ल्याइपु¥याइन् । उनीहरू दुवै श्रीकृष्णको दरबारमा पुगे । प्रद्युम्नको सुन्दरता र व्यक्तित्वबाट देवी रुकमिणीलगायत उपस्थित अन्य सबै मानिसहरू आश्चर्य चकित भए । यस्तैमा श्रीकृष्ण आफ्ना पिता बसुदेव, आमा देवकी र दाजु बलरामका साथ त्यहाँ आइपुगे । उनी प्रद्युम्नबारे अनभिज्ञ रहेको अभिनय गर्दै थिए । त्यहीबेला देवर्षी नारद त्यहाँ टुप्लुक्क आइपुगे । उनले प्रद्युम्न र मायावतीरूपी रतीको सबै कहानी सविस्तार श्रीकृष्णलगायत त्यहाँ उपस्थित सबैसामु सुनाए । सबै खुसी भए । किनभने, श्रीकृष्ण र उनकी पत्नी रुकमिणीले बाल्यकालमै हराएको आफ्नो छोरा प्रद्युम्न पाए । मायावतीरूपी रतीले आफ्नो पति प्रद्युम्नको रूपमा कामदेव पाए । श्रीकृष्णको परिवारले पूर्णता पायो । दिन आनन्दका साथ बित्दै गयो ।
जीन्दगीमा सदैव खुसी मात्र पनि रहँदैन र दुःख मात्र पनि रहँदैन । घाम छाया चली नै रहन्छ । यो कालचक्र घुमी नै रहन्छ । महाभारत युद्धमा आफ्नो सारा छोराहरू मारिएकोमा महाराज धृतराष्ट्रकी पत्नी गान्धारी पूर्णरूपले श्रीकृष्ण जिम्मेवार रहेको भनी तिनले श्रीकृष्णलाई पनि कौरवहरूका कुल नाश भएजस्तै श्रीकृष्णको यदु वंशीहरूको पनि वंश नास होस् भनी सराप दिएकी थिइन् । महाभारत युद्ध भएको ३६ वर्षपछि यदु वंशीहरूमा सत्ता, शक्ति, सामथ्र्यको ठुलो घमण्ड बढ्यो । तिनीहरूमा अहङ्कारको सीमा रहेन । ऋषिमुनिहरूको पनि अनादर गर्न थालियो । मद मदिरामा भुल्न थाले । विवेकको नामो निसाना रहेन । घमण्ड अहङ्कार र मदले जो कोही यदु वंशी मातिन थाल्यो । फलस्वरूप उनीहरूमै आपसमा द्वन्द्व भयो । द्वन्द्व युद्धमा परिणत भयो । युद्धमा कोही पनि यदु वंशी बाँचेन । सबै मारिए । यो घटनाका पूर्व जानकारी भएका श्रीकृष्ण पहिले नै द्वारिका सहर र आफ्ना परिवारजनलाई छाडी जङ्गलमा गई बसेका थिए । उनका छोरा प्रद्युम्न र नाति अनिरुद्ध पनि यदु वंशीहरूको आपसी द्वन्द्वमा मारिए । उनको परिवारमा नाति अनिरुद्धका छोरा पनाति बज्रनाथ मात्रै बचेका थिए । उता जङ्गलमा एकान्तमा पल्टिरहेका श्रीकृष्ण पनि जरा नामको एक सिकारीको वाणद्वारा मारिए । उनले बसाएको द्वारिका सहर पनि समुद्रमा डुबे । द्वारिका सहर डुब्नुभन्दा अघि नै अर्जुनले कृष्णका पनाति बज्रनाथ र बचेपुचेका यदु वंशी महिलाहरूलाई हस्तिनापुर लिएर गए । पछि अर्जुनले नै बज्रनाथलाई मथुराको राजा घोषित गरी उनीहरूलाई मथुरातिर रहने बन्दोबस्त गरिदिए ।
साहित्यका विभिन्न हाँगाहरू छन् । जस्तोः– उपन्यास, नाटक, काव्य, खण्डकाव्य, महाकाव्य, कविता, मुक्तक, गीत आदि । कथा पनि साहित्यको एक हाँगा हो । पौराणिक कथा पनि कथा नै हो । कथा भनेपछि त्यसमा सत्य, असत्य, कल्पना, अलङ्कार, अनुमान आदि कुरा रहन पनि सक्छ । कथाबाट हामीले के ज्ञान पायौँ, के सिक्यौँ र सिक्नुपर्दछ त्यो नै महत्वपूर्ण पक्ष हो । त्यसैले भाग्यमानी सुनेर चेट्छ भने अभागी परेपछि चेट्छ भन्ने उखान नै बनेको छ । आफ्नो पितापुर्खाको त्याग, बलिदान, कीर्ति, पौरखलाई मात्र आफ्नो परिचयको आधार बनाइरहनु हुँदैन । आफ्नै पुरुषार्थ, पराक्रम सत्कर्म गरी आफ्नो पहिचान आफै बनाउन सके त्यो जस्तो प्रशंसनीय अरु हुनैसक्दैन किनभने यसले पुर्खाको पौरखलाई पनि यथावत राख्यो र त्यसमा आएको एकतला पनि आफूले थप्ने काम ग¥यो । गर्न पनि यस्तै गर्नुपदर्छ । पौराणिक पात्र प्रद्युम्नको कथाबाट हामीले सिक्नुपर्ने वा बुझ्नुपर्ने ज्ञान पनि यही नै हो । कृष्णको ज्येष्ठ पुत्र भएरमात्रै प्रद्युम्न चुप लागी उनले दानव शम्बराषुरलाई हत्या गरी आफ्नो पौरख स्थापित गरे । आफ्नो छुट्टै पहिचान स्थापित गरे ।
अन्य पौराणिक प्रसङ्गहरूबाट पनि हामीलाई ज्ञान दिन खोजेको छ भने मद, अहङ्कार, घमण्ड गर्नु अरुलाई बिनाकारण दुःख दिनु हुँदैन । यी नै पतनको मुख्य कारण हुनसक्छ । ज्ञान, विज्ञान, अहङ्कार, प्रविधि, धन, सत्ता, शक्ति आदिको मात लागेर यदु वंशीहरू आपसमा लडेर समाप्त भए । अहङ्कारकै कारणले रावण रामद्वारा मारिएको कथा रामायणमा पाइन्छ । अहङ्कार र आफ्नै मात्र स्वार्थलाई सर्वाेच्चता दिँदा हिटलरले आत्महत्या गर्नुप¥यो भने मुसोलिनी आफ्नै साथीहरूद्वारा मारिए । एक पक्ष मात्रै धनी मानी सशक्त अर्काे पक्ष कमजोर भएमा अथवा एकले मात्रै आफ्नो कर्तव्य निर्वाह गरेछ तर अर्काेले निर्वाह गरेन भने सन्तुलन हुँदैन । सन्तुलन कायम गर्नु प्रकृतिको सास्वत नियम हो । त्यसैले मै खाउँ मै लाउँ मै सुखसयल गरौँ भन्नु हुँदैन । सन्तुलन बिग्रेमा प्रकृति आफैले सन्तुलित पार्नेछ । जस्तो कहिले गृष्मकाल आउँछ त कहिले शीतकाल आउँछ । कहिले पानीले कटान, बगान डुबान गर्दछ भने कहिले त्यहीँ पानी, अन्नबाली, वनस्पति, जीव जीवात्मालाई प्राण दान गर्दछ । यो धरती विशालकाय ह्वेल माछा, हात्ती, अजिङ्गरको मात्र होइन एक कोशीय प्राणी एमिबा, प्रोटोजुवाहरूको पनि हो । जङ्गलमा बाघ भालुमात्रै होइन खरायो, हरिणहरू पनि बस्छन् । रामायण कथामा रामले बाँदरराज बालीलाई आफू लुकेर वान हानि मारेकोले द्वापर युगमा आएर जरा नामक सिकारीद्वारा रामकै अर्काे रूप कृष्ण मारिनुप¥यो । त्यसैले कुनै शक्तिशाली सम्पन्न व्यक्ति वा देशले विनाकारण कसैलाई अन्यायपूर्वक ध्वस्त गर्दछ । समाप्त पार्दछु भनी सोचेमा वा ध्वस्त नै पारेमा ती शक्तिशाली भनाउँदाहरू पनि ध्वस्त नै हुनेछन् किनभने सन्तुलित अवस्थामा स्थापित गर्नु प्राकृतिक हो र असन्तुलित पार्नु अप्राकृतिक कार्य हो । क्रिया पछि प्रतिक्रिया त हुन्छ नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *